६ वैशाख २०८१ बिहीबार
अन्य

पहिरोले १३ परिवार विस्थापित

बुढानिलकण्ठ नगरपालिका–५ टुसालडाँडामा गएको पहिरो। तस्बिर : श्याम राई

बुढानिलकण्ठ नगरपालिका–५ का स्थानीय चित्रबहादुर बस्नेतले टुसालडाँडामा पहिरो जान्छ भनेर कल्पनासमेत गरेका थिएनन्। पहिरो नजाने र बलियो जमिन ठानेर उनको परिवारले त्यहाँ घडेरी किनेर घर बनायो । तर, गएको भदौ १० गते बस्नेत परिवार सोच्दै नसोचेको विपत्तिमा प-यो।

घरमाथिबाट आएको पहिरोले घर चिराचिरा पारिदियो । पहिरो गएलगत्तै उनको परिवार त्यहाँबाट बसाई सरेको छ। ‘हामीले यस्तो हुन्छ भनेर सोचेका पनि थिएनौँ,’ उनले सुनाए, ‘अचानक पहिरो आएपछि उठेर हिँड्नुपर्ने बाध्यता भयो।’

पहिरोका कारण उनको घरभित्र भएको सबै सामान पुरिएको छ । केही सामान काम लाग्ने भए पनि धेरैजसो सामान टुटफुट भएको उनले बताए । पहिरोका कारण बस्नेतको घर भएको क्षेत्रको करिब दुई सय मिटर जमिन भासिएको छ। बस्नेतको मात्रै होइन, त्यहाँका डेढ दर्जन बढी स्थानीयको समस्या उस्तै छ । ऋण गरेर जग्गा खरिद गरेर घर बनाएको ठाउँमा पहिरो गएपछि उनीहरू आश्रय जीवन बिताउन बाध्य छन्।

पहिरोले टुसालडाँडा क्षेत्रका केही घरमा क्षति पु-याएपछि स्थानीयले घर छाडेर हिँडेका छन् । उक्त क्षेत्रमा पहिरो खस्ने क्रम रोकिएको छैन।

घर मात्रै होइन, पीच सडक चिरा–चिरा परेको छ । सडक बिग्रिएपछि यातायात ओहोरदोहोरमा समेत अवरोध खडा भएको छ । अवरुद्ध सडक खोल्न स्थानीयले सरोकारवाला निकाय समक्ष माग गरे पनि सडक अझै खुल्न सकेको छैन।

पहिरोका कारण परिवारले नै घर छाडेर अन्यन्त्रै गएर बस्नुपर्ने बाध्यता भएको पीडित निर्मला तामाङले बताइन् । उनले घरभाडाका लागि वडा कार्यालयले २५ हजार रूपैयाँ दिएको बताइन् । पहिरोले उनको घरमा आंशिक क्षति पुगेको छ । ‘पानी पर्दा पहिरो आउँछ की भन्ने डर हुन्छ, त्यसैले पनि रातभर निन्द्रै लाग्दैन्,’ उनले सुनाइन् । टुसालडाँडा क्षेत्रका अधिकांश घर जोखिममा छन् । खुकुलो माटोमा वर्षातको पानी छिरेकोले पहिरो गएको हुन सक्ने स्थानीयबासी दिलबहादुर तामाङको तर्क छ । ‘अर्को कारण प्लटिङ गरेर घर बन्नु पनि हो,’ उनले भने, ‘वर्षाको कारण सगँसगै अव्यवस्थित ढंगले जग्गा प्लटिङ गर्नाले पहिरो आउने अनुमान गरिएको छ।’

पहिरोले टुसालडाँडा क्षेत्रका केही घरमा क्षति पु-याएपछि स्थानीयले घर छाडेर हिँडेका छन् । उक्त क्षेत्रमा पहिरो खस्ने क्रम रोकिएको छैन।

कतिपय भने त्यही बस्न बाध्य भएको बताउँछन् । अव्यवस्थित रूपमा जग्गा प्लटिङ भइरहेकाले पहिरो गएको स्थानीयको अनुमान छ।

बुढानिलकण्ठ नगरपालिका–५ का वडाध्यक्ष विजय लामाले पहिरोका कारण ४ घर पूर्ण क्षति भएको र १३ परिवार विस्थापित भएको जानकारी दिए । उनका अनुसार वडाले पहिरो गएपछि त्यहाँका स्थानीयलाई सुरक्षित ठाउँमा सारेको छ । पहिरो गएलगत्तै उक्त क्षेत्रमा भूगर्भविद्को टोली पनि पुगेको थियो । अवलोकनपछि टोलीले उक्त क्षेत्र जोखिम रहेकाले सुरक्षित रहन आग्रह पनि गरेको थियो । ‘यसबारे अध्ययन भइरहेको छ, हामीले एक हप्ताभित्रमा सबै प्रतिवेदन बनाएर सम्बन्धित निकायमा पेस गर्छौं,’ वडाध्यक्ष लामाले भने, ‘त्यसपछि समस्याको समाधानतिर लाग्नेछौं ।’ प्रारम्भिक अनुसन्धानले अव्यवस्थितरूपमा जग्गा प्लटिङ गरिँदा पहिरो परेको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले बताए । ‘विस्तृत अनुसन्धानपछि मात्रै यसको खास कारण पत्ता लाग्नेछ,’ उनले भने, ‘यसको अनुभवी भूगर्वविद्बाट अनुसन्धान गराउन जरुरी छ।’

जलप्रदूषण नियन्त्रण शाखा, जिल्ला दैविक प्रकोप, गृह मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत निकायहरूलाई बोलाएर अवलोकन गराए पनि आर्थिक सहयोगको सवालमा केही सल्लाह सुझाव नआएको उनको गुनासो छ।

भूमाफियाले भिरालो ठाउँमा समेत प्लटिङ गरेर घडेरीको रुपमा बिक्री वितरण गर्दा पहिरोको समस्या आएको स्थानीयको दाबी छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश पोखरेलका अनुसार अव्यवस्थित प्लटिङका कारण जमिन खुकुलो हुँदा पहिरो गएको अनुसन्धानले देखाएको छ । ‘पर्खाल बनाउँदा पानीको निकास बनाइन्,’ उनले भने, ‘त्यसैले पहिरो गएको हो।’ टुँसालडाँडा बस्नका लागि जोखिमपूर्ण रहेको उनले बताए।

प्रकाशित: ५ आश्विन २०७५ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App