८ वैशाख २०८१ शनिबार
समाज

७ गतेदेखि अग्रिम टिकट बुकिङ

काठमाडौं- दसैंका लागि उपत्यका बाहिर जाने लामो दुरीका यात्रुले असोज ७ गतेदेखि अग्रिम बुकिङ टिकट लिन पाउने भएका छन्। आइतबार बसेको बैठकमा यातायात व्यवसायी–यातायात व्यवस्था विभाग लामो दुरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ ७ गते खोल्न सहमत भएका हुन्।

दसैंको एक महिनापूर्व अग्रिम टिकट बुकिङ खोल्ने गरेको भए पनि व्यवसायीले विभिन्न माग राखेकाले खुल्न सकेको थिएन। 'हाम्रा माग विभागले पूरा गर्ने भएको छ,' नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, '७ गते टिकट अग्रिम बुकिङ खुल्छ।'

व्यवसायीले कंलकी–नागढुंगा सडक मर्मत गर्नुपर्ने, विस्तारित निर्माणाधीन मुग्लिन–नारायणघाट सडकको काम रोक्नुपर्ने,  सुपर डिलक्स बसको भाडादर तोक्नुपर्ने र अस्थायी रुटका परमिट उपलब्ध गराउनुपर्ने माग राखेका थिए। व्यवसायीका अनुसार एक साताभित्र कंलकी–नागढुंगा सडक मर्मत गरिने, असोज १०–३० गतेसम्म मुग्लिन–नारायणघाट सडक निर्माण रोक्ने र व्यवसायीका अन्य माग पूरा गर्ने विभागले प्रतिबद्धता जनाएपछि बुकिङ खोल्न सहमति जुटेको हो।

विभागले जनाएअनुसार उपत्यकाका विभिन्न काउन्टरबाट ७ गतेदेखि २५ गतेसम्मकै टिकट लिन पाउने जनायो। विभागका प्रवक्ता बसन्त अधिकारीले बढी भाडा लिए वा टिकट नदिए विभाग तथा प्रहरीलाई खबर गर्न अनुरोध गरे।

करिब ४० लाख जनसंख्या बस्ने उपत्यकाबाट करिब २६ लाख मानिस दसैं मनाउन उपत्यका बाहिर जाने गरेको विगत तथ्यांकले देखाउँछ। फूलपाती र अष्टमी दुई दिनमा करिब ४ लाख यात्रु उपत्यकाबाट दैनिक बाहिरिने गरेको यातायात व्यवसायीले बताए।

सुपर डिलक्सको भाडा बढ्यो

अन्य बसभन्दा २० प्रतिशत बढी भाडा लिँदै आएका एसी र सुपर डिलक्स बसले थप २० प्रतिशत बढी भाडा लिन पाउने भएका छन्। अब एसी र सुपर डिलक्स बस चढ्नेले अन्य बसभन्दा ४० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ। आइतबारको विभाग–व्यवसायी बैठकमा वातानुकुलित बसले सामान्य बसभन्दा ४० प्रतिशत बढी भाडा लिन पाउने सहमति भएको हो।

सादा पोसाकमा प्रहरी

महानगरीय प्रहरी परिसर काठमाडौंलेे विगत वर्षमा दसैंका बेला टिकट मिलाइदिने बहानामा हुने ठगी नियन्त्रण गर्न उपत्यकाभर १ सय ५० जना सादा पोसाकमा प्रहरी परिचालन गरेको छ। परिसर मातहतका १५ वटा प्रहरी वृत्तबाट १०/१० जना सादा पोसाकमा १ सय ५० प्रहरी नयाँ बसपार्क, कलंकी, थानकोट, सादोबाटो, कोटेश्वर, गौशाला, जोरपाटीलगायत ठाउँमा शनिबारयता परिचालन गरेको छ।

प्रकाशित: ३ आश्विन २०७३ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App