६ वैशाख २०८१ बिहीबार
समाज

छिया–छिया सीमा सडक (भिडियो)

सिन्धुपाल्चोक(तातोपानी) – भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो।

२०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग व्यापारिक कारोवार हुने यो प्रमुख नाका बन्द छ। त्यसयता नाका जोड्ने राजमार्गको मर्मत, सम्भार भएको छैन। नाकासँगै उपेक्षामा परेको राजमार्ग दिनप्रतिदिन खण्डहरमा परिणत भइरहेको छ।

बाह्रसविसे–तातोपानी खण्डको दर्जनौँ स्थानमा भाटेकोसी नदीको कटान र पहिरोको विनाशलीला मात्र देखिन्छ। विगत झैं यो बर्खामा बाह्रविसे–तातोपानी खण्ड बाढी, पहिरोका कारण अधिकांश समय अवरुद्ध रह्यो। सडक बन्द भइ आवतजावत गर्न नपाउँदा बर्खामा लगातार तीन वर्षदेखि स्थानीय गाउँमै थुनिन बाध्य भए।

१ सय १४ किमी राजमार्गको बाह्रविसेदेखि नै सुरु हुन्छ सडकको दुरावस्था र बाढी पहिरोको विनाशलीला। २०७३ बर्खाको भाटेकोसी बाढीले यो खण्डमा ठूलो क्षति पुर्यायो।बाढीले ठाउँ–ठाउँमा व्यापक सडक कटान गर्यो भने माथिबाट खसेको पहिरोले थप क्षति पुर्यायो। गत भदौ २ गते साधीखोलामा आएको बाढीले बाह्रविसे–तातोपानी जोड्ने खुर्सानीबारी नजिकको पुल बगायो। त्यहाँ अझै अर्को पुल हाल्ने प्रयास थालिएको छैन। गत वर्ष पहिरोले लार्चा पुल दुई टुक्रा बनाएको थियो।

बाह्रविसेमाथि भोटेकोसी गाउँपालिकामा झण्डै ३० किमी सडक नयाँ ट्रयाक नै खन्नुपर्ने गरी छिया–छिया छ। तिब्बत जोड्ने मितेरी पुलसम्मै दर्जनौँ स्थानमा गएको पहिरो र नदी कटानले सडकको बेहाल छ।  राजमार्गको बसेरी, बोर्डरल्याण्ड, नयाँ पुल, चाकु, हिन्दी, डाकलाङ्, झीर्पु, लार्चा, १० किलो, तातोपानी बजार लगायत स्थानमा साना–ठूला अनगिन्ती पहिरो छन् । तिनै स्थानमा भोटकोसी नदी कटान तीव्र छ। बर्खाको खहरै सडकमै बहिरहेको छ।

तातोपानी–लिपिङ सडक सम्पर्क टुटेको दुई वर्ष बितिसकेको छ । २०७३ को भोटकोसी बाढीले चार किमी यो खण्डको अधिकांश सडक कटान गरेको थियो । कटानसँगै माथिबाट जमिन बग्दा सडक नै हराएको छ । त्यहाँ सडक ट्रयाक खोल्ने ठाउँसम्म छैन। स्थानीय ठाउँ–ठाउँमा काठ मुढा र फल्याक बिछ्याएर हिँड्न बाध्य छन् । यहाँको यात्रा गर्नु पर्दा राम नाम पुकार्नुपर्ने बाध्यता छ।

प्रकाशित: ५ आश्विन २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App