१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुवैमा एपिएफको हार, डायमन्ड सफल

काठमाडौं- नैकापको न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब घरेलु महिला भलिबलको नियमित प्रतिद्वन्द्वी हुन्। प्रायः फाइनलमा विभागीय टोली एपिएफसँग डायमन्डको भेट हुन्छ। दुवै टोली घरेलु भलिबलमा आफूलाई नम्बर एक दाबी गर्छ। राजधानीमा भएका अधिकांश प्रतियोगितामा एपिएफले डायमन्डलाई हराएको छ। पोखराको लामाचौरमा डायमन्डले एपिएफलाई हराउँदै काठमाडौंमा भागेको हारको बदला लिँदै आएको छ।

नतिजालाई आधार मान्ने हो भने राजधानीकाकोर्टहरू एपिएफका लागि भाग्यशाली रहँदै आएको छ। पोखराको लामाचौर भने डायमन्डलाई फाप्ने गरेको छ। तर आइतबार न्यु डायमन्डले राजधानीमा जारी तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा चिरप्रतिद्वन्द्वी एपिएफलाई हराउँदै फाइनल सुरक्षित गरेको छ। उपाधिका लागि डायमन्डले सोमबार नेपाल पुलिस क्लबसँग खेल्नेछ।

डायमन्डले त्रिपुरेश्वरस्थित कभर्ड हलमा साबिक विजेता एपिएफलाई २५–२२, २५–२२, २५–२३ को सोझो सेटमा हरायो। एपिएफमाथि डायमन्डले दुई सातापछि लगातार दोस्रो जित निकालेको हो। लामाचौरमा पनि डायमन्डले एपिएफलाई सोझो सेटमा हराएको थियो। त्यतिबेला पहिलो सेट जित्न डायमन्डले ३०–२८ सम्म कुर्नुपरेको अवस्था थियो। तर आइतबार प्रतिभा मालीले सर्वाधिक ३४ स्कोर गरेपछि डायमन्डले सहजै एपिएफलाई हरायो। प्रतिभालाई अर्की स्पाइकर पनमिका राई र कप्तान ललिता नाथले साथ दिएका थिए। एपिएफविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने क्रममा प्रतिभाले स्पाइकबाट ३०, ब्लक र सर्भिसबाट समान २ अंक लिइन्। पनमिकाले ६ र ललिताले ३ अंक जोडे।

एपिएफकी सरस्वती चौधरीले स्पाइकबाट १४ अंक तथा उषा विष्टले ८स्पाइक, २ ब्लक र १ अंक सर्भिसमा गरी ११ अंकको योगदान गरिन्।

डायमन्डका प्रशिक्षक कुमार राईले लगानी गरेअनुसार खेलाडीले नतिजा निकालेको बताए। उनले भने, 'हाम्रो लक्ष्य घरेलु भलिबलको नम्बर एक टोली बन्ने हो। हामीले त्यो प्रमाणित गर्‍यौं। खुसी छु। यो नतिजा प्राप्त गर्न हामीले कडा मिहिनेत गरेका छौं। सबै खेलाडीको मिहिनतले एपिएफलाई हराउन सफल भयौं।'

पोखरामा डायमन्डले हराउँदा एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी थिइनन्। उनी जापानमा एकमहिना प्रशिक्षणमा थिइन्। आइतबार सरस्वतीसहित खेलेको एपिएफले तीनै सेटमा डायमन्डलाई कुनै अप्ठेरो पार्न सकेन।

ब्लकिङमा कमजोर देखिए पनि डायमन्डले एपिएफविरुद्ध अट्याकिङ, डिफेन्स र सर्भिसमा उत्कृष्ट प्रदर्शन गरेको थियो। तर डायमन्डले २५ भन्दा बढी नेगेटिभ अंक दियो। डायमन्डका सविता लोले ४ अंक र ललिताले २ अंक ब्लक गर्ने क्रममा नेट छोएर गुमाए। प्रतिभाले स्पाइकबाट ८, पनमिकाले ६ र ललिताले स्पाइकबाट ४ अंक गुमाएका थिए।

