coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

निरास छन् खेल्न नपाउँदा

काठमाडौं- आगोको धर्म पोल्नु हो। आगोले पोलेन भने आगो हुनुको अर्थ रहँदैन। त्यस्तै खेलाडीको काम खेल्नु हो। खेल्दै नखेली कसरी खेलाडी?तर, नेपालमा नखेलिकन खेलाडी हुनुपर्ने नियति भोगिरहेका छन्, महिला क्रिकेटरले। अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका महिला क्रिकेटर प्रतियोगिता कहिले हुन्छ भनेर औंला भाँचेर बस्नुपर्ने अवस्था भोगिरहेका छन्।

दुई वर्षअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुदपछि महिला क्रिकेट खेलाडीको दिनचर्या घरायसी कामकाजमै सीमित बनेको छ। यसबीच कुनै घरेलु प्रतियोगिता भएनन्।एसियाड सकेर घर फर्किएपछि खेलाडीलाई न नेपाल क्रिकेट संघ (क्यान)ले खोज्यो, न अन्य निकायले चासो राखे। बेखबर, गुमनाम भए महिला क्रिकेटर। सँगै बेवारिस भयो महिला क्रिकेटको अवस्था।

'कुनै दिन त हाम्रो पनि खेल होला भनेर हामी आश गरिरहेका हुन्थ्यौं तर कसैले वास्तै गरेनन्,' महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण सिविरमारहेकी सरिता मगरले नागरिकसँग भनिन्, ‘खेल नै भएन भने हाम्रो प्रदर्शनमा सुधार कसरी हुन्छ? लामो समय यसरी बस्नुपर्दा एकदमै नराइलो लाग्नेरहेछ।धेरै पछि भए पनि यो प्रतियोगिताखेल्न लागेका छौं। त्यसैले शतप्रतिशत दिने प्रयासमा छौं।’

अक्टोबर ९ देखि १५ सम्म हङकङमाहुने महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि टोलीबन्द प्रशिक्षण सिविरमा छ।महिला टोलीकी कप्तान रुबिना क्षेत्रीको गुनासो पनि सरिताको भन्दा फरक छैन।

‘राष्ट्रिय प्रतियोगिता नै हँुदैन। एउटै खेलबाट कसले कस्तो खेल्छ भनेर कसरी थाहा हुन्छ? बर्षमा कम्तीमा ३/४ वटा प्रतियोगिता भयो भने मात्र खेलाडीको वास्तविक स्तर जाँच्न सकिन्छ,’ रुबिनाले भनिन्, ‘प्रतियोगिताअघि मात्र खेलेर नतिजा निकाल्न गाह्रो हुन्छ। सम्बन्धित निकायले नतिजा आएन भन्नु भन्दा पनि किन आएन भन्नेतर्फ सोच्नुपर्‍यो। राम्रो सुविधा पायौं भने त हामी नतिजा ल्याइहाल्छौं नि।’

४८ खेलाडीबाट २४ हुँदै अहिले १८ जनाबन्द प्रशिक्षणमा छन्। यसबाटअन्तिम १४ खेलाडीको टोली छनोट हुन बाँकी छ।  १८ जनामध्ये सवनम राई, लक्ष्मी चौधरी, संगीता राई, ज्योति पाण्डे र निर्मला शाही नयाँ अनुहार हुन् भने नीरा राजोपाध्याय, रोशनी बोहरा र अनुराधा चौधरीले पुनरागमन गरेका छन्।

रुबिना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, शोभा आले, नेरी थापामगर, इन्दु बर्मा, सरस्वती चौधरी र रश्मी शर्मा पुरानै हुन्। टोलीलाई राजु बस्न्यातले प्रशिक्षण गराइरहेका छन् भने राष्ट्रिय टोलीकामुख्य प्रशिक्षक जगत टमाटा र बलिङ प्रशिक्षक विनोद दासकोनिगरानी छ।

एउटा प्रतियोगितामा २/३ खेल खेलेर खेलाडीको स्तर नबढ्नेमा प्रशिक्षक बस्न्यात पनि सहमत छन्। उनले एउटै राष्ट्रिय प्रतियोगिताको भरमा ठूलो अपेक्षा गर्न नहुने बताए।

‘वर्षमा ३/४ खेलबाट  खेलाडीको स्तर कसरी बढ्छ? एउटै प्रतियोगिताको भरमा ठूलो अपेक्षा गर्न सकिँदैन,’ उनले भने, ‘खेलाडीमा क्षमता नभएको होइन तर त्यसलाई निखार्ने मौका नै पाउँदैनन्।'

