coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गन्तव्य दलचोकी

हाम्रो समाजमा एउटा भनाई छ–सूनको थाली बोकेर माग्दै हिँड्नु । अर्थात आफुसँग के छ त्यसको महत्व नबुझि भौतारिँदै हिँड्नु, आफुसंग भएका चिजको मुल्य नबुझ्नु । त्यस्तै छ हामी नेपालीको हालत । हाम्रो देश प्राकृतिक सौन्दर्यको भण्डार । हिमाल, पहाड, तराइ, खोलानाला, वनजंगल, झरना, प्राचीन मन्दिर र पुर्खाको गौरवमय इतिहासले धनी छौं हामी । तर हामी यसको महत्व नबुझि अवसर खोज्दै यत्रतत्र भौंतारिरहेका छौं।

त्यस्तै अवस्था छ राजधानीसँग कुम जोडेर उभिएको दक्षिणी लतिलपुरको पनि । प्राकृतिक सम्पदाले भरिपूर्ण–दक्षिण ललितपुर । भौगोलिक हिसाबले पहाडी इलाका । चारैतिर महाभारत सृङ्खलाको पहरा, उकाली ओराली, नागबेली खोला र झरना अनि चराको चिरविरसँगै गाउँलेको मुस्कान । आँखाले भ्याएसम्म हरिया डाँडैडाँडा, कुनै अग्ला कुनै होचा । त्यही डाँडाका टुप्पा, काख वा बेसीमा सुन्दर वस्तीहरु।

दक्षिणी ललितपुरको त्यस्तै एउटा बस्ती होे–दलचोकी (२,२०० मिटर) । त्यहाँबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ भने आकाश उघ्रिएका बेला पश्चिमदेखि उत्तर पूर्वसम्म हिमालको फेरो देखिन्छ । अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जेलाक्पा, लाङटाङ, गौरीशंकर लगायत हिमाली शृङ्खलाहरु । तलतल उपत्यका।

दलचोकीमा प्रकृतिप्रेमी समूहले निरोगआनन्दधाम बनाएपछि यो क्षेत्र स्वास्थ्य पर्यटन एवं साँचो ध्यान केन्द्रका रुपमा विकसित हुँदैछ।

अनौठो मौसम हुन्छ–दलचोकीमा । छिनमै घाम लाग्छ, छिनमै बादल मडारिन्छ । छिनमै भुइँकुहिरोको लुकामारी चल्छ । विहानीपख दलचोकीबाट तल हेर्दा बादलको तलाउ देखिन्छ।  

दलचोकीको गोठ भन्ज्याङमा अवस्थित दलचोकी माईको नामबाट गाउँको नामाकरण भएको भनाई छ। दलचोकी मन्दिर भन्दा १ किमी माथि मनकामना मन्दिर पनि छ । मनकामना अर्थात मनको इच्छा पु-याइदिने देवी । उहिल्यै पृथ्वीनारायण शाहको पालादेखि यहाँ मनकामना मन्दिर रहेको गाउँलेहरू बताउँछन्।

दलचोकीमा बाहुन, क्षेत्री, तामाङ, मगर, नगरकोटी र सुनुवार समुदायको बसोबास छ । गाउँलेहरू कृषिमा निर्भर छन् । गाई, बाख्रा र कुखुरा पालन गर्छन् । यहाँ उत्पादित तरकारी र दुध काठमाडौं पु-याइन्छ।    

दलचोकीको पूर्वमा चौघरे, नल्लु, भारदेउ, बुखेल, मानिखेल र फूल्चोकी पर्छन् भने पश्चिममा भट्टेडाँडा । उत्तरमा सेता हिमाल र तलतल काठमाडौं, टीकाभैरव र लेले । दक्षिणतिर महाभारत सृङ्खला।

गाउँमा सानो खाजाघर छ । यहाँको एक मात्र सामुदायिक होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ । बिडम्बना ! १२ वैशाख ०७२ को भुकम्पले दलचोकी र यहाँको होमस्टेलाई पनि क्षति पु-यायो । हाल एउटा सानो होटलका रुपमा चलाउन थालिएको छ जहाँ एकै पटकमा १५ जनासम्म बास बस्न सक्छन्।   

