७ वैशाख २०८१ शुक्रबार
समाज

इलाममा यातायात सुचारु गर्ने सहमति

इलाम–यातायात मजदुरले ४ दिनदेखि गरेको सवारी हड्ताल इलामका लागि भने खुला हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार दिउँसो यातायात व्यवसायी, मजदुर र प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलमा हड्ताल नगर्ने सहमति भएको हो । 

छलफलमा सहभागी व्यवसायी र मजदुर इलाममा जारी बन्द खुलाउन सहमत भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए। ‘भएकै कानुनी व्यवस्थाभन्दा अहिले भएको संशोधनले मजदुरलाई ठूलो असर नपार्ने बुझेपछि व्यवसायी र मजदुरहरू सवारी हड्ताल खुलाउन सहमत भएका छन्,’ उनले भने, ‘कानुन व्यवसायीसमेतलाई राखेर व्यवसायी र मजदुरसँग छलफल गरेका थियौं ।’ 

सवारी चलाएका बेला दुर्घटना भइ कसैको मृत्यु भए चालकले पाउने सजाय सामान्य परिवर्तन मात्रै गरिएको छ ।पहिलाभन्दा ठूलो फरक छैन भन्ने बुझेपछि व्यवसायी र चालक सवारी साधन चलाउन सहमत भएका छन्

छलफलमा सहभागी यातायात व्यवसायी सुमन काफ्लेले चालकलाई पहिलाको भन्दा धेरै फरक पार्नेगरी कानुन संशोधन नभएको भन्ने बुझेपछि हड्ताल खुला गर्न व्यवसायी सहमत भएको बताए । ‘कानुन व्यवसायीको भनाइअनुसार चालकलाई पछिल्लो पटक संशोधन भएको व्यवस्थाले पहिलाको भन्दा खासै ठूलो फरक नपार्नेरहेछ,’ उनले भने, ‘कानुन बुझेपछि व्यवसायी र मजदुर इलाममा सवारी साधन बन्द नगर्न सहमत भएका छन् ।’ छलफलमा व्यवसायीहरू मदन श्रेष्ठ, बालकुमार श्रेष्ठ, सांगेन राई, मजदुरहरू रोशन श्रेष्ठलगायतको सहभागिता थियो ।

तर, बिहीबार दिउँसो इलामकै जिरो किलोमिटरमा प्रहरी र यातायात मजदुरबीच बन्दकै विषयलाई लिएर भएको घम्साघम्सीका कारण सवारी साधन सञ्चालन भने भइनसकेको काफ्लेले बताए । सवारी बन्द गरेर बसेका मजदुरलाई प्रहरीले गाली गरेपछि केहीबेर घम्साघम्सी भएको व्यवसायीले बताएका छन् । प्रहरीले त्यहाँ रहेका मजदुरलाई छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय लगेको छ । 

केही नेपाल कानुन संशोधन, एकीकरण, समायोजन र खारेज गर्न बनेको ऐन–२०७४ ले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ र १६२ मा गरेको संशोधनप्रति विरोध जनाउँदै मजदुरले देशभर यातायात हड्ताल गरेका छन् । जिल्ला सहन्यायाधीवक्ता ऋद्धिनाथ निरौलाले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ र १६२ मा गरिएको संशोधन चालकले बुझेजस्तो जटिल नभएको बताए । ‘सवारी चलाएका बेला दुर्घटना भइ कसैको मृत्यु भए चालकले पाउने सजाय सामान्य परिवर्तन मात्रै गरिएको छ,’ उनले भने, ‘पहिलाभन्दा ठूलो फरक छैन भन्ने बुझेपछि व्यवसायी र चालक सवारी साधन चलाउन सहमत भएका छन् ।’ 

 

प्रकाशित: ४ आश्विन २०७५ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App