coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

१० मुक्तक

समयलाई जित्न  खोज्छन्  यहाँ मान्छेहरु,
भगवानलाई किन्न खोज्छन् यहाँ मान्छेहरु ।
पुरा गर्न सपना र स्वार्थका ति सिँढीहरु,
आगोमाथि हिँड्न खोज्छन् यहाँ मान्छेहरु ।  
...
नारी पुरुष नभई सृष्टि कहाँ चल्छ र ?
नठोसे त आगो पनि कहाँ बल्छ र ?
मैं हुँ सर्वेसर्वा भन्ने अहंम नलिनु है !
घामबिना हिँउ पनि कहाँ गल्छ र ?
...
तिम्रा लागि हजार बार हार्न तयार छु,
भन्छौं भने यो बँसाइ सार्न तयार छु ।
शंकाले नै लंका जलाएको हो प्रिय,
खुशी हुन्छौ भने माया मार्न तयार छु ।
...
सरल,  नरम  मिलनसार  गौरी  हुँ म,
आफ्नै कर्ममा विश्वास गर्ने मौरी हुँ म ।
अजम्बरी छैनौ हामी मरीलानु के छ र ?
परी आए दुःखीलाई टेवा दिने लौरी हुँ म ।
...
मेरा खुशी सपना मैलाई साँच्न दिए पुग्छ,
चरीजस्तै स्वतन्त्र भई नाच्न दिए पुग्छ ।  
तिम्रा भौतिक सुखसयल केही चाहिँदैन,
मान्छे हुँ म मान्छे भई बाँच्न दिए पुग्छ ।
....
किन जोड्नु साइनोपछि बदर गर्छों भने,
यो मन दिन्छु, मुटु दिन्छु सदर गर्छौं भने ।
नपाउँदा कस्तो अनि पाए पछि नहोस् सस्तो,   
सुम्पिदिन्छु यो जिन्दगी कदर गर्छौं भने ।
...
के जात, के धर्म, यो माटोले भन्दैन,
को आफ्नो, को पराई यो बाटोले भन्दैन ।
जात,धर्म सिमामा बाँड्ने मान्छे नै हो यहाँ,
छुत अछुत भोको पेटमा आटोले भन्दैन ।
...
चिनीमा कमिला भुल्नु कुनै ठुलो कुरा होइन,
फूलमाथि भमरा डुल्नु कुनै ठुलो कुरा होइन ।
नसोच आकाशै झरेझैं अनि धर्ती फाँटेझैं,
मन मिलेपछि माया लाउनु कुनै ठुलो कुरा होइन ।
...
जन्माउँछिन् नारीले सन्तान, वंश तिम्रै हुने,
जन्मजातै बाउ–बाजेको अंश तिम्रै हुने ?
सदियौंदेखि पिल्साएर राख्यौ नारीलाई,
कस्तो अन्याय अझै पनि दंश तिम्रै हुने ।
...
पहिचान हो तिम्रो भाषावेश साथमा हुनुपर्छ,
संसारभर जहाँ गए नि  देश साथमा हुनुपर्छ ।
भुल्नु हुन्न आमा अनि माटोलाई कहिल्यै पनि,
 जहाँ जाउ मातृभूमिको सन्देश साथमा हुनुपर्छ ।

प्रकाशित: ६ आश्विन २०७५ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App