८ वैशाख २०८१ शनिबार
समाज

टिकट बुकिङ् नखुल्दा सर्वसाधारण मर्कामा : बसपार्क पुगेका यात्रु रित्तो हात फर्किदै

फाइल फाेटाे

काठमाडौं – आजदेखि खुल्ने भनिएको दशैंका लागि अग्रिम टिकट बुकिङ् नखुल्दा सर्वसाधारण मर्कामा परेका छन्। नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क पुगे पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ।

यसअघि सरकार र यातायात व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण अग्रिम टिकट बुकिङका लागि यात्रुहरु नयाँ बसपार्क पुगेका थिए।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिए। उनले टिकट लिन आएका थुप्रै यात्रु बसपार्कबाट फिर्किएको बताए।

आजदेखि अग्रिम टिकट बुकिङ खुल्नुपर्नेमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेपछि सर्वसाधारण समस्यामा परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले चाडवाडको मुखमा आएर १० दिनको बीचमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायी तथा यात्रु मारमा परेको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्मका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको जानकारी दिए।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले असोज २ गते नै विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए अग्रिम बुकिङ खुला नगर्ने घोषणा गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७५ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App