coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

शताब्दीपुरुषको सन्देश

राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षमा प्रवेश गर्न केही दिन बाँकी हुँदा गत बुधबार उनलाई भेट्न कवि दीपेन्द्रसिंह थापा र म उनको निवास पुगेका थियौं । उनी असोज ७ गते सय वर्षमा प्रवेश गर्दैछन् । ‘हामी ७० वर्ष बाँचे पनि हुन्छ, सय वर्ष बाँचे पनि हुन्छ’, हामीले समाजका लागि बाँच्नु पर्नेमा उनले जोड दिए, ‘हामी जिउँदो भएर बाँच्नु पर्छ । समाजका लागि बाँच्नु पर्छ।’

हिन्दुग्रन्थ वेदले पनि मान्छेको आयु सय वर्ष मानेको छ । शताब्दीपुरुष घिमिरेको अनुहारमा कान्ती छाएको देख्यौं हामीले । ‘वल्लो डाँडाबाट पल्लो डाँडामा पुग्दैछु’, उनी मुस्कुराए, ‘अब रिस र लोभमुक्त भएर बाँच्नु पर्छ।’

निराशा र कुण्ठामुक्त भएर बाँच्ने कला जानेमा नै मान्छे खुसी बन्छ । जीवनलाई उत्सवमय बनाएर बाँच्ने जानेका छन् उनले । ‘हिमालचुलीमा हिजो पनि घामका झुल्का परेको थियो । आज पनि परेको छ । भोली पनि पर्नेछ’, हरेकपल नौलो अनुभूति सँगाल्छन् उनी, ‘हरेक दिन म ती दृश्यमा नयाँपन पाउँछु ।’
यतिबेला असोज ७ गतेको विहानीको व्यग्र पखाईमा छन् उनी।   

सय वर्षमा टेक्दै गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरे हरेक पल नयाँ अनुभव संगालेर जीवनलाई उत्सवमय बनाउनु पर्छ भन्छन्। ‘अब रिस र लोभमुक्त भएर बाँच्नु पर्छ’, उनी मुस्कुराए, ‘चाँडै ऋतम्भरा महाकाव्य पुरा गर्छु।’ यो महाकाव्यले जीवन सार्थक बनाउन विज्ञानसँगै अध्यात्म आबश्यक भएको सन्देश दिन्छ।

पछिल्लो समय उनी नयाँ महाकाव्य ‘ऋतम्भरा’ लेखिरहेका थिए । त्यहीबेला बिरामी भए । केही महिना अघि भारतको मेदान्त अस्पतालमा उनको उपचार गरियो । उताबाट फर्केपछि उनी लाजिम्पाटस्थित घरमा आराम गरिरहेका छन् । ‘कम्प्लिट रेस्ट’ गर्न सुझाएका थिए डाक्टरहरूले । दिनहुँ शुभेच्छुकहरू भेट्न आउँछन् । त्यसैले फुर्सद पाउनै गाह्रो छ।

‘अब ऋतम्भरा महाकाव्य पुरा गर्नुछ’, उनले भने, ‘दुई सर्ग लेख्न बाँकी छ । सय वर्षमै त्यसलाई प्रकाशन गर्नेछु।’

लोकसंस्कृतिका विम्ब टपक्कै टिपेर गीत तथा कविता लेख्दै आएका उनी जीवनवादी स्रष्टा हुन् । मानवतावादी जीवन दर्शन पाइन्छ उनको सृजनामा । यो नयाँ महाकाव्यमा के छ त?

‘स्वर्गलाई धर्तिमा उर्ताने र धर्तीलाई स्वर्गमा उर्ताने प्रयास गरेको छु’, उनी खुल्दै गए, ‘अहिलेको विश्व ज्यादा प्रविधिमय भयो, अध्यात्म ओझेल पर्दै गयो । जीवन सार्थक बनाउन हामीलाई विज्ञानसँगै अध्यात्म पनि चाहिन्छ भन्ने सन्देश छ यसमा।’  

एक शताब्दी लामो जिन्दगी पाउनु चानचुने कुरा होइन । यो त प्रकृतिकै उपहार हो । भगवानको आशिष हो । साँच्चै उनले भने झैं जति बाँचिन्छ मान्छे भएर बाँच्नु पर्छ । आफ्ना लागि मात्र होइन, समाजका लागि पनि बाँच्नु पर्छ । तब मात्रै जीवन अर्थपूर्ण हुन्छ।

