coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बिपीलाई महेन्द्रको चिठी

खड्गमानसिंह वि.सं. १९८७ देखि २००७ सालसम्म राणाशासनविरुद्ध विद्रोह गर्दा २० वर्ष जेल बसे । ‘जेलमा बीस वर्ष’ पुस्तकमा उनले भद्रशमशेरको नामबाट ‘भद्रगोल जेल’ नामकरण भएको उल्लेख गरेका छन् । कर्णेल भद्रशमशेरलाई श्री ३ जुद्धशमशेरले थुनेको घर हो– भद्रगोल । ‘राणाकालमा भद्रशमशेरलाई उनका नोकरचाकर, धाई, सुसारे आदिसहित कैदमा राख्नुपर्दा भद्रगोल बनाइएको रहेछ । (देवेन्द्र गौतम, अनुसन्धानभित्रको अनुसन्धान)।

खड्गमानसिंहका अनुसार जुद्धशमशेरले इन्द्रचोकछेउकी एउटी सुन्दरीलाई झ्यालबाट चिहाइरहेको अवस्थामा देखेपछि ‘त्यो केटी चाहियो’ भनेछन् । उनी रहिछन्– त्यसबेलाका एकमात्र मेडिकल डाक्टरकी छोरी । सिपाहीहरू केटी घिसार्न जाँदा झडप भएछ । ती युवतीको अस्मिता बचाउन भद्रशमशेरले आफ्ना घरमा लुकाएछन् । त्यसैले उनी पक्राउ परेको कुरा पुस्तकमा उल्लेख छ।

राणाकालको सजीव इतिहास हेर्ने आँखीझ्याल हो– ‘जेलमा बीस वर्ष’ पुस्तक । त्यसका लेखक सरल थिए– खड्गमानसिंह (बस्न्यात) । साइकल चढेर हिँड्थे । डिल्लीबजार चारखाल नजिकै एकजना मित्रले परिचय गराए पंक्तिकारसँग । ‘उहाँ नै हुनुहन्छ खड्गमान दाइ ।’ विनम्रतापूर्वक मैले नमस्कार गरेँ । ‘भोलि घरमै बसेर लामो कुरा गरौँला है।’

बाइसौँ प्रधानमन्त्री बिपीदेखि एकचालीसौँ प्रधानमन्त्री केपीसम्म आइपुग्दा पनि नेपाली राजनीतिका विकार बढिरहेकै छन्।

विद्यार्थी, लेखक, पत्रकार, अन्वेषक आदिले सत्पात्रबाट धेरै कुरा सिक्न सक्छन् । पुराना राजनीतिज्ञ श्रीभद्र शर्मा (नेपाली कांगे्रसका पूर्वमहामन्त्री) ५०–६० साठी वर्ष पुराना कुरा ‘रिठ्ठो नबिराइ’ सुनाउँथे । आफूले ‘जयतु संस्कृतम्’ आन्दोलनबाट राजनीति सिकेको र आफ्नो विवाहमा बिपी कोइराला, गणेशमान सिंहलगायतका नेता जन्ती गएको कथा सुनाउँथे उनी । त्यस्तै, शुक्रराज शास्त्रीलाई टेकुमा झुण्ड्याएका दिन घटनास्थल पुगेका पुराना राजनीतिज्ञ हुन्– प्रयागमानसिंह सुवाल । उनी वि.सं. १९९७ देखिका घटना सरसर्ती सुनाउन सक्छन् । उनी पनि शुक्रराजलाई झुण्ड्याएको देखेपछि आफू राणाविरोधी भएर २००७ सालको क्रान्तिमा सक्रिय रहेको बताउँछन् भने बिपी र राजा महेन्द्रको सम्बन्धबारे धेरै कुरा थाहा पाउने नेतामध्येका एक हुन्।

राजा महेन्द्रले बिपीलाई एउटा चिठी पठाएका रहेछन् २०२७ सालतिर । बिपी कोइराला सारनाथ (वनारस) मा निर्वासित जीवन बिताइरहेका थिए त्यसबेला । महेन्द्रको चिठी बोकेर श्रीभद्र शर्मा वनारस पुगेछन् । घर/परिवार र स्वास्थ्यका कुरा सकिएपछि बिपीले भनेछन्–‘राजनीतिक कुरा यो घरभित्र नगरौँश्रीभद्र । पर सार्वजनिक बगैँचमा जाऊँ, वात मार्न । यहाँ त खतरा छ । ती मेरा बडीगार्डहरू सिआइडी हुन्।”

