८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा सर्पको बिगबिगी, सुविधा सम्पन्न उपचार केन्द्र बनाउन माग

उदयपुर – बेलुकाको खाना खाएर घरमै स्कुलको ‘होमवर्क’ गरेर निदाएकी १४ वर्षीया अस्मीता राईलाई सर्पले डसेको कुरा केहीबेरमै अभिभावकले पत्तो लगए। बेलका नगरपालिका २ भागलपुरस्थित घरछेउकै विद्यालयमा कक्षा ९ की छात्रा अस्मीतालाई राति ११ः०० बजे बिषालु सर्पले डसेको पत्ता लाग्नेबित्तिकै उपचार गर्न लानुपर्नेमा परिवारजनले धामीको सहारा लिन थाले। धामीलाई विष झार्न लगाउने हुँदा उपचारको समय सकिएर खाँउखाउँ लाउँलाउँकी अस्मीताले अनाहकमा ज्यान गुमाउनु पर्यो।

घट्ना गत साउन १३ गतेको हो। रातभर धामीझाँक्रीको भर परेपनि निको नभएपछि भोलिपल्ट सर्पदंश उपचार केन्द्र रामपुर ठोक्शीला लगिएकी उनलाई केन्द्रमा उपचार नहुने भन्दै धरान रेफर गर्यो तर, धरानले पनि सम्भव नभएको भन्दै विराटनगर रेफर गरेपछि उनको मृत्यु भयो। बाख्रालाई घाँस काट्न गएकी बेलका ७ मैनामैनीकी एक अधबैंशे महिलालाई रुखकै डालीबाट झुण्डिएर खसेको हरेउ जातको सर्पले टाउकैमा डसेर गम्भीर घाइते हुनुपर्यो।

गत वैशाखको घट्नामा घाइते उनी भने तत्काल उपचार गर्न ल्याएकाले बाँच्न सफल भइन्। माथिका प्रतिनिधि घट्नाहरू बेलका नगरपालिकाको सर्पबाट पीडित हुनेहरूको उदाहरण मात्र हो। बेलका नगरभित्र सर्पको डसाइले यसअघि धेरैको ज्यान जाने गरेकोमा १ वर्षअघि ठोक्शीलास्थित रामपुर बजारमा सर्पदंश उपचार केन्द्र खोलिएपछि धेरैको ज्यान बचेको छ।

वर्षदिनभित्र सर्प डसाइबाट घाइते भएका झण्डै १०० जनामध्ये १ जनाको मृत्यु भयो भने बाँकीले पुनर्जीवन पाएका छन्। वर्खा लागेपछि जताततै सर्पको बिगबिगी हुने गरेको बेलका क्षेत्रमा हिउँदयाममा पनि फाटफुट विषालु सर्प देखा पर्ने र स्थानीयलाई डस्ने गरेको छ। यही पिरलोले नगरपालिकामा जनप्रतिनिधि चुनिएर आउनेबित्तिकै पहिलो सभाबाट नगर केन्द्र रहेको रामपुरमै प्राथमिक सर्पदंश उपचार केन्द्र खोल्ने निर्णय भयो। उपचार केन्द्र खोलेपछिको १२ महिना पुग्न सातादिन बाँकी रहँदा ९७ जना सर्पको डसाईबाट घाइते भएर उपचार गर्न आएका छन्, जसमध्ये अस्मीताबाहेकको ज्यान जोगाउन केन्द्र सफल भएको छ।

भित्री मधेस र खोँच मिश्रित बेलका नगरपालिकामा बैरी करेत, करेत, गोमन, हरेउजस्ता बिषालु सर्पको बिगबिगी हुने गरेको र वर्षेनी दर्जन बढीको ज्यान सर्पदंशबाटै जाने गरेको पाइएपछि नगर कार्यपालिकाले सुरुमै सर्पदंश उपचार केन्द्र खोल्ने निर्णय गरेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए। नगर प्रमुख थापाका अनुसार जनताको बाँच्न पाउने अधिकारलाई स्थापित गराउन सुरुकै बैठकबाटै उपचार केन्द्र खोल्ने निर्णय गरिएको र त्यसपछि आवश्यक औषधि र २ जना जनशक्ति व्यवस्था गरेर सेवा दिन थालेयता कुनै दिन सर्पदंशका विरामी आउन छुटेका छैनन्। ‘हामीले हरेक वर्ष सर्पको डसाइबाट बेलकाक्षेत्रमा १५ जनाका दरले मान्छे मर्ने गरेको पायौं त्यसैले उपचार केन्द्र खोल्न आवश्यकता ठान्यौं’ प्रमुख थापाले भने ‘उपचार केन्द्र खोलेदेखि नै सर्पले डसेका बिरामी आउन खाली भएको छैन।’