हामी पुग्दा घरको माथिल्लो तलामा उनी लाइभ संगीतमा मग्न थिए । गायिका सुजाता बर्माले शास्त्रीय स्वादमा राष्ट्रकविको गीत गाइन् । ‘ऋतम्भरा’का श्लोकलाई उनले  गाएकी हुन् । उनलाई तबलामा जगन्नाथ धौबडा, तानपुरामा बिन्दु आचार्य र रुम न्यौपाने तथा हार्मोनियममा विनय बर्माले साथ दिँदैछन् । त्यो दिन धौबडाले तबला बजाएका थिए, साथमा थिइन् सरोदबादक रुपा न्यौपाने पनि।

राष्ट्रकवि सय वर्षमा लागेको खुसीयालीमा असोज  १३ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिने कार्यक्रममा यो गीत सुन्न पाइनेछ । खाटमाथि बसेर सुनिरहेका घिमिरे गायिकातिर हेरेर मुस्कुराए, ‘राम्रो गाउनु हुँदो रहेछ, अर्को गीत पनि दिन्छु तपाइँलाई।’

केही महिना अघि अस्पतालको बेडबाट उनले केही शुभेच्छुकलाई बोलाएर एउटा गीत रेकर्ड गराउने जिम्मा दिए। त्यो गीत त्यही दिन रेकर्ड गराउने उनको आग्रह अनुसार गायक कर्णदासको स्वरमा रेकर्ड भएको छ–यस्तो होस् मरण। राष्ट्रकविले आफ्नो निधनपछि मात्रै यसलाई सार्बजनिक गर्न अनुमति दिएका छन्।

सांगीतिक समूह गएपछि उनले हातले इशारा गरे, छोरीले जुस ल्याइदिइन् । जुस सुरुप्प पारेपछि कुराकानी अघि बढ्यो । एकैछिन कुरा गरेपछि थाकिहाल्छन् । जुस वा पानी पिएर केहीबेर सुस्ताउँछन् । अनि फेरी उसैगरी जोसिन्छन्।

मान्छेको जीवन सोचे जस्तो हुँदैन । हामीले चाहेजस्तो जीवन बाँच्ने प्रयास निरन्तर गर्नु पर्छ । राष्ट्रकविका मनमा पनि कुनै अधुरा रहरहरू छन् कि?

अँग्रेजी भाषा सिकेर पाश्चात्य साहित्य अध्ययन गर्ने उनको रहर अधुरै रहेछ । तैपनि  उनलाई यसमा कुनै गुनासो छैन किनकि नेपाली लोकसाहित्य अध्ययन र लेखनमा जुट्दा नेपाली जीवन र नेपालीपन बुझ्न पाएकामा सन्तुष्ट छन् उनी।

उनमा सानैदेखि गीत गाउने रहर थियो । अलिकति बुझ्ने भएपछि मनमा शास्त्रीय संगीत सिक्ने रहर पलाएको थियो । जीवनमा त्यो रहर भने पुरा हुन पाएन । त्यसैले शास्त्रीय संगीत सिक्ने मेसो नमिलेकामा मनमा कताकता खल्लो लागिरहन्छ।

भोगेको जीवनप्रति कुनै गुनासो छैन उनमा । कुनै असन्तुष्टि पनि छैन । फर्केर हेर्दा जीवन सार्थक बन्यो उनको । कविता र गीत मार्फत राष्ट्रिय भावना जागरणमा योगदान पु-याउन सकेकामा उनका आँखामा सन्तुष्टिको भाव झल्कन्छ।

‘जीवन मैले वरदानजस्तै पाएको छु’, उनी सधैं भन्छन्, ‘देशलाई माया गर्न पाउँदा सन्तुष्ट छु।’

मान्छे कति वर्ष बाँच्छ, कसैले भन्न सक्दैन । बिरामी भएर एयर एम्बुलेन्समा भारतको मेदान्त अस्पतालमा जानु अघि काठमाडौंको एउटा अस्पतालमा उपचार गराइरहेका बेला उनलाई ‘अब बाँच्दिँन’ भन्ने लागेछ । त्यसैले परिवारका सदस्य मार्फत केही शुभेच्छुक पत्रकारलाई बोलाउन लगाएछन् उनले । र, एउटा गीत रेकर्ड गराउन जिम्मा दिएछन् । त्यो गीत त्यही दिन रेकर्ड गराउने उनको आग्रह अनुसार गायक कर्णदासको स्वरमा रेकर्ड भएको छ । गीतको मुखडा छ–यस्तो होस् मरण।

