छिपछिपे बहस र छद्म पुरुष

बिहिबार, ०४ असोज २०७५, ०८ : ५५ रमा भट्टराई

धेरै समयदेखि लेख्न खोजेर पनि साहस गर्न सकेकै थिइनँ । म प्रतिनिधित्व गर्ने मध्यम वर्ग र त्यसमाथि पनि सरकारी सेवामा यस्ता विषयमा खासै चर्चा गरिन्नन् । यो बोल्न हुने, यो बोल्न नहुने, यस्तो लेख्न हुने या नहुने आदि विषयमा हामीकहाँ खुबै चर्चा हुन्छ तर आज जसले जे भने पनि आँटै गरेर लेख्ने साहस गरेँ । असभ्य र छाडा भने पनि खप्ने निधो गरेँ । म कति सभ्य छु भन्ने कुरा व्यक्तिगत रूपमा मेरो बोली, लवाइखवाइ, मेरो घर बसाइँ र बानीले सतही रूपमा निर्धारण गर्ला तर मेरो वास्तविक सभ्यता  समाजमा मैले प्रदर्शन गर्ने मानवीयता र मेरो समाजको चरित्रले निर्धारण गर्छ । मानवता, मानव सभ्यता वा समृद्ध समाजको कल्पना गर्ने हरकोही व्यक्ति नेपाली समाजको चरित्रमाथि गम्भीर हुन बाध्य छ । आज यहाँ चर्चाको विषय ‘बलात्कार’ नै छ तर कुनै पक्षलाई गाली वा सुझाव वा कारण र उपचार खोतल्नुभन्दा बलात्कारको बहसको सान्दर्भिकता उठान गर्नु मात्र यस आलेखको उद्देश्य हो।

यो अस्तित्वले हरेक प्राणीलाई पञ्चतत्वको माध्यमबाट ऊर्जा प्रदान गरिरहेको हुन्छ । खाना, घाम, पानी, हावाको माध्यमबाट शरीरमा प्रवेश गरेको ऊर्जा हाम्रा क्रियाकलापहरूबाट विसर्जित हुन्छ । ऊर्जा सञ्चयको पहिलो केन्द्रका रूपमा कामकेन्द्र अर्थात् मूलाधार क्षेत्रलाई मानिन्छ । मानसिक र शारीरिक रूपमा स्वस्थ तर कम साहसी, प्रेम र करुणा अनूभूत नगर्ने, कमजोर आत्मविश्वास भएका, सिर्जनशीलताको उपयोग नगर्ने, न्यून चेतनास्तर भएका व्यक्तिको कामकेन्द्र अति सक्रिय हुन्छ भनिन्छ । जब मानिसले आफ्नो ऊर्जा साहसिक काम, सिर्जनशीलता, प्रेम र करुणा, ज्ञान र चेतनाको विकासमा लगाउँदैन र यौनलाई सधैँ अँध्यारोमा लुकाउने सामाजिक मान्यता हाबी रहन्छ, यस्तो समाजमा बलात्कार भई नै रहन्छ । स्वामी आनन्दले एउटा अन्तर्वार्तामा भन्नुभएको छ– नब्बे प्रतिशत नेपाली यौन र खानाको विषयमा मात्र सोच्छन् । समाजमा देखिएका हत्या, हिंसा, बलात्कार, यातना, पारिवारिक बेमेल, तेजाब प्रकरण, विवाह इतरका सम्बन्धहरू इत्यादि कारण खोतल्दा स्वामी आनन्दको भनाइ सही लाग्छ । तर दिमागमा हर घडी यौनलाई बोकेर बाहिर यौनबाट बेखबर भएझैँ नौटंकी गर्दै यौनलाई गाली गरेर सभ्य देखिने होडमा लाग्नुपर्ने सामाजिक संस्कार बनाएका छौँ हामीले।

टेबुलमा राखेको पत्रिकामा छापिएको ‘बाबुद्वारा छोरी बलात्कृत’ शीर्षकको समाचारले छोरीलाई काखमा राखेर पत्रिका समाउने बाबुको मनोदशा कस्तो हुन्छ ? छोरीले ‘बाबा त्यो भनेको के हो’ भनेर सोध्दा बाबुले जवाफ दिन सक्छन् कि सक्दैनन्?  