केन्द्र स्थापनाको वर्षदिन पुग्दैगर्दा सर्पले डसेर बिरामी पर्ने बेलाकाबासी ९७ जना सो केन्द्रमा उपचारका लागि आएको मेयर थापाले बताए। ९७ मध्ये १ किशोरीलाई भने बचाउँन नसकिए पनि बाँकीको ज्यान जान पाएको छैन। किशोरीलाई पनि समयमै उपचार गर्न ल्याएको भए दुःखद मृत्यु नहुने थापाले बताए। उपचार केन्द्रका स्वास्थ्यकर्मी राजन भट्टराईका अनुसार ०७४ असोजदेखि ०७५ भदौ २८ गतेसम्ममा ६५ महिलासहित ९७ जनालाई बेलकामा सर्पले डसिसकेको छ। जसमा पुरुष ३२ जना र १८ वर्षमुनिका बालबालिकाको संख्या १० जना रहेको छ। 

सर्पदंशकै कारण अकालमा मृत्यु भएकी अस्मीताको स्मृतिमा उपचार केन्द्रलाई अहिले ‘स्व. अस्मीता राई सर्पदंश उपचार केन्द्र’ नामाकरण गरिएको छ। साउन १३ गतेको घट्नामा अस्मीताको मृत्यु भएपछि बसेको नगरपालिकाको साउन २० गतेको बैठकले  नामाकरण गर्नुका साथै केन्द्रलाई सुविधासम्पन्न बनाउने प्रस्ताव पारित गरेको छ। जस अनुसार भेन्टिलेटर राख्ने, आधुनिक उपकरण र भौतिक पूर्वाधार बनाउने, नयाँ भवन निर्माण गर्ने निर्णय भएको प्रमुख थापाले बताएका छन्। 

भेन्टिलेटर भएमा सिकिस्त बिरामीलाई त्यसमा राखेर उपचार गर्न सहज हुने, मुटुको चाल देखिने मोनिटरसहितको आधुनिक उपकरण खरिद गर्न नगरपालिकाले आवश्यक बजेट व्यवस्था गर्ने र अपुग बजेट प्रदेश सरकारसँग माग गरिएको उनले बताए। उपचार केन्द्रलाई सुविधासम्पन्न र आवश्यक पूर्वाधारयुक्त बनाउन प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्थलगत अनुगमनका लागि आउदो ५ गते बेलकामा निम्त्याइएको पनि मेयर थापाले बताएका छन्। उपचार केन्द प्रमुख स्वास्थ्यकर्मी भट्टराईले १ वर्षअघि खोलेदेखि अहिलेसम्म कहिल्यै सर्पदंशका घाइते खाली नभएको बताए।

मासिक सरदर ८ जनाभन्दा बढीका दरले सर्पले डसेका घाइतेहरू आउने गरेको बताउदै उनले भने, “कहिलेकाही त ठाउँ नभएर चौरमा सुताएर उपचार गर्नुपर्ने बाध्यता छ।” कतिपय जटिलखालका घाइतेलाई राखेर उपचार गर्न भेन्टिलेटर, मुटुको चाल र रक्तसञ्चारको अवस्था थाहा पाउने उपकरण अभावमा समस्या छ। त्यस्तै भवन अभावमा कामचलाऊ टहरामा केन्द्र सञ्चालन गर्नुपरेकाले भवनको अति आवश्यक रहेको भट्टराईको भनाई छ।

बेलकामा सुविधासम्पन्न उपचारकेन्द्र खोल्नसके छिमेकी चौदण्डीगढी नगरपालिका, खोटाङ र भोजपुरका दक्षिणी भेग तथा सप्तरी र सिराहाका उत्तरीभेगका स्थानीयलाई उपचार गर्न सजिलो हुने स्थानीय बुद्धिजीवि रमण भट्टराई बताउँछन्। 

प्रकाशित: ४ आश्विन २०७५ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App