८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरका दर्जनौं यातायात मजदुर रोजगार विहीन

उदयपुर – सरकारले सिन्डिकेट खारेज गर्न गरेको निर्णय हुबहु कार्यान्वयनमा नआएपनि यातायत मजदुरहरू भने प्रभावित भएका छन्। सिन्डिकेट खारेजीको प्रक्रिया सुरु भएसँगै उदयपुरको हिमाली यातायात व्यवसायी संघको खाता रोक्का गर्दै समिति खारेजीमा परेपछि आफूहरूकोे बिल्लीबाट भएको यातायात मदजुरले गुनासो गरेका छन्।

सरकारको निर्णय अनुसार हिमाली संघ स्वतः खारेज भएको छ भने समितिमै रहेका केही यातायात व्यवसायीको सहभागितामा ‘उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र’ गठन भएको छ। नयाँ समिति गठनसँगै साविक हिमाली संघमा कार्यरत प्रत्यक्ष रोजगारी गरिरहेका ५४ कर्मचारीको रोजीरोटी गुम्न पुगेको छ। अधिकृतस्तर (छैठौं) तहका कार्यालय प्रमुख र १ जना लेखा अधिकृतसहित ५४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका थिए भने अप्रत्यक्ष रोजगारी पाउने मजदुरको संख्या झण्डै अढाई सय रहेको निवर्तमान लेखा अधिकृत शसी राईले बताए।

नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय सदस्यसमेत रहेका राईले राज्यले सिन्डिकेट हटाउने नाममा मजदुरलाई बिल्लीबाठ बनाएको गुनासो गरे। उनले सिन्डिकेट हटाउनु राम्रो पक्ष भएपनि त्यसअघि मजदुरको व्यवस्थापन गर्न नसकेकाले धेरै मजदुरको रोजीरोटी खोसिएको र यसबाट कैयौं परिवारको पेटमा लात हान्ने काम भएको भन्दै दुखेसो पाखे। ‘सिन्डिकेटको सबैतिरबाट बिरोध भएकै हो, त्यो हटाएकोमा हाम्रो आपत्ती छैन’ राईले भने ‘तर, यता समिति खारेजी गर्ने निर्णयले देशभरका ३ लाख हाराहारी मजदुरको बिचल्ली भएको छ। उदयपुरमा मात्र झण्डै ३ सय मजदुर प्रभावित भएका छन्।’

२०५३ सालमा स्थापना भएर क्रियासिल रहेको हिमाली संघले जिल्लाभरी सञ्चाल बिस्तार गरेर प्रत्यक्ष ५४ जना र अप्रत्यक्ष अढाइसयको हाराहारीलाई रोजगारी दिँदै आएको अर्का मजदुर नेता प्रकाश तामाङले बताए। उनका अनुसार समिति खारेजीमा परेपछि परिवार पालनपोषणदेखि बच्चाहरुको पठनपाठन गराउने मुख्य आयस्रोत मजदुरी नै गुमेपछि मजदुरका आस्रित परिवार र बालबालिकाको भविष्यमाथि चोटिलो प्रहार भएको छ। 

स्थापनाकालपछि पहिलो अधिवेशनबाट अहिलेसम्म नेतृत्व गर्दै आएका बिघठित हिमाली संघका अध्यक्ष प्रेमकुमार राईले सरकारले मजदुरको व्यवस्थापन गरिदिनुपर्ने सुझाव दिए। सिन्डिकेट हटाउनु सरकारको सकारात्मक कदम भएपनि समिति खारेजी गर्नुले धेरै मजदुर युवाको रोजगारी गुमेको भन्दै उनले कुनै न कुनै उपाय अपनाएर मजदुरको व्यवस्थापन हुनुपर्ने राईको भनाई छ। 

सिन्डिकेट हटाउने नाममा संघ र समिति खारेज गरेपछि आफूहरू भोको पेट बस्नुपर्ने अवस्था सिर्जना भएको बिघठित संघका कर्मचारी मणी राईले बताए। कटारी, मुर्कुची, जलजले, बेलटार, ठोक्शीला र बसाहामा शाखा कार्यालय खोलेर कर्मचारी परिचालन गर्दै आएको बिघठित हिमाली संघमा २ सय ५० वटा यात्रुबाहक, १ सय बढी मालबाहक गाडीहरु आवद्ध थिए।

संघले सिन्डिकेट खारेजीको निर्णय गर्दै खाता रोक्का गर्दा ६५ लाख रुपैयाँ समितिको दुर्घटना समितिको बैंक खातामा मौज्दात रहेको तत्कालीन संघले जनाएको छ। संघमा आवद्ध यात्रुबाहक र मालबाहक साधनबाट नियमित शुल्क असुलेर बिमा र दुर्घटनामा परेका यात्रु तथा मजदुरको उपचार खर्च बेहोर्न दुर्घटना कोष सञ्चालनमा ल्याइएको पूर्व अध्यक्ष राईले बताए। 

प्रकाशित: ५ आश्विन २०७५ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App