५ वैशाख २०८१ बुधबार
अन्य

'अधिकांश मुद्दा मेलमिलापबाटै समाधान गरेका छौं'

अन्जनादेवी मधिकर्मी, उपप्रमुख, मध्यपुरठिमी नगरपालिका

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जसको कारणले जनप्रतिनिधिसँग जनताका धेरै चाहना र आकांक्षा छन् । हामीसँग पनि जनताको धेरै अपेक्षा छन् । जनप्रतिनिधि भएको एक वर्ष बितिसक्यो । एक वर्षको अवधिमा धेरै काम गर्न सकेका छैनौं । हामी सिक्दै अघि बढिरहेका छौं । त्यसको बावजुत पनि सडक, ढल, खानेपानीको पाइप बिछ्याउने, मठमन्दिर मर्मतसम्भार तथा निर्माणको कामलाई प्राथमिकतामा राखेर गरेका छौं । कानुन अभावले केही जटिलता उत्पन्न भएकै हो । त्यसको साथसाथै सरकार सञ्चालन ऐन–२०७४ पनि ढिलो नै आयो । त्यसको बावजुत पनि स्थानीय तहले विकासको योजनाहरूलाई उपभोक्ता समिति गठन गरेर अघि सारेका छौं । महिलाहरूलाई स्वरोजगार बनाउन सिलाइकटाई, केक, ब्युटीपार्लर, अचार, जुत्ता, साबुनलगायत सीपमूलक तालिम सञ्चालन गरेर उनीहरूलाई स्वरोजगार बनाउनेतर्फ अगाडि सारेका छौं । प्रत्येक वडामा एक वा दुई महिला समूह गठन गरेर व्यावहारिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गरेर क्षमता अभिवृद्धि गरेका छौं।

तपाईँ न्यायिक समिति संयोजक हुनुहुन्छ ? कति मुद्दा आएका छन्?
निर्वाचित भएर आएसँगै न्यायिक समितिलाई सक्रियपूर्वक अघि बढाएका छौं । तीन सदस्यीय न्यायिक समिति बनाएर काम गरिरहेका छौं । न्यायिक समितिमार्फत् जनतालाई स्वच्छ र पारदर्शी न्याय दिलाउन दिलोज्यान दिएर लागेकी छु । नगरपालिकामा २० थान पुराना मुद्दा परेका छन् ।  तीमध्ये ६ मुद्दा मेलमिलापबाटै टुंगाएका छौं । मुद्दा दर्ता भएपछि सम्बन्धित व्यक्तिलाई एक्ला–एक्लै वा सामूहिक रूपमा छलफल गरेर सकभर मेलमिलापबाटै टुंगो लगाउँछौं । यसअघि मैले नगरक्षेत्रमा भएका समस्याको निरूपण गर्दै आइरहेकाले पनि काम गर्न केही अप्ठेरो छैन । नगरपालिकामा कानुनी अधिकृतको व्यवस्था छ । त्यसैले आवश्यक कुरामा कानुनी अधिकृतसँग समन्वय गरेर काम गर्दै आइरहेका छौं।

कस्ता मुद्दा आउने रैछन नि?
मुख्य गरी नगरपालिकामा देवानी मुद्दा मात्रै दर्ता हुन्छन् । फौजदारी मुद्दा त अदालतमा नै दर्ता हुन्छन् । घर–जग्गा किचलो, सम्बन्ध विच्छेद, चार किल्ला विवाद, झै–झगडा लगायतमा मुद्दा आउने गर्छन् । अधिकांश मुद्दा मेलमिलापबाटै टुंगाउने प्रयास गर्छाैं । धेरै मुद्दा मध्यस्थकर्तामार्फत् नै अघि बढाइरहेका छौं । दुवै पक्षका मान्छेलाई सम्झाइबुझाई गरेर अधिकांश मुद्दा मेलामिलापबाटै समाधान गर्न सफल भएका छौं।

