coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाजिबमाथि थप २५ अभियोग

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई थप २५ बिषयमा अनियमितता गरेको अभियोग लगाइएको छ।

उनीविरुद्ध करोडौं डलरको एउटा भ्रष्टाचारकाण्डमा सम्पत्ति शुद्धीकरणसम्बन्धी २१ र प्रधानमन्त्रीको पदमा हुँदा अधिकार दुरुपयोग गरेको भन्दै चारवटा थप अभियोग दर्ता भएका छन्।

बिहीबार पूर्वप्रधानमन्त्री रजाकलाई एउटा अदालतमा राज्यकोषबाट सञ्चालित ‘वनएमडिबी’ परियोजनाबाट ५५.६ करोड डलर आफ्नो बैंक खातामा सारेको अभियोग लगाइएको हो। यद्यपि रजाकले भने २५ वटै अभियोग अस्वीकार गर्दै आफू दोषी नभएको दाबी गरेका छन्। आरोपहरु लगाइएपछि बिहीबार पूर्वप्रधानमन्त्री रजाकले अदालत बाहिर आयोजित पत्रकार सम्मेलन मार्फत् आफू दोषी नरहेको दाबी गरेको बिबिसीले जनाएको छ।

‘मलाई विश्वास छ की मैले सफाई पाउनेछु, कानुनको शासन अनुसार कामहरू हुनेछन्,’ पत्रकार सम्मेलनमा उनले बताए। पूर्वप्रधानमन्त्री नाजिबले आफू सत्यको पक्षमा लडिरहने र भगवानले सत्यलाई जिताउने विश्वास पनि व्यक्त गरे।     

करोडौं डलर उनको बैंक खाताबाट लेनदेख गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। बिहीबार अदालतमा पेश गरिँदा नाजिबका समर्थकहरुले क्वालालम्पुर अदालत अगाडी उनको पक्षमा प्रदर्शन गरेका थिए । उनलाई लगाइएका आरोपहरुमध्ये केही आरोप गम्भीर प्रकृतिको भएको बताइएको छ। यिनै आरोपलाई निर्वाचनका समय प्रचार गरिएका कारण गत मे महिनामा भएको संसदीय चुनावमा पनि उनी पराजित भएका थिए। उनलाई वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले पराजित गरेको हो। विगतमा नाजिवकै संरक्षक रहेका ९३ बर्षिय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै पुनः राजनीतिमा फर्किएका थिए । पूर्वप्रधानमन्त्री रजाकलाई राज्यको लगानी कोषको करोडौं रकम अनियमितता गरेको आरोपमा बुधबार पक्राउ गरिएको थियो। नाजिब र उनका सहकर्मीहरुले राज्यकोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो। गत अगस्ट महिनामा रजाकविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा अभियोग लगाइएको थियो । प्रधानमन्त्रीमा पदासीन हुँदा रजाक तथा उनका परिवारका सदस्य र केही सहयोगीहरुले ठूलो रकम हिनामिना गरेको आरोप लागेको छ। उनीहरूले कलात्मक बस्तुदेखि देशविदेशमा घरजग्गासम्म किनेको बताइन्छ।

क्वालालाम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवं रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडिबी स्थापना गरेका थिए। तर सन् २०१५ को आरम्भतिर बैंक एवं बन्डमा लगानी गरेकालाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो । त्यति बेला नै वाल स्ट्रिट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी बैंक खाताहरुमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो । तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन् । सो कोषमा करोडौं डलरको लेखाजोखा नरहेको बताइन्छ।

सत्तारूढ हुँदा सम्बन्धित निकायहरुले रजाकलाई सफाइ पनि दिएका थिए। तर उनीविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको छ। निर्वाचनपछि उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको थियो। पछि जुलाई महिनामा उनलाई पक्राउ गरिएको थियो। त्यसअघि रजाक र उनकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरुमा प्रहरीले छापा मारेको थियो।

प्रकाशित: ५ आश्विन २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App