१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘बाबाको आशीर्वाद' सत्ताको भर्‍याङ

तस्बिरः आचार्य बालकृष्णको ट्विटरबाट

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको अन्तिम दिन आइतबार रामदेवलाई भेट्न हरिद्वार पुगे। रामदेवले सञ्चालन गरेको पतञ्जली योगपीठ अवलोकन क्रममा पुगेका दाहाललाई रामदेवले स्वागत गरे। दाहाल मात्र होइन, नेपाली नेताहरू साधु, सन्तकोमा धाउने प्रचलन नयाँ भने होइन। बाबा, सन्तको आशीर्वादलाई नेताहरूले सत्ता टिकाउने अस्त्र मान्दै आएका छन्।

चर्काे मार्क्सवादीका रूपमा चिनिने दाहाल भारतीय योगगुरुको आश्रम पुग्नुलाई धेरैले अर्थपूर्ण मानेका छन्। पूर्वीय संस्कृतिका अध्येता मोदनाथ प्रश्रित अरु बेला अध्यात्मवादको विरोध गर्ने र अप्ठेरो पर्दा साधु–सन्तकोमा धाउने प्रवृत्तिलाई नेताहरूको कमजोरी मान्छन्। 'प्रष्ट धारणा राखेर राम्रा कुरा सबैबाट सिक्नुपर्छ,' उनले भने। प्रश्रितले नेता सबैसँग भिज्नुपर्ने, सबैका सोच बु‰नुपर्ने भएकाले दाहाल हरिद्वार पुगेको हुनसक्ने बताउँछन्।

'प्रचण्डमा एउटा विचलन छ, पहिले ढोंगी, पाखण्डी भनेर उडाउने, पछि त्यहीं पुग्ने,' प्रश्रितले भने, ‘उनको सैद्धान्तिक आदर्शमा चुल्बुली देखिन्छ।' स्मरणीय छ, दाहाल यसअघि भैंसी पूजा गरेर आलोचित बनेका थिए।

आध्यात्मिक दर्शन नमाने पनि योग, शान्तिजस्ता कुरा साधुबाट लिन सकिने प्रश्रितको धारणा छ। उनी भन्छन्, 'सच्चा नेताले सबैबाट सबै किसिमका गुण सिक्नु आवश्यक छ तर ढोङ गरेर होइन।'

उनका अनुसार नेताको मनभित्र एकखालको डर बसिरन्छ। 'म टिक्न सक्छु सक्दिन भन्ने डरले हात–चिना हेराउन जान्छन्,' उनले भने, ‘राजनेतामा आत्मविश्वास हुनुपर्छ। प्रचण्ड दौरा–सुरवाल लगाउँदैनन्, टीका लगाउँदैनन् तर बाहिर आडम्बर देखाउन व्यक्ति भित्री मनमा कमजोर हुन्छ।'

पुष्पकमल दाहाल चर्काे मार्क्सवादीका रूपमा चिनिन्छन्। प्रधानमन्त्री दाहाल हरिद्वार पुग्नुमा राजनीतिशास्त्री कृष्ण खनाल दुईवटा कारण देख्छन्। भन्छन्, 'पहिलो राजनीतिक प्रभाव हो। रामदेव मोदी सरकारको एउटा अभियानमै संलग्न व्यक्ति हुन्। उनले नेपाल र भारतका ठूलो समुदायमा प्रभाव छाड्न सफल भएका छन्।'

हरिद्धार पर्यटकीय ठाउँ भएकाले पनि दाहाल पुगेको हुनसक्ने उनको आंकलन छ। हरिद्वार जानु भनेको शान्तिसँग साक्षात्कार गर्नु पनि भएको उनको तर्क छ। खनाल भन्छन्, 'राजनीति गर्नेले धर्म, संस्कृतिको पनि उपयोग गर्छन्। दाहाल पनि हिन्दु समुदायमा हुर्केका हुन्। मार्क्सवाद त पछि स्विकारेका हुन्। मार्क्सवादसँगै जन्मेका त होइनन्!' उनका अनुसार नास्तिक हुन मार्क्सवादी हुनुपर्छ भन्ने छैन। कुनै पनि व्यक्ति पूर्णतया नास्तिक हुन नसक्ने बताए।

प्रधानमन्त्री दाहालका केही अघोषित उद्देश्य पनि हुनसक्ने उनी बताउँछन्। 'विगतको हत्या, हिंसाले नेपाली मनोविज्ञानमा पारेको प्रभाव मेट्न पनि हुन सक्छ,' उनले भने, ‘तीर्थले शान्तिको सन्देश बोकेको हुन्छ।'

दाहाल मात्र नभएर नेपालका प्रायः नेतामा आत्मविश्वास कमी भएकाले सन्तकहाँ धाउने गरेको उनी बताउँछन्। नेपालीको लोकप्रियतामा कमी  भएकाले नेपालका नेतृत्वकर्ता साधु, सन्तकहाँ धाउने परिपाटी देखिएको उनको तर्क छ।

यसअघि पनि नेताहरू साधु–सन्तका आश्रम र तीर्थ–धाम पुगेका थुप्रै उदाहरण छन्। बाग्लुङको नगरकोटमा स्वामी कमलनयनचार्यले २ अर्ब रुपैयाँको लागतमा सबैभन्दा ठूलो कलश निर्माण शिलान्यास गर्न नेताहरू चारवटा हेलिकप्टरमा बाग्लुङ पुगेका थिए। २०७१ मंसिरमा विश्व शान्ति कलश शिलान्यासमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, एनपी साउद, विमलेन्› निधि, हरिप्रसाद पराजुली, दीनानाथ शर्मा, प्रकाशशरण महत, माधव घिमिरे, सुजाता कोइराला, व्यवसायी चन्›प्रसाद ढकाल, एनआरएन पूर्वअध्यक्ष उपेन्› महतो, अजयराज सुमार्गीलगायतले सामूहिक शिलान्यास गरेका थिए।

...

२०७१ वैशाख १ मा स्वामी कमलनयनाचार्यले भक्तपुर छालिङस्थित पञ्चमहालक्ष्मी श्रीपीठमा यज्ञ लगाए। स्वामीको आशीर्वाद थाप्न  तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्› महतोलगायत नेता, व्यापारी र प्रशासकको भिड लाग्यो।

...

२०६९ चैत ८ मा नागार्जुनस्थित ओशो तपोवनमा आयोजित सम्बोधी दिवसमा राजनीति, आर्थिक, प्रशासनिकलगायत विभिन्न क्षेत्रका गन्यमान्यको उपस्थिति थियो। तपोवनका स्वामी आनन्द अरुणले 'समाज परिवर्तन राजनीतिक क्रान्तिले मात्र हुँदैन, बौद्धिक र आध्यात्मिक क्रान्ति पनि चाहिन्छ,' भनिरहँदा मन्त्री विमलेन्› निधि, नरहरि आचार्य, उद्योगपति विनोद चौधरी, उपेन्› महतो, जीवा लामिछाने, नेत्री हिसिला यमी, मुख्य सचिव लीलामणि पौडेल, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानसेनापति रुक्मांगत कटवाललगायतले पलेँटी कसेर सुनिरहेका थिए।

भौतिकवादमा विश्वास राख्ने शक्तिशाली हुँ भन्ने नेताहरूले पनि साधु, सन्तसँग गहिरो सम्बन्ध राखेका छन्।

प्रकाशित: ३ आश्विन २०७३ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App