१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफ क्वार्टरफाइनलमा

बडिगार्डकाे प्रहार राेक्दै ग्लासियरका खेलाडी । तस्बिर साैजन्यः राखेप

काठमाडौं – विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।  

गोंगबुस्थित ढोरपाटन स्पोर्टस्को कोर्टमा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा एपिएफले सूर्योदय कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । २५–४ को सहज जित निकालेको एपिएफले दोस्रो र तेस्रो सेटमा २५–१४ र २५–१० को सहज जित निकाल्न सफल भएको थियो । लिगका सबै खेलमा अपराजित रहेको एपिएफले ३ खेलबाट ९ अंक जोड्दै समूहविजेताका रूपमा अघिल्लो चरण प्रवेश गरेको हो। 

बुधबारै सम्पन्न अर्को खेलमा मण्डली स्पोर्ट्स क्लब पाल्पाले चितवन टाइगरलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘डी’ बाट उपविजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि समूह ‘डी’ बाट गण्डकी प्रदेशले समूहविजेताको रूपमा अन्तिम आठमा स्थान बनाइसकेको छ ।  पहिलो सेट २२–२५ ले गुमाए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै पाल्पाले अन्तिम आठमा स्थान बनाएको हो । दोस्रो सेटमा २५–१७ को जित निकालेको पाल्पाले तेस्रो र चौथो सेट २५–२१ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो। 

बुधबारै सम्पन्न अर्काे खेलमा बागलुङको बडिगार्ड गाउँपालिकाले ग्ल्यासियर कलेजमाथि २५–२३, २५–१५, २५–२१ को सहज जित निकाल्दै समूह ‘बी’ बाट उपविजेताका रूपमा अन्तिम आठमा पुग्न सफल बन्यो । आयोजक ढोरपाटन क्लबले बेल्कु धादिङबाट तथा बुढानीलकण्ठले सूर्यदीप कलेजबाट वाकओभर पाए। 

यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट गीताञ्जली कलेज र ढोरपाटन क्लब, समूह ‘बी’ बाट एपिएफ क्लब र बडिगार्ड, समूह ‘सी’ बाट थ्री स्टार र बुढानीलकण्ठ र समूह ‘डी’ बाट गण्डकी र पाल्पाले अन्तिम आठमा स्थान बनाए । क्वार्टरफाइनलका सबै खेलहरू बिहीबार हुनेछन्।

गीताञ्जली र बुढानीलकण्ठ, एपिएफ क्लब र पाल्पा, थ्री स्टार एकेडेमी र ढोरपाटन तथा गण्डकी प्रदेश र बडिगार्ड गाउँपालिकाबीच क्वार्टरफाइनलका खेल हुने आयोजक ढोरपाटन क्लबले जनाएको छ। 

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछ । व्यक्तिगत विधाअन्तर्गत स्पाइकर, ब्लकर, क्विक डिफेन्डर, सर्भर, लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिनेछ।  

 

प्रकाशित: ४ आश्विन २०७५ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App