मध्यम वर्ग यो मामलामा अझ बढी पीडित छ, सभ्य देखिने होडमा आफूलाई ढाक्दै, छोप्दै यति धेरै कुण्ठा पालेको हुन्छ कि हरेक विपरीत लिंगीलाई उसले यौनिकताको आँखाले हेर्छ, एकान्त वा उपयुक्त मौका पाउनेबित्तिकै सुन्दरता, शरीर वा अन्य प्रासंगिक विषय निकालेर मन छाम्ने प्रयासमा लागिहाल्छ । एकान्तमा  गफिन खोज्ने महिला पुरुष समूहमा नचिनेझैँ हुन्छन् । यहाँ पनि त्यही सामाजिक मान्यता हाबी छ । जसले महिला पुरुषको खुला सम्बन्धलाई स्वीकार्दैन् । उमेर पुगेका केटाकेटी धक फुकाएर आफ्ना सम्बन्ध खोल्न सक्दैनन् । अरू त कुरै छाडाँै, दिनहुँ समाचारमा आउने बालिका बलात्कार र हत्याका घटनामा समेत दुई शब्द टिप्पणी गर्न नसक्ने मनौँ बलात्कार भनेको के हो थाहै छैन वा यस्तो शब्द उच्चारण गर्दा असभ्य र छाडा भइन्छ । अरूले थाहा नपाउने गरी बलात्कार गर्न, अश्लील संवाद गर्न वा पोर्न मुभी हेर्न उद्यत समाज देखिने गरी यौनको विषयमा चुइँक्क बोल्न हिचकिचाउँछ । अनि सभ्य देखिन साधु, सन्त, ब्रह्मचारी जस्तो व्यवहार देखाउन सधैँ मानसिक दबाबमा हुन्छ । केही समय अगाडि छातीमा पेटिकोट बाँधेर बलात्कारको विरोधमा उत्रने युवतीहरूको खुबै आलोचना भयो सामाजिक सञ्जालमा । आलोचना गर्नेहरू अधिकांश ‘सभ्य’ पुरुषहरू हुनुहुन्थ्यो । जसको आशय थियो– विरोधको शैली अलि उत्तेजक र अश्लील भयो । उहाँहरूले के ख्याल गर्नु भएन भने सबै बलात्कारहरू पेटिकोट वा त्यस्तै तल्ला वस्त्र खोलेर र त्यही वस्त्र मुखमा कोचेर गरिन्छ । तर त्यस्ता अश्लील अमानवीय बलात्कारका समाचारमा त्यो वर्ग चुइँक्क बोल्दैन । जुन समाजमा एउटी बालिका क्षत्विक्षत् पाठेघर योनिबाट बाहिर निस्केको अवस्थामा नांगै नालीमा भेटिन्छ, त्यो आफैँमा कति श्लील समाजको चरित्र हो?

आफ्नी छोरीलाई आफूलाई भन्दा बढी माया गर्ने बाबु, आफ्नी बहिनीलाई आफूजस्तै बनाउन रात दिन सपना देख्ने दाजु, श्रीमतीको सहअस्तित्व सम्मान गर्ने श्रीमान् वा महिलाप्रति आदरभाव राख्ने हरेक पुरुषका लागि दिनैपिच्छे ३ दिन देखि ९० वर्षसम्मका स्त्रीलिंगहरू बलात्कृत भइरहेका समाचार आइरहँदा आफ्ना छोरी/आमा/श्रीमती/भान्जी/भतिजीसँग बुबा/छोरा/श्रीमान्/मामा/काकाहरू आँखा जुधाएर बोल्न सक्ने अवस्था हुन्छ कि हुँदैन ? काम विशेषले घर बाहिर जाँदा एउटी महिलाले आफ्नी छोरीलाई उसको बाबुसँग छोड्दा, बहिनीलाई सिनेमा देखाउन लैजाँदा, भान्जीलाई मायाले सुम्सुम्याउँदा, भतिजीलाई स्कुल पु-याउँदा शंका गर्नुपर्ने अवस्थाले हरेक लोग्नेमान्छेको शिर लज्जित भएको छ कि छैन?

