coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

किन भयो सार्वजनिक सवारीमा हडताल ?

इलाम- कानुनले सवारी चालकमाथि अन्याय गर्न खोजेको भन्दै यातायात मजदुरले तयार गरेको एउटा अपिल गत भदौ अन्तिम साता सार्वजनिक भयो। असोज १ गते सरकारलाई गाडीको साँचो र २ गते सवारी चालक अनुमतिपत्र बुझाउने घोषणासहितको विज्ञप्ति सार्वजनिक भएपछि ४ दिनयता देशका विभिन्न स्थानमा यातायात चल्न सकेको छैन। १ नम्बर प्रदेशका इलामसहित सबै जिल्लामा सवारी साधन बन्द छन्।

सादा कागजमा २२ जना (चालक) को नाम र सम्पर्क नम्बरसहित निकालिएको अपिलमा प्रकाशित मिति छैन। तर, त्यही अपिल सार्वजनिक भएपछि देशभर अत्यावश्यकबाहेकका सवारी साधान चल्न कठिन भएको छ। सर्वसाधारण अन्योलमा छन्। राजमार्गका कतिपय स्थानमा आफूहरूलाई सवारी मजदुर बताउने समूह बसेर गाडी चलाउन रोक लगाइरहेका छन् । सर्वसाधारण यात्रुको समस्या र आक्रोस सामाजिक सञ्जालहरूमा चुलिएको छ । भदौ ३१ गते नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नाममा महासचिव नवराज घिमिरले हस्ताक्षर गरेको अर्को विज्ञप्ति आयो । विज्ञप्तिमा भनिएको छ– यातायात बन्दको हल्लाका पछि नलाग्न सबैलाई आग्रह गर्दछौं।

यी दुई अपिल र विज्ञप्ति निस्किएपछि सर्वसाधारण यात्रु मात्र होइन, सबैमा अन्योल बढेको छ– राजमार्ग बन्द गरिएको हो वा होइन?  बन्द गरिएको हो भने कसले र किन गर्यो?  किन राजमार्ग र सहायक सडकमा ४ दिनदेखि सवारी बन्द छन्?  यसरी आएका प्रश्नको आधिकारिक जवाफ न यातायात व्यवसायीसँग छ, न पूर्वमा प्रभावकारी तरिकाले संगठित नै नभएका छिटफुट चालक र यातायात मजदुरसँग नै।

मजदुरहरूको नाम र सम्पर्क नम्बर रहेको विज्ञप्तिमा भनिएको छ– केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्न बनेको ऐन–२०७४ संशोधन गरियोस्। चालकलाई गाडी दुर्घटनामा यात्रुको मृत्यु भए ५ वर्षदेखि जन्मकैदसम्मको व्यवस्था ऐनमा रहेकाले हामीले गाडी चलाउन छाडेर सरकारलाई साँचो बुझाउनुपरेको छ। विज्ञप्तिमा चालकहरूले ऐन संशोधन नभए गाडीको साँचो र सवारी चालक अनुमतिपत्र सरकारलाई बुझाउने उल्लेख गरेका छन्। तर, मजदुर नेताहरूका अनुसार साँचो र सवारी चालक अनुमतिपत्र भने अहिलेसम्म सरकारलाई बुझाइएको भने छैन।

विज्ञप्तिमा नाम रहेका चालक कुमार लामा सवारी प्राविधिकको सल्लाहबिनै गरिएको ऐनको यो व्यवस्था सच्याउनु आवश्यक रहेको बताउँछन्। ‘ऐन संशोधन नभए मजदुर मात्र होइन, जो–कोही चालकले पनि सवारी चलाउने अवस्था छैन,’ उनले भने, ‘यो अवस्था नसच्याएसम्म आन्दोलन जारी हुन्छ, सवारी साधन चल्ने छैनन्।’ सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ र १६२ मा गरिएको संशोधनप्रति आफूहरूको आपत्ति रहेको उनले बताए। उनले भवितव्य दुर्घटनाको कानुनी व्यवस्थामा मजदुरमाथि अन्याय हुनसक्ने औंल्याए। ‘नियतवस कसैले अर्काको ज्यान मार्छ भने त्यसलाई त यो कानुन पनि कम्ती हुनसक्ला,’ उनले भने, ‘तर, यातायात मजदुरलाई फसाउने प्रयत्न यो कानुनमा बढी देखिने सम्भावना छ।’

मजदुरको बन्दप्रति यातायात व्यवसायी भने बेखबरझैं छन् । मजदुरहरूले व्यवसायीसँग सल्लाह नगरी सडक बन्द गर्नु उचित नहुने व्यवसायीको भनाइ छ। इलामका यातायात व्यवसायी गृष्म सुब्बा यातायात ऐनमा भएको व्यवस्था अहिले संशोधन भइसकेको बताउँछन्। ‘यसअघि संशोधनबाट गरिएको कडाइ फेरि अर्को संशोधनले खुकुलो बनाइसकेको छ,’ उनले भने, ‘सडक बन्द गर्नुभन्दा व्यवसायी, मजदुर र सरकारका प्रतिनिधि बसेर छलफल गर्दा यसको छिटो टुंगो लाग्छ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६१ र १६२ संशोधन भइसकेकाले चालकलाई असर नगर्ने विज्ञप्तिमै जनाएको छ। ‘सडक दुर्घटनाको छानबिन गरिनुपर्छ, श्रमिक सम्मिलित छानबिन समिति बनाइनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एकांकी रूपमा लापरबाहीको आरोपमा चालकलाई दोषी देखाउने र कारबाही गर्ने काम बन्द गरिनुपर्छ।’ नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले भने मजदुरको आन्दोलनबारे बिहीबार मात्रै संगठनको धारणा सार्वजनिक गर्ने बताए। ‘आजै केहीबेरपछि बैठक बसेर संगठनको आधिकारिक धारणा बाहिर ल्याउने छौं,’ उनले बिहीबार नागरिकन्युजसँग भने।

४ दिनपछि मात्र वार्ताको पहल

राजमार्गमा सवारी ठप्प भएको ४ दिनपछि मात्रै सरकारी निकायले मजदुरहरूसँग वार्ताको पहल थालेका छन्। यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका मजदुरहरूको नेतृत्व रहेको बारासहित इलाम जिल्ला प्रशासनमा बिहीबार दिउँसो यातायात मजदुरसँग वार्ता हुँदैछ।

आन्दोलनरत चालक कुमार लामाले आफूहरूका मागका विषयमा बिहीबार बारा जिल्ला प्रशासनमा वार्ता हुन लागेको बताए। ‘बाराका प्रमुख जिल्ला अधिकारीले हामीलाई वार्तामा बोलाउनुभएको छ, दिउँसो वार्ता हुन्छ,’ उनले भने, ‘हुन त हाम्रो माग ऐन संशोधनको भएकाले मन्त्रालयसँगकै हो तर प्रशासनको वार्तामा पनि हामी जान्छौं । बन्दको आन्दोलन के हुन्छ भन्नेबारे वार्तापछि मात्रै निर्णय हुन्छ।’

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पनि बिहीबार नै यातायात व्यवसायीसँग छलफल हुने बताए। ‘किन यातायात बन्द भएको हो भन्नेबारे यातायात व्यवसायीसँग आजै छलफल गर्दैछौं,’ उनले भने, ‘बन्द हो होइन, हो भने किन हो भन्ने यकिन गरेर अघि बढ्नेछौं।’

प्रकाशित: ४ आश्विन २०७५ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App