रामचन्द्र दाहालको राष्ट्रवादी चिन्तनसित म राम्ररी परिचित थिएँ । मलाई यो परिचय दिएको थियो उनकै एक कृति ‘ठोरी जहाँ देश थिएन’ नामक पुस्तकले । अहिले उनी अर्को दुःख सागरको मर्मयात्रीका रूपमा ‘हाँडीघोप्टे’ लिएर देखा परेका छन् । यो पुस्तक संस्मरणहरूको विष्मयकारी, सघन र सुगठित ढिक्का हो।
मान्छेले भोग्नसक्ने भन्दा ठूलो दुःख भोगेर निस्केका तर साहित्य–सामथ्र्यमाथि राम्ररी विश्वस्त हुन नसकेका लेखक रामचन्द्रलाई कवि भूवनहरि सिग्देलसितको भेट साहित्यिक यात्राको शक्तिशाली प्रेरणास्रोत बन्न पुगेको देखिन्छ।
दाहाल पिताको देहान्त भएको छ महिनापछि ओखलढुंगाको दुर्गम गाउँ प्राप्चामा जन्मेका हुन् । गर्भमै टुहुरो भएका यिनले गाउँकै विद्यालयमा पाँच कक्षा पास गरे । कक्षा ६ पढ्न नजिक विद्यालय थिएन । अर्थाभाव तथा अन्य कारणले उनका आमा तथा दाइहरूले बाहिर गएर पढ्ने वातावरण बनाइदिन सक्नुभएन । उनको पढ्ने लालसा भने कसैले तोड्न नसक्ने खालको थियो, जब्बर । निकै जब्बर । यही लालसाले उनलाई घरबाट बाहिर निकाल्यो र दुःखै–दुःखको कहाली लाग्दो ओडारमा चक्कर कटायो । अकल्पनीय ठक्कर खुवायो । अर्को शब्दमा भन्ने हो भने उनले वर्षौँ वर्ष खातेको जीवन भोगे।
त्यत्रा विपत्तिका बीचमा पनि पढ्दै र परीक्षा दिँदै नेपाल राष्ट्र बैंकमा नाम निकालेर ३० वर्षे जागीरे जीवन बिताउनुभएको पनि एक दशक भइसकेको छ । प्रगाढ अपेक्षाले मान्छेलाई कहाँबाट कहाँ पु-याउँछ भन्ने विषयमा दृष्टान्त दिन लायक पात्र हुनुुहुन्छ उहाँ ।
‘हाँडीघोप्टे’ त्यही चक्कर र ठक्करको अविश्वसनीय तर तथ्य कथा हो । आफ्ना भिनाजुको साथ लागेर पढ्न भनी काठमाडौँतर्फ हानिएका उनले देखेका दृश्य, भोगेका घटना र भेटेका पात्रहरूको वृत्तान्तको अनेक खण्डमध्ये एउटा खण्ड हो यो पुस्तक । अनेक पात्रहरूमध्ये केन्द्रीय पात्र हो हाँडीघोप्टे।
दुनियाँले हाँडीघोप्टेलाई बहुलाहा भन्छन् । के कारणले पागल भयो भनी कसैले बुझ्दैनन् । ऊ मैतीदेवी र डिल्लीबजार पीपलबोट आसपासमा डुलिरहन्थ्यो । त्यसले केटाहरूलाई मात्र लखेट्थ्यो । भन्ने गथ्र्यो—‘ए मेरो छोरा, ए मेरो मुटु, बुबासँग आइज, एकपल्ट म्वाइँ मात्र खान दे... ।’ आदि । बालजगत् ऊसित जिस्किन्थ्यो पनि र डरले भाग्थ्यो पनि । उसले प्रयोग गरेको भाषाको छनकले यो पुत्रवियोगले पागल भएको त होइन भन्ने संकेत मिल्छ।
पढ्न काठमाडौँ आएका रामचन्द्रलाई सहयोगीका रूपमा काम पनि गराउने र त्यसबापत विद्यालयमा भर्ना गरेर पढाइदिने शर्तमा शिक्षा मन्त्रालयका शाखा अधिकृत लोकेन्द्र कटुवालकहाँ जिम्मा लगाएर उनका भिनाजु गाउँतिर फर्के । तर, लोकेन्द्रले राम्रो व्यवहार गरेनन् । हेप्ने, हप्काउने र विद्यालयको शुल्क तिर्न पनि आनाकानी गर्न थाले । उनी पटक पटक सडकमा पुगे र बेसहारा जीवन बाँचे । बालक रामचन्द्रको यस्तो दयनीय दशामा गहिरो सहानुभूति दर्शाउने पात्र निस्किन् गोमाकी आमा । उनी लोकेन्द्रको डेरामा भाँडा माझ्न आउने महिला थिइन् । उनले बेला बेलामा रामचन्द्रमाथि मातृवात्सल्य खन्याएकी छिन्।
बेवारिश अवस्थामै हर्नियाको उपचार गर्न वीर अस्पताल पुगेका रामचन्द्रलाई अस्पतालले डिस्चार्ज नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । त्यहाँ उनलाई निःशुल्क उपचार, डाक्टर नर्सको माया र निःशुल्क खानपिन प्राप्त छ । डिस्चार्ज गरेपछि जाने कहाँ हो पत्तो छैन । कहाँ जाने भनेर धुरुधुरु रुन्छन् । यसै बेला गोमाकी आमामार्फत् चिनजान भएका पात्र कृष्णहरि खनाल आउँछन् र उनलाई लिएर जान्छन् । कोठामा लगेर निकै हेरचाह गर्छन् । प्रेमपूर्वक राख्छन् । रामचन्द्रको पढाइ पनि सुचारु हुन्छ । जीवनमा उनी रमाउन पनि थालेका हुन्छन् । तर, यही विषयलाई लिएर लोकेन्द्रले कृष्णहरिमाथि भीषण षडयन्त्र रच्छ, व्यवस्था विरोधी काम गरेको झुटा कागजात विवरण उसको कोठामा भेटिएको बनाएर प्रहरी लगाएर थुनिन्छ, कुटिन्छ र बेपत्ता पारिन्छ सायद!
