८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहन्छौं : कर्ण

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाई रहने बताएका छन्। 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘हामीले यसअघि पनि दुई पटक कालो दिवस मनाई सकेका छौं। भोलि पनि हामी कालो दिवस नै मनाउँछौं। देशैभरि विभिन्न जिल्लामा हामी प्रदर्शन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ।’

उनले भोलि संविधान दिवसलाई कालो दिवस मनाउनको लागि आफ्नो पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको पनि जानकारी दिए। 

संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाइते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको बताउँदै उनले भने, ‘अहिले पनि सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको छ। त्यसकारण हामीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका हौं।’ 

यद्यपी उनले आफूहरु सुरुदेखि नै संविधान संशोधनको माग गरेको भएपनि संविधान पूनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पारे।

नेता कर्णले सरकारले अहिलेसम्मपनि संविधान संशोधनको लागि कुनै होमवर्क नै नगरेको गुनासो पोखे। उनले भने, ‘तपाईहरु हेर्दै जानुहोस्, भोलि हजारौं जनता जुलुसमा उत्रिन्छन्। संविधानलाई लिएर लाखौं व्यक्तिहरु असन्तुष्ट छन्। जहिलेसम्म हाम्रो माग पूरा हुँदैन्। वा संविधान संशोधन हुँदैन, तबसम्म हामी कालो दिवस मनाईरहन्छौं।’ 

उनले आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे दशैं तिहारपछि मात्रै ठोस निर्णय लिने जनाए। उनले भने, ‘दशैं, तिहार मनाएपछि हामी सरकारबाट समर्थन फिर्ता लिनेबारे निर्णय लिन्छौं।’

प्रकाशित: २ आश्विन २०७५ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App