७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रुसी विमानमाथि आक्रमण, १५ जनाको मृत्यु

मस्को – रुसी जासुसी विमानलाई सिरियामा क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खसालिएको रुसी रक्षा मन्त्रालयले मंगलबार जनाएको छ । आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रुसले दाबी गरेको छ । रुसले विमान आक्रमणमा इजरायलको हात रहेको आरोप लगाएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकुसँग भएको दोहोरो झडपपछि विमानमा क्षेप्यास्त्र प्रहार हुँदा चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

रुसी सेनाले दिएको जानकारीअनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रुसी हवाइ अखडामा फर्किरहेका बेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर माथि आक्रमण गरिएको थियो । इजरायली चालकले रुसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रुसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल  आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

रुसी रक्षामन्त्री सर्गेइ सोइगुले इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मंगलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताएका छन् । तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रुसी दाबीको खण्डन गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । रुसले विमानको भग्नावशेष र केही शवलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ । केही यात्रुको शव भने निकाल्ने कार्य जारी रहेको पनि रुसी अधिकारीलाई उद्धृत गर्दै एएफफीले जनाएको छ। 

इजरायलद्वारा दुःख व्यक्त
सिरियामा रुसी सैनिक विमानमाथि भएको आक्रमणका कारण त्यसमा रहेका यात्रुको मृत्युप्रति इजरायली सेनाले दुःख व्यक्त गरेको छ । आक्रमणका कारण भएको दुर्घटनामा चालक दलका सदस्य तथा अन्य रुसी अधिकारी परेको भन्दै इजरायली सेनाले जेरुसेलबाट दुःख व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

रुसले भने जस्तो विमान आक्रमणमा आफ्नो कुनै दोष नरहेको पनि इजरायलले बताएको छ । उसले घटनामा सिरियाली राष्ट्रपति बसर अल–असद र इरानलाई दोषी देखाएको छ । ‘विमान चालक दलका सदस्यलगायतका अन्य रुसी अधिकारीको सिरियाली विमानभेदी आक्रमणमा सोमबार राति भएको मृत्युप्रति इजरायल दुःख व्यक्त गर्दछ,’ विमान दुर्घटनाबारे इजरायली सेनाद्वारा पहिलो प्रतिक्रियास्वरूप जारी वक्तव्यमा भनिएको छ।

रुसी विमानलाई उडिरहेको अवस्थामा खसाल्नुमा असद सरकारको सैनिक पूर्णतया जिम्मेवार रहेको इजरायलले जनाएको छ । इरान र हेजबुल्लाह आतंककारी संगठनलाई पनि यो दुर्भाग्यपूर्ण घटनामा दोषी रहेको इजरायलले बताएको छ। 

प्रकाशित: ३ आश्विन २०७५ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App