पुस्तकमा नेपाली राष्ट्रियताको विषयलाई गहनतापूर्वक स्मरण गरिएको छ । पुस्तकको आख्यान अनेक उपकथाहरूले बुनिएको छ । सम्पन्न र शिक्षित परिवारमा जन्मेर उस्तै परिवारमा बुहारी बन्न पुगेकी एउटी पुत्रवती युवती कसरी अर्काको घरमा भाँडा माझ्दै हिँड्ने ‘गोमाकी आमा’ नामकी आइमाइमा रूपान्तरित भइन् ? गोमा आमाको कुन कर्मपथले कोबाट जन्मी ? गोमाकी आमाले राति राति खाना बनाएर कसैले थाहा नपाउने गरी हाँडीघोप्टेलाई खुवाउन ऊ बसेको सडक किनारको पीपल चौतारामा किन पुग्थिन् ? ऊसित उनको सम्बन्ध के हो ? ‘ज्ञानु’ नामक बालक कसरी पिताको हातबाट भीडमा छुटेर लावारिश खाते बन्न पुग्यो ? गोमाको जीवन कहाँ गएर के भयो ? लेखकले अनुसन्धान गरी पत्ता नलगाएसम्म यी सबै तारतम्य रहस्यमय प्रतीत हुन्छन्।
संस्मरण भने पनि मार्मिक उपन्यास जस्तो यसको सम्पूर्ण कथानक यहाँ बताउनु उचित लागेन । पढेर थाहा पाउनुको स्वाद छुट्टै हुन्छ । औपन्यासिक युक्ति निर्माणमा निपुण आख्यानशिल्पीले पनि संयोग र वियोगको योभन्दा उत्कृष्ट कथा बुन्न जान्दैन । कथित खान्दानीका त्यसमा पनि पुरुषका कुरूप भोगविलास, बलात्कार, यौनमा छाडापन र हत्या आदि क्रूरता अनि महिला तथा नोकर चाकरको दीनता हीनताको चित्रणले ठाउँठाउँमा पुस्तक नै कोलाहलमय बनेको छ । त्यो कोलाहल पाठकको मनोदशामा छर्लंग उत्रन्छ।
मान्छे जहाँ जस्तोरूपमा छ, त्यहीँ त्यस्तै रूपको संसर्ग पाउँछ । लेखकको जीवनमा भेटिन आउने पात्रहरू पनि अकल्पनीय दुःखका शिकार भएका मान्छेहरू नै छन् । कठोर जीवन भोगेका ती पात्रहरूबाट जीवन भोगाइका क्षणमा स्वतः उत्पन्न भएका दार्शनिक अभिव्यक्तिहरूले पाठकलाई सोचमग्न बनाउँछन्।
वैचारिक र कलात्मक उचाइका हिसाबले तुलना गर्न नसकिए पनि रामचन्द्र दाहालको जीवनलाई विश्वविख्यात रुसी साहित्यकार, ‘आमा’ उपन्यासका लेखक, म्याक्सिम गोर्कीसित सगर्व तुलना गर्न सकिने ठाउँहरू प्रशस्त छन् । गोर्कीले पनि करीब खातेको जीवन भोगेका थिए । रामचन्द्रलाई पनि पञ्चायत विरोधी र राष्ट्रवादी चेतनाका बाहक कृष्णहरि खनालको सामीप्य प्राप्त भयो । गोर्की सम्पूर्ण रूपले समाज रूपान्तरणको महाभियानमा हेलिनुभयो । रुसमा समाजवादी क्रान्ति भयो । नेपालमा हरेक राजनीतिक आन्दोलन सम्झौतामा गएर टुंगिए । यहाँ क्रान्ति भन्नलायक कुनै परिघटना सम्पन्न भएन । रामचन्द्र दाहालहरू पढ्न र जागिर खान एकोहोरिनुभयो।
हाल दाहाल नेपाल राष्ट्र बैंकबाट मासिक पेन्सन बुझ्नुहुन्छ । त्यत्रा विपत्तिका बीचमा पनि पढ्दै र परीक्षा दिँदै नेपाल राष्ट्र बैंकमा नाम निकालेर ३० वर्षे जागिरे जीवन बिताउनु भएको पनि एक दशक भइसकेको छ । प्रगाढ अपेक्षाले मान्छेलाई कहाँबाट कहाँ पु-याउँछ भन्ने विषयमा दृष्टान्त दिन लायक पात्र हुनुुहुन्छ उहाँ।
प्रकाशकः शिखा बुक्स
पृष्ठ संख्या : २००
मूल्य : ३००/-
प्रकाशित: ६ आश्विन २०७५ ०५:३१ शनिबार