भारतीय गुप्तचर संस्था रअका कर्मचारीलाई ‘अंगरक्षक’ बनाएर बिपीको निगरानी गरिरहेकी थिइन्, भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले । घरभित्र वार्ता टेप गर्ने प्रविधि छ भन्ने बिपीलाई शंका रहेछ । श्रीभद्रले राजा महेन्द्रको चिठी दिएबिपीलाई । महेन्द्रले लेखेको चिठीमा ‘आफूले दलीय प्रणालीमा आधारित संविधान घोषणा गर्ने तयारी गरिरहेको र नेपाल आएर बिपीले सहयोग गरुन् भन्ने सन्देश थियो’ भन्छन्श्रीभद्र । महेन्द्रको चिठी पढ्दा बिपी भावुक देखिन्थे । राजा महेन्द्र र बिपी एकअर्काको क्षमताबारे अनभिज्ञ थिएनन् भन्ने कुरा बिपीको ‘आत्मवृत्तान्त’ (जीवनी) लगायतका अभिव्यक्तिबाट स्पष्ट हुन्छ । २०२८ साल फागुन ७ गते राजा महेन्द्र बहुदलीय व्यवस्था घोषणा गर्ने तयारी गर्दै थिए तर दुर्भाग्यवश, २०२८ साल माघ १७ गते महेन्द्रको स्वर्गवास भयो, ५२ वर्षको उमेरमा।

अध्येताहरूका लागि त्यो संविधान अध्ययन र अभिरुचिको विषय बन्न सक्छ । महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवालीलाई कानुनमन्त्री बनाएर संविधान ड्राफ्ट गर्न लगाएका थिए महेन्द्रले । पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रको व्रतबन्ध भोजमा शम्भुप्रसादका छोरा दीपक ज्ञवालीसँग यसबारे कुरा भयो । उनले भने– ‘मैले पनि त्यो संविधानको चर्चा सुनेको हुँ तर सबै कुरा गोप्य रहने हुँदा त्यसको ड्राफ्ट (मस्यौदा) पढ्न पाइएन ।’ सो संविधानको ३–४ प्रति पुस्तक आकारमा तयार पारिएको थियो भन्छन्, दरवारका पुराना मान्छे । टाइपिस्ट खोज्दै जाँदा उनको पनि मृत्यु भइसक्यो भन्ने खबर पाइयो।

राजा महेन्द्रले दलहरूले बाटो बिर्सिए भने देश र जनता असुरक्षित हुन्छन् भनेका थिए । त्यसैले, जतिजति संकट बढ्छ, हामी ती राष्ट्रनायकलाई सम्झन्छौँ।

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी नेपाली कांग्रेसका पूर्वमहामन्त्री हुन् । २०१७ साल मंसिर मसान्तसम्म उनी बिपीका प्रियपात्र थिए । पछि उनले राजा महेन्द्रको नेतृत्वमा दलबिहीन पञ्चायती व्यवस्थालाई समर्थन गरे । गिरीले बूढानीलकण्ठस्थित उनकै निवासमा यो पंक्तिकारसँग भएको लामो कुराकानीमा भनेका थिए– ‘राजा महेन्द्रबाट २०१७ सालदेखि १० वर्षसम्म निर्दलीय परिपाटी सञ्चालन गरिबक्सेपछि बहुदलीय संविधान घोषणा गर्ने तयारी गरिबक्सेको थियो । त्यसबेला ‘डाक्टरको राय के छ ?’ भनेर मलाई पनि सोधनी भयो । मैले स्पष्ट विन्ती गरेँ–‘सरकार, मैले त बहुदलीय व्यवस्था नेपालमा अफापसिद्ध हुन्छ भन्ने कुरा आत्मसात् गरेर नै निर्दलीय व्यवस्थालाई उचित मानेको हुँ र यो विश्वास मेरो यथावत छ । सरकारबाट बहुदलीय व्यवस्था बक्सिन्छ भने त्यो सरकारको ‘प्रिभिलेजको कुरा’ हो तर सेवकले बहुदलीय व्यवस्थाको समर्थन गर्दैन, क्षमा बक्सियोस् । किनभने बहुदलीय सिस्टममा विदेशीले खेल्ने ठाउँ रहन्छ।’

