लसएञ्जल्स – ७० औं संस्करणको ‘प्राइमटाइम एमी अवार्ड’ मा चर्चिट टेलिभिजन शो ‘गेम अफ थ्रोन्स’ ले नौ अवार्ड जितेको छ । यो फिल्मले चार वर्षमा तेस्रो पटक ‘बेस्ट ड्रामा शो एमी अवार्ड’ पनि जितेको छ।
अवार्डमा ‘गेम अफ थ्रोन्स’का लागि पिटर डिन्क्लेज ‘सर्पोटिङ एक्टर इन ड्रामा सिरिज’ बने । टेलिभिजन शो ‘दि असाइनेशन अफ जियानी वर्साचे’ले चार विधामा अवार्ड जित्यो । ‘द क्राउन’, ‘द हेन्डमेड्स टेल’ र ‘द मार्वलस मिसेज माईसेल’ले तीन–तीन विधामा अवार्ड जिते।
‘गेस्ट एक्टिङ’को अवार्ड ‘सेटरडे नाइट लाइव’का लागि टिफनी हैडिश, ‘दिस इज अस’ का लागि रन सेफास जोन्स, ‘द हेन्डमेड्स टेल’का लागि समीरा विले र ‘अटलान्टा’ का लागि केट विलियम्सलाई प्रदान गरियो।
अवार्डमा ड्रामा सिरिज ‘द क्राउन’मा एलिजावेथ द्वितियको भूमिका निर्वाह गरेकी क्लेयर फोयले ‘बेष्ट एक्ट्रिस’को अवार्ड जितिन् । वेस्ट कलाकार मेक्यू रहेसले ड्रामा सिरिज ‘द अमेरिकन्स’का लागि ‘बेस्ट लिडिङ एक्टर’को अवार्ड चुमे। अवार्डमा ‘दी मार्भलियस मिसेस माइसेल’ले पाँच कमेडी विधाको अवार्ड जित्यो।
गत वर्ष अवार्ड जितेको टेलिभिजन शो ‘एटलान्टा’ र ‘द हेण्डमेड टेल’ यसपटक रित्तो हात घर फर्किनु पर्याे । ‘द हेण्डमेड टेल’को दोस्रो सिजनका लागि नायिका इलिसावेथ मोसले अवार्ड जित्ने अनुमान गरिए पनि यसपटकको अवार्ड फोयको पक्षमा गयो । फोयले ‘दी क्राउन’मा निभाएको भूमिका आफ्नो अढाई वर्षको करियरमा सबैभन्दा उत्कृष्ट रहेको बताइन्।
ड्रामा सिरिज ‘वेस्टवल्र्ड’का लागि थान्डी न्यूटनले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्ड जितिन् । जोन ओलिभरले सञ्चालन गर्ने शो ‘द लास्ट विक टुनाइट’का लागि उनले ‘बेष्ट भेराइटी टक सिरिज’को अवार्ड जिते।
अवार्डमा ‘द अमेरिकन’का लागि जोएल फिल्ड र जो वेसबर्गले ‘बेस्ट राइटिङ ड्रामा सीरीज’, ‘द क्राउन’का लागि स्टीफन डाल्ड्रीले ‘बेस्ट डाइरेक्टिङ ड्रामा सीरीज’, ‘बैरी’का लागि बिल हैदरले ‘बेस्ट एक्टर कमेडी सीरीज’, ‘द मार्वेलियस मिसेस मैसल’का लागि राहेल ब्रोस्नाहनले ‘बेस्ट एक्ट्रेस कमेडी सीरीज’को अवार्ड जिते।
त्यस्तै ‘बैरी’कै लागि हेनरी विंकलर ‘बेस्ट सपोर्टिङ एक्टर’, ‘द मार्वेलियस मिसेज मैसल’का लागि एलेक्स बोरस्टीनले ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’, एमी शेरमेन–पाल्लाडिनो ‘बेस्ट राइटिङ कमेडी सीरीज’, एमी शेरमेन–पाल्लाडिनो ‘बेस्ट डायरेक्टिङ ड्रामा सीरीज’ बने।
यस्तै एन्थोलोजी सिरिज ‘ब्ल्याक मिरर’को चौथो श्रृंखलाको पहिलो भाग ‘यूएसएस केलिस्टर’ले ‘आउटस्टेन्डिङ टेलिभिजन फिल्म अवार्ड’ र टेलिभिजन सिरिज ‘स्टार ट्रेक’ले ‘गभनर्स अवार्ड’ पायो । कार्यक्रममा ‘स्टार ट्रेकः डिस्कवरी’का झण्डै सय बढी सदस्यको सहभागिता थियो।
प्रकाशित: ३ आश्विन २०७५ ००:०८ बुधबार