एपिएफका लागि भने सेटर बिनिता बुढाथोकी महँगो साबित भइन्। रेफ्री चन्द्राबन्दना राईले बिनिताको ६ पटक 'सेटिङ इरर' लिनुपरेको थियो। उनको गल्तीबाट डायमन्डले ६ अंक बोनस पायो। त्यस्तै सरस्वती चौधरीले स्पाइकबाट ७ अंक गुमाइन्।

एपिएफका प्रशिक्षक सुदेशकुमार रिमालले ब्लक बाहेक अन्य सबै पोजिसनमा टोलीले खराब प्रदर्शन गरेको प्रतिक्रिया दिए। उनले भने, 'सिनियर खेलाडीले नै गल्ती गरेपछि खेलमा हामीले नियन्त्रण गुमायो। कुनै खेलाडीले सन्तोषजनक खेल्न सकेनन्। विपक्षीले आफ्नो स्वाभाविक खेल खेल्यो।'

महिलामै अर्को खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको टप्स बोर्डिङलाई सोझो सेटमा २७–२५, २५–२१, २५–१६ ले पराजित गर्‍यो। पहिलो सेटमा २१–१५ ले अग्रता लिँदै जित नजिक पुगे पनि पश्चिमाञ्चलले उक्त सेट गुमायो। सुरुआती लय बिग्रिएपछि पश्चिमाञ्चल टोली पुलिससामु कमजोर साबित भयो। पश्चिमाञ्चलबाट आइतबार राष्ट्रिय टोलीकी पूर्व स्पाइकर रमिला तण्डुकारले खेलेकी थिइन्। तर रमिलाको उपस्थितिले पश्चिमाञ्चलले लक्ष्य भेट्न सकेन।

पुरुषतर्फ फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। समूह चरणमा आर्मीले हेल्प नेपाललाई ३–१ सेटले हराएको थियो। तर हेल्प नेपाल प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि नजिक पुगेको छ। हेल्पबाटभारतीय भलिबल टोलीका दुई खेलाडी सहित ४ जनाले खेलिरहेका छन्।

आइतबार हेल्प नेपालले सहजै विभागीय टोली एपिएफलाई २५–२०, २५–१३, २५–२१ ले हरायो। हेल्पका सुबे सिंहले स्पाइकबाट १४ र ब्लकबाट ३सहित १७ अंक जोडे। शुभम चौधरीले १२ अंकको योगदान गरे। एपिएफका मिलन मल्लले स्पाइकबाट ७ अंक जोडे।

हेल्प नेपालका व्यवस्थापक अरुण श्रेष्ठले उपाधिभन्दा पनि टोलीले सुन्दर भलिबल खेल्ने कोसिस गरिरहेको बताए। उनले भने, 'हाम्रो पहिलो लक्ष्य लिगका लागि छनोट हुनु थियो। त्यो पूरा भइसक्यो। अब सुन्दर भलिबल नेपाली समर्थकलाई देखाउने कोसिस गर्छाैं।'

अर्को खेलमा आर्मीले पश्चिमाञ्चललाई २९–२७, १५–२५, २५–१५, २५–१७ ले हरायो। आर्मीको जितमा भैरव बमले धेरै अंक जोडे। भैरवले १३ स्पाइकबाट लिँदै आर्मीको आत्मविश्वास बढाएका थिए। आर्मीका नरेन्द्र गिरीले स्पाइकबाट ८ र ब्लकमा ४ गरी १२ अंक जोडे। पश्चिमाञ्चलका घनश्याम महतोले १३ अंक स्पाइक र ३ अंक ब्लकमा जोडेका थिए।

प्रकाशित: ३ आश्विन २०७३ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App