८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘अहिलेसम्म मलाई कुनै पनि रोग लागेको छैन’

संयुक्त राष्ट्रसंघ सिडअ कमिटीकी सदस्य, महिला अधिकारकर्मी तथा पूर्वसञ्चारकर्मी वन्दना राणाको स्वास्थ्य देखेर जो कोही छक्क पर्छन्। उनको तेजिलो मुहार र फूर्तिलो शरीर हेर्दा ४० वर्ष कटेको जस्तो लाग्दैन। प्रस्तुत छ– स्वस्थ हुुन उनले अपनाउने जीवनशैलीका बारेमा गरिएको संक्षिप्त कुराकानीः

कति वर्षकी हुनु भयो?
५७ वर्षकी भइसकें।

तपाईंको उचाईं कति छ?
५ फिट ४ इन्च।

तौल कति छ?
५९ केजी।

सधैं स्वस्थ देखिनुहुन्छ, कुनै रोग छ कि छैन?
खुसीको कुरा, अहिलेसम्म मलाई कुनै पनि रोग लागेको छैन।

दिनहरू कसरी बिताउनु हुन्छ?
संयुक्त राष्ट्र संघ सेडा कमिटीको सदस्य भएकाले वर्षमा तीन÷चार महिना जेनेभामै बित्छ। नेपालमा बस्दा पनि बिहानदेखि बेलुकीसम्म महिला अधिकारसम्बन्धी विभिन्न अभियानमा व्यस्त हुन्छु । काठमाडांै उपत्यका तथा बाहिरी जिल्लाहरूमा पुगेर लैंगिक समानतासम्बन्धी तालिम दिने र गोष्ठीमा सहभागी हुने गर्छु।

रोग लाग्न नदिन के–के खानु हुन्छ?
सबै चिज मिलाएर खान्छु । चिल्लो र भात कम खान्छु, तरकारी, फलफूल बढी खान्छु । रातो मासु एकदमै कम खान्छु । तर खुर्सानी ज्यादै अत्यन्त मन पर्छ । त्यही भएर ब्यागमा सधैं खुर्सानी बोकेर हिँड्छु । शरीरको क्षमताभन्दा बढी खादिनँ । फलफूलमा मेवा, स्याउ मन पर्छ । दूध हालेको चिया तथा कफी खादिनँ, कालो चिया–कफी मात्र खान्छु।

यसैगरी कोकाकोला, इनर्जी ड्रिंक्सजस्ता पेय पदार्थ पिउदिनँ । साताको एक एक दिन मात्र भात खान्छु । अरू दिन तरकारी, रोटी तथा फलफूल खान्छु । गुलिया खानेकुरा कम खान्छु । मात्रा मिलाएर खानेकुरा खान्छु । मुख्य कुरा, साँझको खाना साढे ६ बजे अघि नै खाइसक्छु।

कस्तो व्यायाम र योग गर्नु हुन्छ?
व्यायाम र योग भनेको हामीले नियमित दाँत माझेजस्तै स्वास्थ्यका लागि अनिवार्य कुरा हुन् । टेलिभिजन र पुस्तक अध्ययन गरेर आफूलाई मिल्ने योग र व्यायामको तालिका बनाएकी छु । त्यही नियमित गर्छु।

आफ्नो उमेरभन्दा भर्खरकी देखिनु हुन्छ? के–के गर्नु हुन्छ?
नियमित एक घण्टा व्यायाम र योग गर्छु । कहिले छुटाउदिनँ । योग र व्यायाम दाँत माझेजस्तै, मुख धोएजस्तै स्वास्थ्यका लागि अनिवार्य छन् । व्यायाम र स्वस्थ खानाकै कारण म स्वस्थ भएकी हुँ । यस्तै म नकारात्मक अवस्थामा पनि सकारात्मक सोच राख्ने प्रयास गर्छु । यसका लागि तीन वर्षयता बिहानै फेसबुकमा प्रत्येक दिन सकारात्मक स्टाटस अपडेट गर्ने गरेको छु।

स्वस्थ हुन के–के गर्नु पर्छ?
मुख्य कुरा, सकरात्मक सोच राखेर काम गर्नु पर्छ । स्वस्थ हुन शरीरलाई मात्र जतन गरेर हुँदैन, मनलाई पनि स्वस्थ राख्नुपर्छ । यसले धेरै कुरामा ऊर्जा मिल्छ । जुन ऊर्जाले हामीलाई शरीर स्वस्थ राख्न ठूलो मद्दत पु-याउँछ।

प्रकाशित: ६ आश्विन २०७५ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App