८ वैशाख २०८१ शनिबार
खेल

एसिया कप क्रिकेटः हङकङलाई २६ रनले पराजित गर्दै भारत अर्को चरणमा

काठमाडौं – हङकङलाई २६ रनले पराजित गर्दै भारतले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। युएईमा मंगलबार राति सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २८५ रन बनाएको थियो।

भारतका लागि शिखर धवनले शतकीय पारी खेल्दै सर्वाधिक १२७ रन बनाए। उनले १२० बलमा १५ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै अम्बाती रायडुले अर्धशतक बनाउने क्रममा ६०, दिनेश कार्तिकले ३३, केदार जादबले २८ र कप्तान रोहित शर्माले २३ रनको योगदान दिए। भारतका ४ जना खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।  

हङकङका किन्चित शाहले ३, एहसान खानले २ तथा औजाज खान र एहसान नवाजले एक–एक विकेट लिए। 

जवाफमा २८६ रनको लक्ष्य पछ्याएको हङकङले पूरै ५० ओभर खेल्दै ८ बिकेट गुमाएर २५९ मात्र बनाउन सक्यो। हङकङको शुरुआत भने उत्कृष्ट रह्यो। ओपनर ब्याट्सम्यान निजाकत खान र अंशुमान रथले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरेका थिए। निजाकतले ११५ बलमा १२ चौंका र १ छक्काको मद्दतमा सर्वाधिक ९२, कप्तान रथले ९७ बलमा ४ चौंका र १ छक्काको सहायतामा ७३ रन बनाए। त्यस्तै एहसान खानले २२, बाबर हयातले १८, किन्चित शाह १७ र तनविर अफ्जलले नटआउट १२ रन बनाएपनि हार टार्न सकेनन्। 

हङकङलाई पराजित गर्न भारतका खलील अहमदल तथा युजबेन्द्र चहलले ३–३ तथा कुलदिप यादबले २ विकेट लिए।

पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटले पराजित भएको हङकङले भारतविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो। हङकङ भारतसँग पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहबाट भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन्। 

समूहको अन्तिम खेलमा भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ।  अर्को समूहबाट बंगलादेश र अफगानिस्तान दोस्रो चरण प्रवेश गरेका छन्। दुवै खेल हारेको श्रीलंका भने बाहिरिसकेको छ। 

 

प्रकाशित: ३ आश्विन २०७५ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App