प्रदुषणबाट टाढा, शान्त दलचोकी सुन्दर पर्यटकीय गन्तव्य हो । यसलाई काठमाडौंको भेडेटार भन्दा फरक पर्दैन । दलचोकी मनसुनमा भुईँकहिरोमा डुबुल्कि मार्छिन भने अरु बेला त्यहाँबाट चारैतिर बादलको तलाउ देखिन्छ । उचाइमा रहेकाले वर्षैभरि शितल हुन्छ । त्यसैले काठमाडौंमा बस्नेहरुको गर्मी छल्ने वा विकेण्ड मनाउने गन्तव्य बनाउन सकिन्छ।

दलचोकी हाइकिङका लागि राम्रो गन्तव्य । पदयात्रामा हरिया खेत बालीहरू, चराको चिरविर आवाजसंगै सुन्दर गाउँबस्ती हेर्दै हिँड्न सकिन्छ । होटल सुविधा भएकाले रात बिताउन समस्या छैन । हाइकिङ मात्र होइन यहाँ साइकलिङ, बाइकिङ र जीप राइडका लागि समेत उपयोगी छ । असोजदेखि हिमाल खुल्छन् । त्यतिवेला उत्तरतिर चाँदीझैं टल्किन्छन्, हिमाल । चैत–वैशाखमा वनैभरी गुराँस फूल्छ । बाटोमा मौसम अनुसारका फलहरु खाँदै हिँड्न पाइन्छ । जंगलको बाटो भएकाले यात्रामा चितुवा, मृग, वनबिरालो, खरायो, कालिजलगायत जीवजन्तुसँग जम्काभेट हुन सक्छ।

पदयात्राको मुख्य सिजन असोजदेखि फागुनसम्म । तर, वर्षैभरि पदयात्रा गर्न सकिन्छ । पहाडी गाउँले जनजीवन बुझ्न उपयुक्त छ दलचोकी।

पर्यटकीय गन्तव्य मात्र होइन, दलचोकी ध्यान, योग र स्वास्थ्य केन्द्र बन्दै छ । त्यहाँ प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएको छ।

जंगल बीचमा छ तीन तले भवन । भवनबाट चारैतिर राम्रो दृष्य देखिन्छ । सात रोपनीमा फैलेको छ आनन्दधाम । ठूलो डाइनिङ हल र योग हल बनेको छ जहाँ एकैपटक सय जनाले आवासिय ध्यान, योगअभ्यास गर्न पाउँछन् । त्यहाँ उचित आहार, विहार र विचार (उआविवि)को व्यावहारिक अभ्यास गराइन्छ । समूहले उआविवि अभ्यासबाट आनन्दित रहने ज्ञान बाँड्न आनन्दधाम बनाएको।

हाल अधिकांश मानिस अनुचित आहार, अनुचित बिहार र अनुचित विचारका कारण रोग र दुःखको भुमरीमा छन् । त्यसबाट उनीहरूलाई निरोग आनन्दको सरल, प्राकृतिक, फराकिलो राजमार्गमा हिँड्न प्रेरित र सहयोग गर्न सातदोबाटोमा प्रकृतिप्रेमी समूह स्थापना भएको हो । समूहले कुनै पनि विदेशी सहयोग र राज्यको मुख नताकी आफ्नै सदस्यहरुको सहयोग जुटाई  दलचोकीमा पहिलो निरोग–आनन्दधाम बनाएको हो।

कतिपय मानिस घरमा उचित वातावरण नहुनाले टुँगोमा पुग्ने गरी उआविवि अभ्यास गर्र्न सक्दैनन् । त्यस्ता व्यक्ति लगायत सबैले आनन्दधाममा उआविवि स्वाध्याय–स्वाभ्यास गर्न पाउँछन् । हामी आफ्नो स्वास्थ्यप्रति आफैं जिम्मेवार हुनुपर्छ । आफ्नो स्वास्थ्य आफ्नै हातमा लिएर निरोगी र आनन्दित रहन सकिन्छ । त्यसका लागि सदा उआविवि गर्नु पर्छ भन्ने ज्ञान आनन्दधाममा सिकाइन्छ।

समूहले आनन्दधाममा एक दिनदेखि ३ दिने विकेण्ड र सात दिने शिविर, ‘दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ शिविर चलाउँदै आएको छ । सात दिने शिविरमा जीर्ण, दीर्घ रोग सुगर, प्रेसर लगायत मोटोपन भएकाहरु र स्वस्थ रहन विधि सक्नि चाहनेहरुलाई साँचो जीवन जिउने कलाको ज्ञान दिइन्छ । अचम्मको परिवर्तन हुन्छ सात दिने शिविरमा बसेपछि । मोटोपन भएकाले सात दिनमा ३ छाक पेटभरी खाएर पनि ४ देखि ७ किलो तौल घटाउन सक्छन् भने सुगर र प्रेसर ७ दिनमै कन्ट्रोलमा ल्याउन सकिन्छ।

