coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एकतर्फी प्रेममा रहेका छिमेकीबाटै एसिड आक्रमण, कीर्तिपुरबाट पक्राउ

रौतहट– रौतहटमा गत हप्ता दुई बालिकामाथि एसिड प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी जनालाई पक्राउ गरेको छ। आफ्नै घरमा सुतिरहेका चन्द्रपुर नगरपालिका ६ की दुई किशोरीमाथि एसिड प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले एकजना छिमेकीलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

गत हप्ता चन्द्रपुर ६ का जादवलाल दासका दुई छोरीहरु १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दास आफ्नै घरमा सुतिरहेको बेला मध्यरातमा दुवैजनामाथि एसिड प्रहार भएको थियो। एसिड प्रहारबाट गम्भीर घाइते भएपछि दुवै जनाको काठमाडौंमा उपचार भइरहेको छ। 

घाइते किशोरीहरुका पिता जादवलाल दासले प्रहरीमा गाउँकै ५० वर्षीय रामबाबु पासवानले एसिड प्रहार गरेको भन्दै किटानी जाहेरी दिएपछि पासवानलाई पुलिसले पक्राउ गरेको छ। पासवानले १५ दिनमा १ सय ८० पटक दासकी जेठी छोरी गम्भीर घाइते सम्झना दासलाई फोन गरेको पाइएको छ।

पटक पटक फोन गर्ने तर किशोरीले फोन रिसिभ नगरेको झोंकमा रिसाएर पासवानले राति एसिड प्रहार गरेको हुन सक्ने देखिएको छ। पासवानले एकतर्फी प्रेम गरेको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले जानकारी दिएका छन्।

पासवानको मोबाइल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट अनुसन्धानको लागि घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेको छ।

घटनाको विषयमा रौतहट प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बालिकामाथि एसिड प्रहारको घटना निकै संवेदनशील भएकोले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ।

जिल्ला अदालतबाट ८ दिनको म्याद थप गराई घटनाको विषयमा गहन अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

भिडियाे:

 

प्रकाशित: २ आश्विन २०७५ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App