coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यु–१६ महिला च्याम्पियनसिप : म्यानमारसँग नेपालको लज्जास्पद हार

नेपाल (राताे) र म्यानमारका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिरः एएफसी

काठमाडौं – थाइल्यान्डमा हुने एएफसी यु–१६ च्याम्पियसिपमा सहभागिता जनाउने नेपालको सपना शुक्रबार म्यान्मारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएसँगै समाप्त भएको छ। 

हलचोकस्थित एपिएफको मैदानमा भएको एएफसी यु–१६ छनोटको दोस्रो खेलमा फराकिलो भारी अन्तरले पराजित हुँदा नेपालको यात्रा  समाप्त भएको हो । पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएपछि गर या मरको अवस्थामा रहेको नेपालले दोस्रो खेलमा पनि सुखद नतिजा निकाल्न सकेन्। 

पाहुना टोलीले नेपालको पोस्टमा खेलको तेस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि लगातार खेलमाथि नियन्त्रण राख्ने क्रममा म्यानमारले एक मिनेटको अन्तरमा अर्को गोल थप्यो । घरेलु मैदानमा अत्यन्तै कमजोर रुपमा प्रस्तुत नेपाल पहिलो हाफमै १०–० ले पछि परेको थियो। 

पहिलो खेलमा जस्तै रक्षापंक्तिमा कमजोरी दोहोरिँदा विपक्षी स्ट्राइकरहरु नेपाली पोस्टमा हावी भए । यद्यपि नेपालकी गोलकिपर सावित्रा किसनले म्यानमारका केही कडा प्रहार मुस्किलले बचाउँदा नेपाल थप गोल खानबाट जोगियो। 

म्यानमारको टोली सामु निरिह बनेको नेपालले खेलको २३औं मिनेटमा पहिलो मौका सिर्जना गरेको थियो । नेपाली स्ट्राइकर अस्मिता चौधरी गोल गर्ने मौका गुमाएकी थिइन् । त्यसको तीन मिनेटमा चन्द्रा भण्डारीले अर्को मौका पाए पनि म्यानमारको रक्षा पंक्ति बिट गर्न सकिनन् । यस्तै पहिलो हाफ सकिन एक मिनेट रहँदा  कप्तान प्रिति राईले डिबक्स भित्रबाट प्रहार गरेको बल म्यानमारकी गोलकिपर खिन मयात मोइले उत्कृष्ट बचाउ गरेकी थिइन्। 

छनोटको दोस्रो खेलमा नेपाललाई पराजित गर्न म्यानमारकी सोई मार अङ एक्लैले पाँच गोल गरिन् । अङले खेलको चौथो, छैठौं, १७औं, २०औं र ३८औं मिनेटमा गोल गरेकी थिइन् । कप्तान म्यात खिनले नबौं, २९औं र ३३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै जिन मार हात्विईले तेस्रो मिनेटमा नै म्यानमारको टोलीलाई अग्रता दिलाउँदा वाई फो इयनले ३० औं र पोन्ट पोन्ट पाय माउङले ६२ औं मिनेटमा समान एक–एक गोल गरेका थिए । नेपालको तर्फबाट ६४ औं मिनेटमा शिरिसा कार्कीले नेपालका लागि सान्तोवना गोल फर्काएकी थिइन्। 

यस्तै प्रतियोगिता अन्र्तग शुक्रबार सम्पन्न अघिल्लो खेलमा फिलिपिन्सले मलेसियालाई १–० ले स्तब्ध बनाउँदै अर्को चरणको प्रवेशका लागि बाटो कोरेको हो ।  खेल सकिन १० मिनेट बाँकी रहँदा अल्मोले निर्णायक गोल गर्दै जित दर्ता गराएकी थिइन् । चार टोलीको सहभागिता रहेको छनोट प्रतियोगितामा म्यानमार र फिलिपिन्सले समान दुई खेलमा जित हात पार्दै ६ अंक जोडेर अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन् । म्यानमार गोल अन्तरका आधारमा शीर्ष स्थानमारहेको छ भने फिलिपिन्स दोस्रो स्थानमा रहेको छ ।  यस्तै, मलेसिया अंकविहिन हुँदै तेस्रो स्थानमा रहेको छ भने आयोजनक नेपाल तालिकाको अन्तिम स्थानमा रहेको छ। 

एसियाली फुटबल महासंघ(एएफसी)ले सहभागी ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर थाइल्यान्डमा हुने प्रतियोगिताका छनोट गर्न लागेको हो । ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने यस्तै समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले पनि दोस्रो चरणको यात्रा तय गर्नेछ । समूह बिजेतको टुङ्गोको लागि आइबार फिलिपिन्स र म्यानमारबीच खेल हुनेछ । यस्तै प्रतियोगिताबाट बाहिरिसकेका दुई टोली नेपाल र मलेसियाले आफ्नो अन्तिम खेल आइतबारै खेल्नेछन्। 

प्रकाशित: ५ आश्विन २०७५ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App