८ वैशाख २०८१ शनिबार
शिक्षा

‘राजनीतिको भारीले त्रिभुवन विश्वविद्यालय थाक्याे’

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन विश्वविद्यालयका पदाधिकारी अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार बसेको त्रिवि सभाको अध्यक्षता गर्दै कुलपति ओलीले अब विश्वविद्यालयका पदाधिकारी तथा शिक्षकहरुले राजनीति गर्नुभन्दा पनि विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउन योजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन्।

‘विश्वविद्यालय राजनीतिको भारी बोक्दाबोक्दा थाकिसकेको छ,’ प्रधानमन्त्री ओलीले निर्देशन दिए, ‘अब शैक्षिक क्षेत्रलाई राजनीति मुक्त बनाएर उत्कृष्ट शैक्षिक केन्द्र बनाउने तर्फ तपाईंहरु योजना बनाएर मात्र अघि बढ्नुुस् ।’ उनले थपे, ‘सुशासन र समृद्धिको बाटोमा देशलाई अघि बढाउन दक्ष र समक्ष जनशक्तिको आवश्यकता छ । जुन विश्वविद्यालयले उत्पादन गनुपर्ने छ।’

त्रिविको साधारण बैठकले आर्थिक वर्ष २०७५–०७६ को लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । प्रस्तावित बजेटमा रु ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानको रुपमा माग गर्ने र बाँकी रु ९ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट बेर्होने प्रस्ताव गरिएको हो।

त्रिवि सभाको साधारण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बनाउने सक्षम दक्ष जनशक्ति निर्माण गरेर विश्वकै अब्बल विश्वविद्यालयको रुपमा त्रिभुवन विश्वविद्यालय अघि बढ्नुपर्ने बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराज मणि पोखरेलले विश्वविद्यालयको उत्पादन अध्ययनशील हुनुको साथै राष्ट्रको आवश्यकता अनुकूल हुनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न नसकेको औंल्याए । ‘त्रिविले विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न नसकेकाले नै विदेशी विश्वविद्यालयका कार्यक्रमहरु नेपालमा संचालन गर्नु परेको हो,’ मन्त्री पोखरेलले भने, ‘अब पनि त्रिविले यसबारे नसोचे हाम्रा विश्वविद्यालय विश्व र्यांकिङमा स्थान हासिल गर्न चुनौती खेप्नुपर्छ ।’ मुुलुकमा अब परम्परागत विषयमा भन्दा मौसम परिवर्तन, आर्थिक विकास र प्रविधि लगायतका विषयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविले नेपालको समस्त क्षेत्रको विकासका लागी आवश्यक जनशक्ति तयार गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न, कला, विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक र समयसापेक्ष बनाउन स्थापनाकालदेखि नै क्रियाशील रहेको दाबी गरे।

‘विश्वविद्यालय विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको छ,’ उपकुलपति खनियाँले भने, ‘सम्पूर्ण अध्ययन संस्थान, संकाय, केन्द्रीय विभाग एवम् आंगिक क्याम्पसलाई उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्दै जाने हो ।’ उनले थपे, ‘अब २०३०सम्म त्रिविलाई विश्वका हजार रैंकिङमा पार्ने हाम्रो लक्ष्य हो ।’ सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पती शास्त्रका प्राडा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र संकायका डिन प्राडा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ।

प्रकाशित: ३ आश्विन २०७५ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App