राष्ट्रकविले आफ्नो निधनपछि मात्रै त्यसलाई सार्बजनिक गर्न अनुमति दिएका छन्।

सधैं आफू बाँचेको समाजलाई बुझिरहन खोज्छन् उनी । पत्रिका पढेर समाजको हालखबर बुझ्छन्। ‘शान्ति र समृद्धिको बाटोमा मुलुक लम्किएको हेर्ने रहर छ’, केही महिना अघि भेट्दा उनले भनेका थिए, ‘हामीबीच विश्व वन्धुत्वको भावना अझै बढोस्।’

नेपाली वाङमयका अमुल्य निधि हुन राष्ट्रकवि । गौरी, अश्वत्थामा, राष्ट्र निर्माता, मालती–मंगले, किन्नर–किन्नरी जस्ता गहन सृजना लेखेर नेपालीलाई गुन लगाएका घिमिरेको सृजनशीलता, सक्रियता र राष्ट्रवादी भावना प्रेरणादायी छ।

लमजुङको बाँदर लड्ने भिरमा जन्मे÷हुर्केको एउटा मान्छे आज राष्ट्रकै गौरव बनेको छ। उनी लमजुङको पुस्तुन गाउँमा जन्मेका । धेरै वर्ष भैसक्यो उनको शरीर त्यता जान नपाएको । एकफेरा त्यता जान पाए हुन्थ्यो भन्ने लाग्छ । बुढ्यौलीका कारण अब त्यो संभावना छैन । उनको मन चाहिँ छिनछिनमा भुर्रभुर्र उडेर त्यतै पुग्छ । गाउँघर डुल्छ, उकाली ओराली गर्छ । त्यहाँको चिसो हावा र मिठो पानी चाख्छ।

मान्छे जहाँसुकै पुगोस् उसलाई आफु हुर्केको र खेलेको ठाउँ सधैं प्रिय लाग्छ । उनले लेखेका छन्, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो।’

गाउँमा लघुकौमुदी पढाईसकेर उनी काठमाडौं हानिएका थिए । उनले काठमाडौको दरबार हाइस्कुलमा पढे। समयक्रममा गाउँको हेडमास्टरदेखि भाषानुवाद परिषद, गोरखापत्रको जागिरे हुँदै प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म बने।  

वि.सं. ०१९ सालमा लाजिम्पाटमा घर बनाएर बसेका हुन्। उनकी जीवनसाथी गौरीको निधन २००४ सालमा भएको थियो । उनकै सम्झनामा उनले लेखेको शोक काव्य ‘गौरी’ धेरैको दुःखको मित बनेको छ।

जीवनवादी दृष्टिकोण बोकेका राष्ट्रकवि साहित्यले समाजलाई आशावादी बनाउनु पर्छ भन्छन्। ‘कविले मान्छेलाई निराश बनाउनु हुँदैन’, उनी आग्रह गर्छन्, ‘आशावादी बनाउने कविता लेखौं। सबैमा सकारात्मक उर्जा बाँडौं।’    

हरेक मान्छेका कमजोरी हुन्छन्। राष्ट्रकविका पनि कमजोरी छन्। आलोचकहरु उनलाई सत्ताको नजिक रहेर लाभ लिने कविका रुपमा चित्रण गर्छन् । साहित्यिक योगदानका हिसाबले मुल्याङकन गर्दा नेपाली साहित्यको श्रीबृद्धिमा उनको योगदान अतुलनिय छ । जनजनको ओठमा झुण्डिने लोकसृजना गर्न सक्नु उनको खुबी हो।

समाज र राज्य उनलाई सम्मान गर्न चुकेको छैन। उनी व्यक्ति मात्र नभएर संस्था नै बनिसके । उनको कोठाभरी सम्मानपत्रको खात छ। ती प्रमाणपत्र, पुस्तक, मायाको चिनो, उनले प्रयोग गरेका सामान, भाँडावर्तन, कपडा, कापी, कलम, पुस्तक, पाण्डुलिपि, अडियो÷भिडियो आदि सजाएर उनको निवासलाई संग्रहालय बनाउन सके कति राम्रो हुन्थ्यो होला!

प्रकाशित: ६ आश्विन २०७५ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App