शिविरमा निरोगी कसरी रहने, दुःखबाट कसरी मुक्त हुने भन्ने साँचो ध्यान सिकाइन्छ । अचेल महिनाको २ पटक सात दिन आवासिय कार्यक्रम सञ्चालन हुँदै आएको छ । शिविरमा बस्न निरोगधाम कार्यालय सातदोबाटोबाट सदस्यता लिनु पर्छ । निरोगधामले विगत १८ बर्ष देखि ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर निरोगी हुन, आफ्नो डाक्टर आफै हुन प्रेरित र सहयोग गर्दै आएको छ।

स्वस्थ रहने मापदण्ड उचाई अनुुसार तौल कायम राख्नु हो । सबै रोगको मुल कारण कब्जियत र मोटोपन हो । त्यसैल उचाई अनुसार तौल कायम राखेर सबैजना स्वस्थ बन्नु पर्छ । आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई आफ्नो डाक्टर आफैं बन्नु पर्छ।

आनन्दधाम बनेपछि दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास हुँदैछ । गाउँलेहरुले त्यहाँ रोजगारी पाएका छन् । साथै न्युनतम पैसामा पनि सजिलै जीवन निर्वाह गर्न सकिन्छ र स्वस्थ, निरोग र आनन्दित रहन सकिन्छ भन्ने ज्ञान पाएका छन् । निरोगधामले मुलुकभित्रका अन्य ठाउँमा पनि यस्तै धाम बनाउने लक्ष्य राखेको छ।  

दक्षिणी ललितपुरमा दलचोकी जस्ता थुप्रैै सुन्दर वस्ती छन् । शंखु, नल्लु, भट्टेडाँडा, भारदेऊ, गोटीखेल, माझखण्ड, गिम्दी आदि । त्यसैगरी कालेश्वर, पाथिभरा, मनकामना, बैतरणीधाम, मसानखोलजस्ता तीर्थ पनि छन् । यही प्रकृति, संस्कृति र अध्यात्मका साथै गाउँलेको मुस्कान जोडेर पर्यटन विकास गर्न सकिन्छ । यसमा सरोकारवाला निकायहरु गाउँपालिका, प्रदेश सरकार र पर्यटन बोर्डले ध्यान दिनु पर्छ । यस क्षेत्रमा होमस्टे पर्यटन विकास गर्न सके गाउँलेको आय आर्जनमा मद्दत पुग्नेछ भने गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्नेछ।

काठमाडौंसँग कुम मिलाएर बसेता पनि दक्षिण ललितपुरलाई काठमाडौंको कर्नाली भनिन्छ । यहाँको सुन्दर भुगोलमा पर्यटन विकास गर्नु पर्ने देखिन्छ । दलचोकी र दक्षिण ललितपुरलाई स्वस्थ पर्यटनका रुपमा उजागर गर्न हाम्रो समूहले बेलाबेलामा तीन दिनदेखि हप्ता दिनसम्म पदयात्रा गराउँदै आएको छ । त्यसैले आउनुहोस्, समग्र दक्षिण ललितपुरलाई स्वास्थ्य पर्यटन केन्द्रका रुपमा विकास गर्न हातेमालो गरौं।  

कसरी पुग्ने : ललितपुरको सातदोबाटोबाट २० किलोमिटर दुरीको दलचोकीसम्मै सडक छ । पदयात्रा गर्दा लगनखेलबाट लेले जाने गाडीमा टीकाभैरव हुँदै कान्ति राजपथको विर्खेधारासम्म गाडीमा । विर्खेधाराबाट सिधा हिँड्ने तीनपानेसम्म । तीनपानेबाट बायाँ लाग्ने । त्यहाँबाट खुर्सानीबारी, महाभिर, गोठभन्जयाङ मावि, मनकामना मन्दिर भएर निरोग आनन्दधाम पुग्ने र धामबाट खाम भन्ज्याङ, जुकेडोल, सानो भैंसे, सैनिक ब्यारेक हुँदै विर्खेधारासम्म पदयात्रा । हाइकिङ दुरी १५ किलोमिटर । समय ५ घण्टा।

प्रकाशित: ६ आश्विन २०७५ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App