बिपीलाई २०१७ साल पुस १ गतेदेखि सुन्दरीजल बन्दीगृहमा राख्ने राजाले दक्षिण एसियाको राजनीति र भारतीय कुटिल षड्यन्त्र राम्ररी बुझेका थिए । सोही  कारण नेपाली कांग्रेस र वामपन्थी दलका प्रमुख नेताहरूसँग सुमधुर सम्बन्ध कायम गर्न उनले बहुदलीय व्यवस्था घोषणा गर्ने तयारी गरेको हुनसक्छ भन्ने कुरा पूर्वप्रधानमन्त्री सूर्यबहादर थापाले एउटा अन्तर्वार्तामा उल्लेख गरेका छन्।

इतिहासको ज्ञान, राजनीतिका हरेक पक्ष, कूटनीतिको मर्म र राजकाजका अँध्यारो–उज्यालो सबै बुझेका नेपालका अधिकांश नेता मरिसके । टंकप्रसाद आचार्य, रामहरि शर्मा, कीर्तिनिधि बिष्ट, केआइ सिंह सुन्दरराज चालिसे, खड्गमानसिंह आदि दिवंगत भइसके । बिपीले बोलेका कुरा सबै संकलन गरेर गणेशराज शर्माले पुस्तक नै तयार पारे तर डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी अािदका सबै संस्मरण बाहिर आउन सकेनन् । एउटा दैनिक पत्रिकाका लागि यो पंक्तिकारलाई दिएको अन्तर्वार्तामा डिल्लीरमण रेग्मीले भनेका थिए– वनारसमा मनमोहन अधिकारी कलेज पढ्थे । म उनलाई ट्युसन पढाउँथे । मनमोहन सानैदेखि परिपक्व स्वभावका थिए।

प्राध्यापक केशरबहादुर केसी (वि.सं. १९६४–२०५३) सँग अन्तर्वार्ता लिँदा उनी धर्म, संस्कृति, इतिहास, कूटनीति, राजनीति र शिक्षा पद्धतिका ठूला ज्ञानी हुन् भन्ने कुरा बुझ्न गाह्रो परेन । महाकवि लक्ष्मीप्रसाद देवकोटाका समेत गुरु थिए उनी । वीरशमशेरका प्रियपात्र कर्णेल फौदसिंहका सन्तति हुन् केसी । कलकत्ता विश्वविद्यालयमा भर्ना हुन जाँदा अंग्रेज प्रिन्सिपलले भनेछन्– ‘केशरबहादुर खट्री छेट्री कति लामो नाम हो तिम्रो ? मैले घटाइदिएँ तिम्रो नाम । तिमी आजदेखि केशरबहादुर केसी । नो खट्री, नो छेट्री...।’ ह्विलचेयरमा बसेका वृद्ध केसीले कथा सुनाए– ‘म नेपालको पहिलो के.सी. ।’ उनले पनि राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रका पालासम्म धेरै काम गरे । के.सी. भन्थे– ‘महेन्द्र र बिपी दुवैको प्रतिभा गज्जबको थियो ।’ किरातार्जुनीय ग्रन्थ (मूल लेखक भारवी) संस्कृतबाट अंग्रेजीमा अनुवाद गर्ने के.सी. अंग्रेजी, संस्कृत र नेपाली भाषाका विद्वान् थिए । एउटा कालखण्ड थियो, जुनबेला नेपालका कैयन् राजनेता र राजनीतिज्ञ अन्तर्राष्ट्रियस्तरका नेतासँग गहन छलफल गर्न सक्थे । इटलीका प्राध्यापक जोसेफ टुचीसँग बहस गर्न सक्ने क्षमता थियो केसीको।

