coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठकबारे छलफल

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो। 

भेटमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, उर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र उर्जामन्त्रीको आगामी अक्टोवरमा हुन लागेको चीन भ्रमणको बिषयमा छलफल भएको थियो। नेपाल र चीनबीच पहिलोपटक उर्जा संयन्त्रकोे बैठक यही सेप्टेम्बर २७ र २८ गते काठमाडौंमा बस्दैछ। चीनसंग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ।  

भेटमा उर्जामन्त्री पुनले संयन्त्रको बैठकमा अन्तरदेशीय प्रशारण लाइन र जलविद्युत आयोजना निर्माण लगायतका विषयमा संयन्त्रको बैठकमा छलफल हुँदा त्यसले दुवै देशलाई फाइदा पुग्ने धारणा राखेका थिए। उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियां लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह समेत गरे।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका उर्जामन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी विम्स्टेक सदस्य राष्ट्रहरुबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियां लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे। उनले सरकारको विकास र समृद्धिको सपनालाई पुरा गर्न पनि लगानी आवश्यक रहेकोमा जोड दिए। 

बंगलादेशसंग भएको सम्झौताले समेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै उर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार विजुलीको आयात र निर्यातमा कुनै समस्या उत्पन्न नहुने बताए। 

भेटमा चिनियाँ राजदूत होङले उर्जामन्त्री पुनको पहलमा पहिलो पटक संयन्त्रको वैठक काठमाडौंमा बस्न लागेको भन्दै त्यसका लागि धन्यवाद दिइन। उनले संयन्त्र बनेपछि त्यसले दुवै देशको उर्जा क्षेत्रलाई फाइदा पुग्ने भन्दै त्यसले सम्भावनाको नयां ढोका खोल्ने विश्वास व्यक्त गरिन।

राजदूत होङले भनिन, ‘मन्त्रीज्यूको पहलमा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको छ, यो पहिलो पाइला भएपनि निकै महत्वपूर्ण बैठक हो, यो संयन्त्रबाट दुवै देशले आ–आफ्ना देशका समस्या र सम्भावनाहरु प्रष्टसंग राख्न सजिलो भएको छ।’ 

भेटमा चिनियाँ लगानीमा संचालित परियोजनामा भएका समस्या, नेपालले यसअघि वेल्ट एण्ड रोड फण्डमा पठाएका जलविद्युत परियोजना र प्रशारण लाइनहरुको अवस्था र आगामी दिनमा उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल भएको थियो। 

प्रकाशित: ३ आश्विन २०७५ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App