उनका अनुसार घरेलु प्रतियोगिता खेल्न नपाउँदा खेलाडीबीच समन्वयमा कमी, प्याड लगाएर क्रिजमा दौडिनै नजाने जस्तो हुने, योजनाबद्ध रूपमा खेल्न नसक्ने जस्ता सम्मस्या हुन्छन्।

नियमित खेल नहँुदा खेलाडी पलायन हुने समस्या आफ्नै ठाँउमा छ। नयाँ खेलाडीपनिउत्पादन हुन सकेको छैन।खेलबाटभविष्य सुरक्षित नहुँदा निश्चित उमेर नाघेपछि खेलाडीले निरन्तरता दिन नसक्ने बाध्यता छ। अझ महिलाको हकमा यो समस्या झनै बिकराल छ।

‘हामीले खेलाडीलाई क्रिकेटमै भविष्य सुरक्षित छ भन्न सक्ने अवस्था छैन। त्यसले गर्दा उनीहरूलाई भविष्यको चिन्ताले सताउँछ। पढाइ, जागिर, विवाह जस्ता कुराले खेलाडीको प्रदर्शनमा सोझै असर गर्छ,’ प्रशिक्षक बस्न्यातले भने, ‘कुनै ठाउँमा राम्रो खेलाडी छ भनेर सुन्छौं। लिन गयो बिहे गरेर गइसकेका हुन्छन्। बिहेपछि खेललाई निरन्तरता दिने अवस्था हुँदैन।’

सशस्त्र प्रहरीको एपिएफ क्लबले केही खेलाडीलाई तलब दिएर राख्नु बाहेक अन्य खेलाडी कतै अनुबन्धित छैनन्। नियमित खेल्न नपाउँदा मनोबल खस्केको बताउने कप्तान रुबिनाले पुरुषहरू जस्तो महिला खेलाडीलाई स्वतन्त्रता नहुने प्रस्ट्याइन्। त्यसमाथि क्रिकेटको बागडोर सम्हालेको क्यानबाट बेवास्ता हुनुका साथै तलब नहुनु र असुरक्षित भविष्यले मानसिक तनाव भोग्नुपर्ने उनको गुनासो थियो।

‘क्रिकेटलाई फुलटाइम दिएर अन्य कुरालाई पार्टटाइम बनाउनुपर्ने हो, तर हाम्रो अवस्था ठिक उल्टो छ। भविष्य नै असुरक्षित भएपछि हामीले खेलमा ध्यान केन्द्रित गर्न सक्दैनौं,’ रुबिनाले भनिन्, ‘व्यावसायिक रूपमा क्रिकेट खेल्न पाए पो हामी खेलमा केन्द्रित हुनसक्छौं। एउटा उमेरसम्म खेलेपछि केटीहरूमा समस्या आउँछ। सबैको पारिवारिक अवस्था सक्षम हँुदैन। परिवारबाट पनि दबाब आउँछ त्यसले मानसिक तनाब झेल्नुपर्छ। जसलेगर्दा राम्रो खेलाडी पनि बिलाएर जाने डर हुन्छ।’

सन् २००७ मा मलेसिया भएको एसिसी महिला च्याम्पियनसिपमा नेपाली सिनियर टोली उपविजेता बनेर महŒवपूर्ण उपलब्धि हासिल गरेको थियो। नेपाली टोली फाइनलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। त्यो भन्दो अघिल्लो वर्ष नै नेपालको क्षेत्रीय टोली नेपालगन्ज (क्षेत्र नं. ५)ले आइसिसी ग्लोबल डेभलपमेन्ट अवार्ड जितेर महिला क्रिकेटलाई हौस्याएकोे थियो।

त्यसयता उमेर समूहमा राम्रो गरेपनि सिनियर टोलीले फाइनलमा पाइला टेकेको छैन। यु–१९ टोलीले २००८, २०१०, २०१२ एसिसी महिला च्याम्पियनसिपमा उपाधि जितेको थियो।

प्रशिक्षक बस्न्यातले महिला क्रिकेटको अवधारणा सुरु हुँदा पनि योजनाबद्ध ढंगले नभएको बताए। त्यतिबेलै महिला क्रिकेटका लागि छुट्टै विभाग बनाएर प्रशिक्षक लगायत अन्य सुविधा दिएर अघि बढेको भए यति धेरै समस्या नहुने उनको तर्क छ। उनले भने, ‘महिला क्रिकेट टिम बनाउँदा एसियाको टेस्ट नखेल्ने राष्ट्रमा हामी नम्बर एक थियौं तर अहिले धेरै तल छौं। यस्तै अवस्थामा अघि बढ्न धेरै गाह्रो छ।’

प्रकाशित: ३ आश्विन २०७३ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App