७ वैशाख २०८१ शुक्रबार
अर्थ

तरकारी बजारका ५७ सटरको सम्झौता खारेज

काठमाडौं – सरकारले कालीमाटी र बालाजु तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो।

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । ‘शंकास्पद ढंगले कारोबार गरेको सूचनापछि स्पष्टीकरण सोधेका थियौं,’ प्रवक्ता सुवेदीले भने, ‘ चित्त बुझ्दो जवाफ नआएपछि कारबाही गर्याैं।’

खारेजीमा पर्नेमा थोक, खुद्रा, माछा बजार, केज भण्डार, फलफूल पसल छन् । फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन नियमविपरीत सञ्चालन गरेकालाई कारबाही गरेको मन्त्रालयले जनाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिसँग सम्झौता गरेर अरुलाई महंगोमा भाडामा बिक्री गर्दै आएका थिए।

मन्त्रालयले एक सय ३१ व्यवसायीलाई सचेत गराएको छ भने ९८ व्यवसायी उपर कारबाही प्रकृया अघि बढाएको छ । दुई सय आठ व्यवसायीलाई सम्झौता पूर्ण परिपालना गर्न पत्राचार गरेको छ । भदौको पहिलो साता सरकारी अधिकारी अनुगमनमा जाँदा व्यापारीले हुलहुज्जत गरेपछि सरकारले छानबिन र कारबाही अघि बढाएको थियो।

बजारमा भएको कालोबजारी नियन्त्रण गर्न कानुनत अख्तियारी पाएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीमाथि आक्रमण गरेपछि सरकार आक्रामक रुपमा प्रस्तुत भएको हो । बिचौलियाले सटर महंगोमा बिक्री गर्दा त्यसको असर उपभोक्तालाई परेको सरकारी अधिकारी बताउँछन् । न्यून मूल्यमा भाडामा रहेका सटर वास्तविक पसल गर्नेले महंगोमा बिक्री गर्दा त्यसको मूल्य तरकारी तथा फलफूलमा जोड्ने गरेका छन्।

बजारलाई सिस्टममा ल्याउन व्यवसायी सहमत भए पनि सरकारको निर्णयले व्यापार गर्दै आएका केही व्यवसायीलाई असर पुगेको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘सरकारको निर्णयले वास्तविक व्यवसाय गर्ने मर्कामा परेका छन्,’ उनले भने, ‘बाहिर हल्ला गरे जस्तो बिचौलियाले धेरै भाडा लिएका छैनन् ।’ भाडा लिएर आफैं व्यवसाय नगरेर बिक्री गर्नेसँगको सम्झौता खारेज गर्नुपर्नेमा व्यवसायी पनि रहेको घिमिरेले बताए । तरकारी बजारमा किसानदेखि उपभोक्तासम्म पुग्दा विभिन्न तह निर्धारण गरेर बिचौलियाको कारण उपभोक्ताले महंगोमा तरकारी उपभोग गर्न बाध्य छन्।

प्रकाशित: ३ आश्विन २०७५ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App