मातृकाप्रसाद कोइराला त्यस्तै नेता थिए । विनोदप्रिय र रसिक थिए उनी । नेपाली कांग्रेसका प्रथम सभापति ‘मातृकाबाबू’ आज कांग्रेसीजनको स्मृतिमा पनि छैनन् । रमाइलो छ, मातृकाबाबूको कथा । भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसादको पटनास्थित घरमा डेरा गरेर बसेका मातृकाबाबू नेपालका सर्वसाधारणबाट प्रधानमन्त्री हुने प्रथम व्यक्ति हुन् । कुनै बेला उनलाई राजेन्द्रप्रसादले बिहार राज्य (भारत) को कांग्रेस पार्टीको अध्यक्ष बनाएका थिए । त्यसबेला उनका भाइ विश्वेश्वर (बिपी) समाजवादी पार्टीमा सक्रिय थिए । प्रधानमन्त्री भइसकेका व्यक्ति मातृका २०१७ सालतिर अमेरिकामा नेपाली राजदूत भएर बसे । बानेश्वरस्थित उनको निवासमा कोइरालाले पंक्तिकारसँग भनेका थिए– ‘म बिपीका बारेमा धेरै बोल्न चाहन्न । मलाई मेरोबारेमा सोध्नुहोला।

बाइसौँ प्रधानमन्त्री बिपीदेखि एकचालीसौँ प्रधानमन्त्री केपीसम्म आइपुग्दा पनि नेपाली राजनीतिका विकार बढिरहेकै छन् । सत्य कुरा स्पष्ट बोल्नुको साटो जिम्मेवार व्यक्तिहरू उल्टो कुरा गरेर गैरजिम्मेवार र जनभावनाविरुद्ध बाटो हिँडिरहेका छन् । उनीहरू ठाडै सत्य अस्वीकार गर्न सकिरहेका छैनन् तर नकारात्मक धारणा प्रकट गरिरहेका छन् । शास्त्रमा भनिएको छ– ‘मौनं काल विलम्वश्च, भृकुटि भूमि दर्शनम् । प्रयाणान्य वार्ता च, न कार षट लक्षण्मम् ।’ (मौन बसेमा, भोलिपर्सि भनेमा, आकशतिर हेरेमा, भुइँतिर हेरेमा, हिँड्न खोजेमा र अरुसँग कुरा गर्न थालेमा उसले कुरा टार्न खोज्दैछ भन्ने बुझ्नुपर्छ।)

जनताले भोग्नुपरेका जटिल समस्या बितेका १० वर्षमा झन् बढेको देखिन्छ तर जिम्मेवार नेता र उच्चपदस्थ कर्मचारीहरू हरेक गम्भीर विषयमा आलटाल गर्दै अनुत्तरदायी व्यवहार देखाइरहेका छन् । विकासको गति कछुवाको तालमा छ भने ससाना कुरामा पनि जनताले कष्ट भोग्दै न्याय माग्न राजधानीसम्म आउनुपर्ने बाध्यता देखिन्छ।

अमेरिकी प्राध्यापक नोम चोम्स्कीले यस्ता विकृतिलाई असफल राष्ट्रको संकेत भनेका छन् । यस्तै युधिष्ठिरले बहुसंख्यक जनताको मुहार अँध्यारो छ भने त्यसलाई राष्ट्रपतनका चौधमध्ये एक प्रमुख कारण भनेका छन् । असुरक्षा, स्वतन्त्रताको हरण, जनतामा व्याप्त निरासा, बढ्दो बेरोजगारी, सिमानामा बढेको विदेशीको थिचोमिचो, राजनीति र कूटनीतिमा बाह्य हस्तक्षेप, युवावर्गमा देखिएको चरम विद्रोह, भ्रष्टाचार, ढिलासुस्ती र अराजकता ‘उपलब्धि’ होइनन् । राष्ट्रको सुदूर भविष्यको चिन्ता गर्ने राजा महेन्द्रले दलहरूले बाटो बिर्सिए भने देश र जनता असुरक्षित हुन्छन् भनेका थिए । त्यसैले, जतिजति संकट बढ्छ, हामी ती राष्ट्रनायकलाई सम्झन्छौँ । किनभने नेपाल हिजोभन्दा आज असुरक्षित हुँदै गएको छ।

प्रकाशित: ५ आश्विन २०७५ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App