अन्य नगरपालिकामा मेयर र उपमेयरबीच विवाद चर्काे देखिन्छ, तपार्इँको नगरपालिकामा कस्तो छ?
फरक–फरक राजनीतिक पार्टीबाट निर्वाचित भएर आएकाले नगरपालिकामा मेयरसा’बसँग केही विवाद छ। मेयरसा’बले उपमेयरसँग समन्वय नगरीकन मनोमानी ढंगले काम गर्ने प्रवृत्तिको कारणले विवाद भएको हो। नगरपालिकाको स्थापना दिवस छुट्टाछुट्टै कार्यक्रम गरेर मनाएका थियौं । संविधानले नै मेयर र उपमेयरको जिम्मेवारी र दायित्व स्पष्ट साथ किटान गरेको छ । तैपनि सामान्य कुरामा समन्वय गरेर अघि बढेमा दुवैलाई फाइदा नै हुने गर्छ। उपमेयर महिला हुन् । उनीहरूले केही गर्न सक्दैनन् भन्ने भावनाकै कारणले समस्या आएको हो । त्यसैले मेयर–उपमेयर नमिल्दा समस्या धेरै हुने भएकाले अब दुवै मिलेर काम गर्न जरुरी भइसक्यो।

नगर क्षेत्रमा भइरहेका विकास निर्माण योजनाको अनुगमनकर्ता समेत हुनुहुन्छ, के–के समस्या रहेछन्?
स्थानीय तहका भएका विकास निर्माणको कामको अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी उपमेयरको काँधमा आएको छ । त्यसैले योजना अनुगमनलाई तीव्रतासाथ अघि बढाएकी छु । पुराना योजनाहरू तोकिएको लक्ष्य अनुसार नै सम्पन्न नहुने समस्या देखिएको छ । ठेक्का प्रक्रिया अघि बढ्ने तर, समयमा नै सम्पन्न नहुने समस्याबाट अधिकांश योजना गुज्रिएका रहेछन् । नगरस्तरीय योजनामा जनताको सहभागिता अत्यन्तै न्यून छ । विकास निर्माण काममा २० प्रतिशत उपभोक्ता र ८० प्रतिशत नगरपालिकाले खर्च गर्नुपर्ने प्रावधान छ । तर, उपभोक्ताले २० प्रतिशत रकम पनि खर्च गर्न आनाकानी गरिरहेका छन् । जसको कारणले विकास निर्माणले गति लिन सकिरहेको छैन । जनप्रतिनिधि आएपछि अघि बढाइएका योजनाहरू योजनावद्धरूपमा अघि बढिरहेको छ । समयमा नै सम्पन्न गर्न निर्देशन दिइसक्यौं ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत वर्ष ९४ करोड रूपैयाँ बजेट विनियोजन गरेका थियौं । गत आवमा ६० प्रतिशत बजेट खर्च गर्न सक्यौं । अन्य विविध कारणले ४० प्रतिशत बजेट खर्च हुन सकेन । चालू आवको लागि एक अर्ब १८ करोड रूपैयाँ बजेट विनियोजन गरेका छौं । प्रत्येक वडाको लागि एक करोड ५१ लाख रूपैयाँको दरले बजेट विनियोजन गरेका छौं । नगरपालिकाले सडक, ढल, खानेपानी, वडा कार्यालयको भवन निर्माणका लागि मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं।

नगर क्षेत्र कस्तो बनाउँदै हुनुहुन्छ?
नगर क्षेत्रमा रहेका सम्पूर्ण महिलालाई आत्मनिर्भर बनाउँदै स्वरोजगार बनाउने लक्ष्यसहित काम गरिरहेका छौं । अहिले महिलाहरूले विभिन्न क्षेत्रमा सक्रिय रहेर जीविकोपार्जनको लागि विभिन्न क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । नगरपालिकाले नगरक्षेत्रमा रहेका सम्पूर्ण सडकमा ढल तथा सडक कालोपत्रे गर्ने योजना बनाएका छौं । एक घर एक खानेपानी धारो बनाउने योजना अघि सारेका छौं । सम्भवत पाँच वर्षभित्रै पूरा गर्नेछौं । वडामा रहेका सार्वजनिक जग्गामा व्यवस्थित र आकर्षक पार्क बनाउने लक्ष्य राखेकी छु।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ५ आश्विन २०७५ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App