करिब एक महिना अगाडि एक जना पुरुष मित्रले फेसबुकमा आत्मग्लानिको अनुभूति लेख्नुभएको थियो । दिनैपिच्छेका बलात्कारका घटनाले आमा, श्रीमती र छोरीको अगाडि आफू लज्जित भएको र म छोरो भएर जन्मनेबित्तिकै मेरो घाँटी किन निमोठिनौ आमा भन्ने आशयको उक्त स्टाटस थियो । हरेक बाबुहरू बलात्करी हुँदैनन्, हरेक श्रीमान्, दाजु, काका, मामा वा लोग्नेमान्छे बलात्करी हुँदैनन् तर एकादुई घटनाले हामीलाई जीवन दिने, जगत् सिकाउने, दुःख पर्दा काँध थाप्ने हाम्रा प्रिय पात्रहरूको तेजोबध भएको छ । टेबुलमा राखेको पत्रिकामा छापिएको बाबुद्वारा छोरी बलात्कृत शीर्षकको समाचारले छोरीलाई काखमा राखेर पत्रिका समाउने बाबुको मनोदशा कस्तो हुन्छ ? बल्ल शब्द पढ्न थालेकी छोरीले बाबा त्यो भनेको के हो भनेर सोध्दा बाबुले जवाफ दिन सक्छन् कि सक्दैनन् ?  सक्दैनन्, किनकि त्यस्ता विषयमा जवाफ दिन एउटा बाबुसँग कुनै शब्द नै हुँदैन । तर पनि हिनताबोध पक्कै हुँदो हो।

अब कुरो गरौँ, बलात्कारको बहसको विषयमा । प्रायःगरी बलात्कारको विषयमा महिलाहरू विरोधमा उत्रिने तर पुरुषहरू खुलेर विरोधमा नआउने, पत्रपत्रिकामा लामा लामा आलेख पनि प्रायः महिलाकै देखिने, सोसियल मिडियामा पनि महिला जति आक्रामक ढंगले पुरुषले विरोध नजनाउने, फेसबुकमा पोस्ट गरिएका अन्य व्यक्तिगत विषयमा सयौँ टिप्पणी आउँछन्। बलात्कारको विषयमा गरिएको पोस्टमा महिलाका प्रतिक्रिया अलिअलि आउँछन् तर पुरुष मित्रहरूबाट एकादुई लाइकबाहेक एक अक्षर कोर्ने साहस गरिएको हुँदैन । यसको मतलब यो होइन कि आन्दोलन गर्न सडकमै उत्रिनु पर्छ । तर मतलब यो पनि होइन कि कुनै एउटा लोग्नेमान्छेले बलात्कार गर्छ अनि त्यसबाट लज्जित भएर दोषी मनोभावले असल लोग्नेमान्छेहरू पनि चुपचाप बस्नुपर्छ । अधिकांश यौनजन्य अपराधमा महिलाहरू पीडित र पुरुषहरू पीडक हुने गर्छन् । किनकि महिलाले बलात्कार गर्न सक्दैनन् । तर अपराधको कुनै लिंग हुँदैन, यसलाई लैंगिक दृष्टिले हेरिनु पनि हुँदैन । अपराध दण्डनीय हुनुपर्छ भन्ने तटस्थ मनोभावले र वर्गीय आत्मसम्मान जोगाउन पनि   लोग्नेमान्छेहरूको शिर निहुराउने ती बलात्कारीविरुद्ध अब लोग्नेमान्छे नै बोल्नुपर्छ । म मेरी छोरीको शिर हुँ, म मेरी श्रीमतीको काँध हुँ, म मेरी आमाको लौरो हुँ, भान्जी र भतिजीको भरथेग हुँ, म बलात्कारी होइन, बलात्कारीको लिंग छेदन गर, बलात्कारीलाई फाँसी दे भनेर अब लोग्नेमान्छेले नारा लगाउनुप-यो । घरमा जवान छोराछोरीसँग बसेर बाबु–आमाले यौनको विषयमा बहस गर्नुप-यो । उमेर र उमेरसँगै आउने परिवर्तनको विषयमा कुरा गर्नुप-यो । बलात्कारका कारण र प्रभावको विषय खोतल्नु प-यो । घरमा हुर्केका छोराछोरीले बाबुआमासँग  यौन जिज्ञासा राख्ने, चर्चा गर्ने वातावरण बनाउनुप-यो न कि बलात्कारका समाचार छापिएका पत्रिका छोपेर दायाँ–बायाँ लाग्नुपर्ने । उमेर पुगेका छोराछोरीका प्रेमप्रसंगमा सरिक हुने, प्रेमलाई सम्मान गर्ने, यौनिकताका विषयमा खुलेर बहस गर्न सक्ने सामाजिक वातावरण बनाउने, एउटा वयस्क मान्छे मानसिक, भावनात्मक तथा जैविक रूपमा पूर्णतामा बाँच्न पाउने वातावरणका लागि जसरी राजनीति, अर्थतन्त्र, भ्रष्टाचार, अन्य अपराधको चर्चा गरिन्छ, त्यसैगरी रहस्यमयी बनाइएको यौन र त्यसको विकृत रूप बलात्कारको पनि खुलेआम बहस अहिले समयले मागेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad