८ वैशाख २०८१ शनिबार
विचार

नेपाल-जापान सांस्कृतिक सम्बन्ध

सन् १९५० को दशकपश्चात प्रजातन्त्र आगमनसँगै नेपालले विश्वका विभिन्न मुलुकसँग दौत्य सम्बन्ध कायम गर्न थालेको सन्दर्भमा २०७३ भदौ १६ गते नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ नेपालमा विशेष कार्यक्रमसाथ सम्पन्न भएको छ। यस अवसरमा नेपालमा भएका विभिन्न कार्यक्रममा सहभागी हुन हालसालै जापानका विदेश राज्य मन्त्री नोबुओ किसी पनि आएका थिए। यही कूटनीतिक सम्बन्धपछि सन् १९५६ र सन् १९६८ मा क्रमशः टोकियोमा नेपाली राजदूतावास र काठमाडौँमा जापानी राजदूतावास स्थापना गरिए।

सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ६० वर्ष पुगेको भए तापनि नेपाल जापानबीचको अनौपचारिक सम्बन्धको इतिहास भने एक शतक पुरानो हो। नेपाल र जापानबीच अनौपचारिक सम्बन्ध कायम भएको शताब्दिऔँ भइसकेको छ। नेपालप्रति असल र मित्रवत् व्यवहार गर्न रुचाउने जापान र नेपालबीच आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, जलाधार संरक्षण, खानेपानीको व्यवस्थापन, विमानस्थलको स्तरोन्नति, धार्मिक एवं सांस्कृतिक आदान–प्रदानका दृष्टिकोणले परम्परागत सम्बन्ध रहिआएको छ।

धार्मिक सम्बन्ध

नेपाल र जापानबीचको धार्मिक सम्बन्ध पनि पुरानो मानिन्छ। इन्द्र, गणेश, सरस्वती, महांकाल, बोधिसत्व मञ्जुश्री, लोकेश्वर, शाक्यमुनि बुद्ध र अमिताभ बुद्ध केही महत्वपूर्ण उदाहरण हुन् जुन देवीदेवतालाई नेपालका हिन्दु एवं बौद्धमार्गीलेझैँ जापानका मानिसले पनि समान आस्था र विश्वासका साथ पूआ गर्छन्। नेपालमा ज्ञानकी देवीका रूपमा पुजिने सरस्वतीलाई जापानमा वेन्तेन भनिन्छ भने हाम्री धनकी देवी लक्ष्मीलाई जापानिजहरु किसोटेनका रूपमा मान्छन्। हाम्री हारती मातालाई जापानमा किसिमोजिन भनिन्छ। हाम्रा विध्नहर्ता गणेशलाई जापानीहरु मैथुनका देवता (योवयुम) मान्छन्। जापानमा तोरा भनिने ध्वजालाई हामी तोरण भन्छौँ। नेपालको दक्षिणायन सीमावर्ती भूमि वनारस सहरलाई काशी भनेझैँ जापानमा काशी जस्ता मिल्दाजुल्दा अनेकन् नाम भएका सहर छन्।

कावागुचीको नेपाल भ्रमण

विशेषतः सन् १८८८ तिर बौद्ध धर्म अध्ययनका लागि तिब्बत जाने क्रममा जापानबाट नेपाल आएका भिक्षु इकाइ कावागुची नेपालको भ्रमणमा आउने पहिलो र उच्च तहका व्यक्तित्व मानिन्छन्। भिक्षु कावागुचीले तत्कालीन राणा प्रधान मन्त्री चन्द्रशमशेरलाई जापानले सन् १८६७ पछिको मेइजी आन्दोलनपश्चात शिक्षामा सरेको लगानीको परिणामस्वरूप जापान औद्योगिक एक समृद्ध आधुनिक मुलुक बन्न सकेकाले नेपालले पनि शिक्षा क्षेत्रमा विशेष जोड दिनुपर्ने राय दिएका खबर यसअघि नै विभिन्न लेखमा उल्लेख भइसकेका छन्।

भनिन्छ, उनै जापानी तीर्थयात्री इकाइ कावागुचीले भोटबाट ल्याएका कांग्युर ग्रन्थमाला (बुद्धवचन अनुवाद)तत्कालीन राणा प्रधान मन्त्री चन्द्रशमशेरलाई उपहार दिएका थिए। यस सम्बन्धमा राष्ट्रिय अभिलेखालयको मुखपत्र 'अभिलेख' नामक पत्रिकाको वर्ष २९ पूर्णाङ्क २९ को पृष्ठ ३२–३३ मा प्रकाशित पुण्यप्रसाद पराजुलीद्वारा लिखित 'राष्ट्रिय अभिलेखालयको भोट वाङ्मयः एक विश्लेषण' शीर्षकको लेखमा यस्तो उल्लेख छ– 'विभिन्न लिपिमा लेखिएका विभिन्न भाषाका हजारौँ अभिलेख सुरक्षित रहेको राष्ट्रिय अभिलेखालयमा भोट भाषामा पनि संभोट लिपिहरुमा लेेखिएका र छापिएका ८ हजारभन्दा बढी अभिलेख सुरक्षित छन्। तिब्बती वाङ्मयका सबैभन्दा महत्वपूर्ण ग्रन्थ कांग्युर (बुद्धवचन अनुवाद) सुरुका १०१ पोकामा राखिएका छन्। माइक्रोफिल्म रिल ए६३५/१ र बि५४३/१ बाट सुरु भएका यी ग्रन्थहरु ए६७९/१ सम्ममा रहेका यिनीहरु भोटको नर्थाङ भन्ने स्थानमा छापिएका हुन्। जापानी तीर्थयात्री इकाइ कावागुचीले भोटबाट ल्याएर तत्कालीन राणा प्रधान मन्त्री चन्द्रशमशेरलाई यी पुस्तक चढाएको बताइन्छ।' यसरी कावागुचीले थुप्रै पुस्तक–सम्पदा सुम्पिएर नेपाललाई ठूलो गुन लगाएका छन्।

वास्तवमा नेपाल प्राकृतिक एवं सांस्कृतिक सम्पदाका दृष्टिकोणले मात्र सम्पन्न नभएर अभिलेख सम्पदाका दृष्टिले पनि विश्वमै एक समृद्ध राष्ट्र मानिन्छ। राष्ट्रिय अभिलेखालयमा तिब्बती भाषा वा भोट वाङ्मयसम्बन्धी ७ हजार ग्रन्थ संकलित एवं संुरक्षित छन्। त्यसैले पनि कावागुचीले भोटभाषा र वाङ्मयको समृद्धिमा पुर्‍याएको योगदानलाई हामीले बिर्सेर पनि कहिल्यै भुल्न सक्दैनौँ।

सन् २००० को अगस्टमा नेपालका प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा जापानका प्रधान मन्त्री मोरी नेपाल आउँदा प्रसिद्ध पाटन दरबारको भ्रमणमा समेत सरिक भएका थिए।

 

लुम्बिनी गुरुयोजना

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापन कार्यमा पनि जापानको उत्तिकै गम्भीर चासो छ। बुद्ध जन्मभूमि लुम्बिनीको विकास र समृद्धिका लागि सन् १९७२ मा जापानिज विद्वान् डा. केञ्जो टाँगेद्वारा विस्तृत लुम्बिनी गुरुयोजना तयार पारिएको र सोही गुरुयोजनाले मार्गनिर्देश गरेबमोजिम विश्व सम्पदा सूचीमा समाबिष्ट लुम्बिनीस्थित पुरातात्विक संम्पदाहरुको संरक्षण, सम्वर्धन साथै विकास निर्माण एवं व्यवस्थापनजन्य क्रियाकलापहरु सञ्चालित छन्। स्मरणीय छ, नेपाल भ्रमण गर्ने विदेशीमध्ये जापानिजको स्थान ज्यादै उच्च छ।

बुद्ध आर्ट ग्यालरी

नेपालकै सबैभन्दा पुरानो छाउनीस्थित राष्ट्रिय संग्रहालयका विभिन्न भौतिक संरचनामध्ये बुद्ध आर्ट ग्यालरी (मण्डला कक्षसहित) भवन नेपाल र जापान सरकारको सहयोगमा निर्माण भएको हो। सन् १९९७ सालमा उद्घाटन गरिएको उक्त भवनभित्र काठमाडौँ उपत्यका, नेपालको पश्चिम तराई र हिमाली क्षेत्र सम्बद्ध नेवारी कला र संस्कृति, चित्रकला, मूर्तिकला, बौद्धधर्म र दर्शन साथै नेपालको पश्चिम तराईस्थित लुम्बिनी र कपिलवस्तुबाट प्राप्त पुरातात्विक सामग्रीहरु संग्रहित एवं प्रदर्शित छन्।

भूकम्पपछिको अनुसन्धान

भूकम्पपछिको पुनर्निर्माणको महाअभियानका लागि आर्थिक सहायता गर्ने मुलुकमध्ये पनि जापानकै नाम अग्रपक्तिमा देखिन्छ। २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पका कारण काठमाडौँ उपत्यकाका तीन मल्लकालीन राजदरबारमध्ये सबैभन्दा बढी प्रभावित हनुमानढोका दरबार प्राङ्गण र बुङमती–खोकनामा अनुसन्धान गर्न पुरातत्व विभाग र नेसनल रिसर्च इन्स्टिच्युट फर कल्चरल प्रोपर्टिज जापानबीच २०७२ मंसिर २८ गते समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ।

निष्कर्ष

यसरी शताब्दिऔँ वर्षपहिलेदेखि कायम भइआएको नेपाल र जापानबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, शैक्षिक एवं मित्रवत् सम्बन्ध पछिल्लो कालमा आएर अझ निरन्तर र प्रगाढ बन्दै गएको छ। नेपाल र जापानबीचको दौत्य सम्बन्ध विभिन्न क्षेत्र र विषयगत आयामहरुमा यसरी नै युगौंसम्म झ्याङ्गिरहोस् र फस्टाइरहोस्।

प्रकाशित: ३ आश्विन २०७३ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App