८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधि सभाका समिति सभापतिद्वारा सपथ तथा पदभार ग्रहण

तस्बिरः रासस

काठमाडौं – प्रतिनिधिसभाका  विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएर पदभारसमेत ग्रहणा गरेका छन्।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार दिउँसो सिंहदरबारमा पद तथा गोपनियताको सपथ गराएका हुन्।  शुक्रबार नै बसेको प्रतिनिधिसभा अन्तरगतको विषयगत समितिका छुट्टाछुट्टै बैठकले आ–आफ्ना समितिका सभापति निर्विरोध निर्वाचित गरेका थिए।

यसरी निवार्चित हुनेमा सार्वजनिक लेखा समितिका सभापतिमा नेपाली कांग्रेसका सांसद भरतकुमार शाह, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिमा संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तव छन्। 

यी बाहेक सबै समितिमा नेपाल कम्युनिष्ट पार्टीका सांसद निर्वाचित भएका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिमा नेपाल कम्युनिष्ट पार्टीकी शशी श्रेष्ठ, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदी, अन्तर्राष्ट्रय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र विकास तथा प्रविधि समितीकी सभापति कल्याणी खड्काले सामूहिक रुपमा सभामुख महराबाट पद तथा गोपनियताको सपथ लिएका हुन्। 

निर्वाचित १० सभापतिमध्ये ६ महिला छन्। विहीबार मनोनयन दर्ताका क्रममा सबै समितिमा एक जनाको मात्र उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निवार्चित हुने निश्चित भएको थियो।

सपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङफे, पूर्व सभामुख सुवास नेम्वाङ, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको सहभागिता थियो। समितिका नवनिर्वाचित सभापतिहरुले शुक्रबार नै पदभार पनि ग्रहण गरिसकेका छन्। 

 

प्रकाशित: ५ आश्विन २०७५ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App