१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राणाकालीन गाडी र गाडी बोक्ने भरियाहरूको नालीबेली

ऐतिहासकि कालक्रम अनुसार नेपालमा गाडी भित्रिएको एक शताब्दी नाघिसकेको छ । सर्वप्रथम नेपालमा राणा प्रधानमन्त्री चन्द्रशम्सेरले आफ्ना लागि चढ्न मोटर झिकाएका थिए भनिन्छ । टोनी हेगनका अनुसार राणा गहेन्द्रशमसेरले पनि आफ्ना लागि चढ्न फोर्ट कम्पनीको गाडी झिकाएका थिए।

यसपछि जर्मनीका शासक हिटलरले द्वितीय विश्वयुद्धमा सहयोग गरेबापत नेपालमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरलाई चढ्न एक–एक वटा मर्सिडिज बेन्चकार उपहार पठाइदिएका थिए। यसपछि त राणा परिवारहरूले आफ्ना ऐस, आराम सुख सयल पूरा गर्न निजीस्तरमा थुप्रै गाडीहरू मगाएको इतिहास छ । त्यसैगरी पछिल्लो पटक राजा महेन्द्र शाहले पनि आफूलाई चढ्न अमेरिकन क्राइसलर र मर्सिडिज बेन्चरकार गाडीहरू झिकाएका थिए।

यसरी चित्लाङ बाटोबाट नेपाल उपत्यका जोड्ने बाटोघाटो नबनिसकेको अवस्थामा आफ्नो बिलासिता पूरा गर्न राणा तथा शाह शासक र तिनका परिवाहरूले चार दर्जन गाडीहरू भित्र्याएको इतिहास छ । मकवानपुर जिल्ला चित्लाङ, कुस्ले चौर, मार्खु, पौवा, कुलेखानी र फाखेल क्षेत्रका तामाङ जाति र नेवार समुदायका बलामी थरका भरियाहरूले अमानवीय तरिकाले काँधमा गाडीहरू बोकाएर नेपाल खाल्डोमा प्रवेश गराउने कार्यहरू गरे।

राणाकालमा गाडीहरू ल्याउँदा कलकत्ता बन्दरगाहदेखि अमलेखगन्ज रेलमा र त्यसपछि कुदाएरै भीमफेदीसम्म ल्याइन्थ्यो । अनि नारायणी नदीमा सो गाडी डुंगामा राखी तारेर पुन कुदाएर भीमफेदी पु¥याइन्थ्यो । त्यसपछि भीमफेदीमा पांग्रा निकालेर चारैतिर काठमा बाँधेर गाडीहरू मकवानपुरका तामाङहरू र केही मकवानपुरे बलामी थरका बलिया भरियाहरूले बोकेर थानकोटको चुनिखेलसम्म ल्याउँथे । गाडी चुनिखेलबाट गाडी चलाएर काठमाडौंसम्म ल्याइन्थ्यो । तत्कालीन मकवानपुरको सदरमुकाम कालन्तरमा बलामीहरू कृषि र व्यापारमा संलग्न भए । तर, तामाङहरूले निरन्तररूपमा गाडी बोक्ने परम्परा नटुंगिएसम्म नै रहेकाले उनीहरू गाडी बोक्ने ऐतिहासिक भरियाको नाम पाए।

यसरी शासकहरूका गाडी बोकेबापत भरियाहरूले सुरुमा झारा प्रथा अनुसार गाडी निःशुल्क रूपमा बोकेका थिए । बीचमा उनीहरूले यति नै भन्ने नभए पनि केही पैसा पाएका थिए । पछि ५ आनाबाट बढ्दै गएर दैनिक एक रूपैयाँसम्म भरिया नाइकेहरूबाट पाएको भरियाहरू बताउँछन् । जसमध्ये एक रुपैया भरिया नाइकेले कमिसन लिने कुरा समेत उनीहरू बताउँछन्।

यी ऐतिहासिक गाडीहरूमध्ये तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरले चढेको गाडीबारे पत्ता लागेको छैन । तर, राजा त्रिभुवन चढेका मर्सिडिज बेन्चकार गाडी अहिले पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसमा बेवारिसेरूपमा फ्यालिएको पाइन्छ । राणा प्रधानमन्त्री जुद्धशमसेरको गाडी भने उनले सन्यासी महाराज बनी शासनसत्ता त्यागेर पनि आफूसँगै आफ्नो गाडी भारत लगेका कारण सो गाडी अझै पनि देहरादुनमा चालु हालतमै छ भनिन्छ । राजा महेन्द्रको गाडी भने छाउनीस्थित संग्रहालयमा देख्न सकिन्छ । हाल पनि अन्वेषकहरूले अन्य राणाकालीन गाडीहरू हेर्न चाहने हो भने लाजिम्पाटस्थित नेपाल मोटर कम्पनीमा पुगेर हेर्न सकिन्छ।

