coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पेट्राेलियम ढुवानीमा चालकको अवरोध

काठमाडौं - भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकरचालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ। ट्यांकर चालकले अत्यावश्यक सेवासम्बन्धी कानुन प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरेका हुन्। बुधबार इन्धन ढुवानी नभएपछि बिहीबार राजधानीका खुलै रहेका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोल भर्ने सवारीसाधनको लाइन लागेको थियो भने केही पम्प बन्द थिए।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारसँगको माग देखाएर चालकले ढुवानीमा अवरोध गर्नु गैरजिम्मेवारीपन भएको बताए। उनले भने, ‘ढुवानीमा अवरोध गर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।’ नेपाल आयल निगमको थानकोट डिपोले बुधबार कम इन्धन वितरण भए पनि बिहीबार अन्य दिनजस्तै डिजेल र पेट्रोल पम्पमा पठाएको जनाएको छ। उपत्यकामा नियमित रुपमा जानेजति नै पेट्रोल र डिजेल आपूर्ति गरेको थानकोट डिपो प्रमुख नेत्र काफ्लेले बताए। बुधबार बिदाको दिन परेकाले पर्याप्त इन्धन बजारमा नजाँदा अभाव भएको निगमको दाबी छ।

बिहीबार थानकोट डिपोबाट ६ सय किलोलिटर पेट्रोल र ५ सय ५० किलोलिटर डिजेल बजारमा पठाएको निगमले जनाएको छ । थानकोट डिपोमा ३ हजार किलोलिटर पेट्रोल र ५५ सय किलोलिटर डिजेल स्टक छ। यो परिमाणले पाँच दिनलाई पुग्ने काफ्लेले बताए। ‘उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन,’ काफ्लेले भने, ‘नियमित रुपमा आपूर्ति गर्छौं।’ राजधानीका पम्पमा पेट्रोल अभाव भएपछि निगमले नेपाली सेना, सशस्त्र प्रहरी, साझाका ट्यांकरमार्फत ढुवानी गरेको थियो। उपत्यकामा भारतबाट दैनिक ७ सयदेखि ८ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात हुन्छ। बिहीबार भने चालकको आन्दोलनका कारण एक सय किलोलिटरमात्र आयात भएको छ। बुधबार २ सय १० किलोलिटर आयात भएको थियो। लगातार दुई दिन आयात नभएपछि पेट्रोल स्टक घटेको हो।

बुधबार स्वतन्त्र चालक संघर्ष समितिको आह्वानलाई समर्थन गरेका ट्यांकर चालकले शुक्रबारदेखि नियमित इन्धन ढुवानी गर्ने जनाएका छन् । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकको आन्दोलन नभएको नेपाल पेट्रोलियम टयांकर चालक संघ अध्यक्ष ईश्वर लामाले बताए । ‘स्वतन्त्र चालक संघर्ष समितिको आन्दोलनको कारण ढुवानी रोकिएको थियो,’ लामाले भने, ‘ट्यांकर चालकलाई सुरक्षा दिए इन्धन ढुवानी गर्न तयार छौं।’ केही ट्यांकर चालकलाई बारामा अन्य सवारीसाधनका चालकले अवरोध गरेकाले ढुवानी रोकिएको उनले बताए। अन्य सवारीसाधनका चालकको आन्दोलनमा ट्यांकर चालकले ऐक्यबद्धता जनाउँदै ढुवानी नगरेका कारण आपूर्तिमा असर परेको हो।

यता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्रीवितरणमा प्रतिकूल प्रभाव पार्नेगरी आईओसीमा लोड लिन नजाने, डिपोमा लोड लिएर नआउने, बिक्रीवितरणमा असहयोग गर्नेलाई कारबाही गर्ने जनाएको छ। निगमले अटेर गर्नेलाई ढुवानी सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको छ।

प्रकाशित: ५ आश्विन २०७५ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App