८ वैशाख २०८१ शनिबार
समाज

सहमतिविना ३ सय बिघा खेतीयोग्य जग्गा प्लानिङ गर्ने प्रस्ताव

सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित राजमार्ग  निर्माणका लागि प्लानिङ गर्ने भनिएको खेतीयोग्य जग्गाको फाट ।     तस्बिर अनिल/नागरिक

सिन्धुली – राजमार्गलाई नक्साङ्कन भएको रुटबाट अन्यत्र डाइभर्ट गर्नका लागि सदरमुकाम सिन्धुलीमाढीको फाटमा रहेको खेतीयोग्य जग्गा प्लानिङ गर्न प्रस्ताव अगाडि सारिएको छ। सदरमुकाममै केही वर्षदेखि विवादित रहेको हेटौडा–सिन्धुली–चतरा (मदनभण्डारी) राजमार्गको रुट परिवर्तन गर्नका लागि यहाँको झन्डै ३ सय बिघा खेतीयोग्य जग्गा प्लानिङ गरी सोही क्षेत्रबाट राजमार्ग निर्माण गरिने भएको छ।

राजमार्गलाई बजारबाट अन्यत्र सार्नका लागि केही जनप्रतिनिधि लामो समयदेखि लागि परेको र स्थानीयको सहमति नभएपनि जग्गानै प्लानिङ गरी प्लानिङ भित्रबाट राजमार्ग निर्माण गरिने आश्वासन सहित जनप्रतिनिधिले राजमार्गको रुट परिवर्तन गर्नका लागि प्रस्ताव अगाडि बढाएका हुन्। भित्रबाट सदरमुकामस्थित कमलामाई नगरपालिका ६ धुराबजार, मिलनचोक खट्टार हुँदै निर्माण गरिने भनिएको हेटौडा–सिन्धुली–चतरा राजमार्ग निर्माणले धुराबजारका स्थानीयको केही घरहरू क्षति हुने भएपछि परिवर्तन गर्न स्थानीयले माग गरेका थिए।

राजमार्गको नक्साङकन भएको क्षेत्रबाट परिवर्तन गर्नका लागि कमलामाई नगरपालिका ४ स्थित महादेवफाटमा रहेको करिब ३ सय विघा खेतीयोग्य जमिन प्लानिङ गरी सोही क्षेत्रबाट राजमार्ग निर्माण गर्नका लागि कमलामाई नगरपालिकाले अगुवाई गरेको छ। फाटमा जथाभावी घरहरू समेत निर्माण भइरहेको र व्यवस्थित सहरीकरण गर्ने भन्दै लहलह धान फल्ने खेत प्लानिङ गर्ने योजना कमलामाई नगरपालिकाले अगाडि सारेको हो।

कमलामाई नगरपालिका ४ को महादेवफाटमा रहेको ३ हजार ९ सय ३० रोपनी अर्थात २ सय ९५ बिघा जमिनलाई व्यवस्थित प्लानिङ गर्ने योजना अगाडि सारिएको कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले जानकारी दिए। हामीले सडक मात्रै लैजाने भनेका होइनौ, त्यहाँका स्थानीयको सहमतिमा जग्गा समेत प्लानिङ गर्छौ, नगरप्रमुख खत्रीले भने, ‘पहिले जग्गा प्लानिङको काम अगाडि सुरु हुन्छ त्यसपछि राजमार्गको काम हुन्छ।’

सिन्धुलीको धुरा बजार हुँदै निर्माण हुने भनिएको हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी) राजमार्गले धुराबजार क्षेत्रमा बढी क्षति हुने भन्दै स्थानीयले स्थानीय निर्वाचन तथा संघको निर्वाचनमा बजार बचाउनेलाई मत दिने बताएपछि हालका कमलामाई नगरप्रमुख खड्गबहादुर खत्री र सिन्धुली क्षेत्र नं. २ का सांसद हरिबोल गजुरेलले बजार बचाउने आश्वासन दिएकाले सोही अनुसार रुट परिवर्तन गर्न खेतीयोग्य जमिन प्लानिङ गर्न लागिएको स्थानीयको आरोप छ। तर जनप्रतिनिधिले भने फाटको जग्गामा धमाधम घरहरू बन्दै गएकाले व्यवस्थित गरी राजमार्ग र  प्लानिङको काम सँगसँगै गर्ने बताएका छन्। 

 

प्रकाशित: ५ आश्विन २०७५ ०८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App