यस्ता ऐतिहासिक महत्वका भिन्टेज र क्लासिकको श्रेणीमा पर्ने गाडीहरु के कति थिए भनेर खोजबिन गरी तीनलाई संग्रहालयमा राखी प्रदर्शन गर्ने भन्ने सोच परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अझै आएको देखिँदैन।

बरु नेपालका केही ऐतिहासिक गाडी संकलन केन्द्रविक्रम शाह, टासी लामा, दिनेश श्रेष्ठ जस्ता व्यक्तिहरूले केही गरिरहेका छन् । केही नेपाली गाडी संकलकहरू र हिस्टोरिकल एन्ड क्लासिक अटो स्पोर्टस् एसोसिएसन जस्ता सामाजिक संस्थाले यो विषयमा गम्भीर चासो र चिन्ता लिएको देखिन्छ । उनीहरूले सकेको काम गरिरहेको पनि छ।

कवाडीमा बेच्नुपर्ने, प्रयोग गर्न नमिल्ने, बाटोमा निकाल्दा हासोको पात्र हुने, घन्टौं प्रश्नहरूको उत्तर दिनुपर्ने, विदेशीले देखे भने अभिवादन गर्ने र मोटर ओझेल नपरेसम्म हेरिरहने, रोकियो वा ट्राफिक जाम भयो भने जात्रा नै लाग्ने ऐतिहासिक गाडीको विशेषता छ । तर, नेपालका गाडी संकलकहरूले यस्ता ऐतिहासिक गाडीहरू आफ्ना रुचि र सौखको कारण आत्मसन्तुष्टी प्राप्तिका लागि महँगो कर तिरेर भए पनि आफ्नो घर–जग्गामा राखी ग्यारेज निर्माण गरेर संग्रहालय बनाएर इतिहासको संरक्षण गर्ने कार्य  गरिरहेका छन्।

साथै उनीहरूले स्टेट म्यान भिन्टेज एन्ड क्लासिक एसोसियसनले प्रत्येक वर्ष विदेशमा गर्ने ऐतिहासिक÷क्लासिर्क कार -यालीमा नेपालका गाडी लगेर समेत नेपालको सान बढाउने कामहरू गरिरहेका छन् । यस्ता ऐतिहासिक कार्य गर्ने नेपाली गाडी संकलकहरूलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले बुझपचाएर हो वा किन हो वर्षैपिच्छे कर बढाएर पुराना गाडीहरू बेच्न बाध्य बनाइरहेका छन् । विदेशी खरिदकर्ताहरूले नेपालका ऐतिहासिक गाडीहरू किनेर आफ्नो देश अमेरिका, बेलायत, जर्मनीमा पु-याएर उनीहरूको देशमा मात्र नभई आफ्नोसमेत सान बढाइरहेका छन्।

अन्तमा एकातिर राणाकालमा नेपाल भित्रिएका गाडीहरूमध्ये एक ऐतिहासिक गाडीको प्रयोग गरी अंग्रेजी फिल्म ‘यलो रोल्स रोयस’ निर्माण गरी करोडौं कमाई गरेर देखाई दिइसकेको छ । अर्कोतिर बेलायत सरकारले सो गाडीलाई आफ्नो देशको संग्रहालयमा महत्वका साथ राखेर देशी–विदेशीलाई आकर्षित गरेर पर्यटन व्यापारसमेत गरेको छ।

अतः नेपाल सरकारले तत्काल ऐतिहासिक गाडी संकलकहरूको मर्मलाई बुझेर ऐतिहासिक÷क्लासिक गाडीहरूको संकलक, संरक्षक र प्रवर्धकलाई राहत दिलाउने नेपाल सरकारले केही नीति तत्काल बनाउनु जरुरी भइसकेको छ । अन्यथा नेपालमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरदेखि राजा महेन्द्र शाहसम्म अर्थात् राणाकालदेखि सम्वत २०१३ मा त्रिभुवन राजपथ निर्माण भई सुचारु नभएसम्म भित्रिएका चार दर्जनभन्दा बढी गाडीहरूमध्ये बाँकी रहेका नेपालको इतिहास बोकेको ऐतिहासिक गाडीहरू विदेशी संग्रहालयमा नपुग्लान् भन्न सकिन्न।

प्रकाशित: ६ आश्विन २०७५ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App