४ वैशाख २०८१ मंगलबार
राजनीति

बेल्जियममा देउवा पक्षद्वारा पौडेलको कार्यक्रम बहिष्कार

लन्डन – युरोप भ्रमणमा रहेका नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएको कार्यक्रम कांग्रेसकै नेता र कार्यकर्ताले बहिष्कार गरेका छन्। सोमवार नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको कार्यक्रम पार्टी सभापति शेरबहादुर देउवा निकट नेता तथा कार्यकताले बहिष्कार गरेका हुन्। बेल्जियमको लुभनमा बिपी जयन्तीका अवसरमा ‘लोकतन्त्र, समाजवाद र नेपालको राजनीति’ विषयक बृहत अन्तरक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो।

नेता पौडेलले आइतबार लग्जेम्बर्गमा बोल्दै पार्टी सभापति देउवाको अपमान गरेको भन्दै सो समूहले पौडेलको कार्यक्रम बहिष्कार गरेको नेपाली जनसम्र्पक समिति युरोपका महामन्त्री गंगाधर गौतमले जनाए।

यसअघि कार्यक्रम आयोजक नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुवास गुरुङले बेल्जियम भ्रमणमा रहेका नेता रामचन्द्र पौडेलको कार्यक्रम बहिष्कार गर्न जनसम्पर्क समिति बेल्जियमको तर्फबाट परिपत्र गरेका थिए।

विवादकाबीच सुरु भएको अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेसले बिपी कोइरालाको सिद्धान्त विर्सेको भन्ने आरोप गलत भएको तर्क गर्दै बिपी कोइराला कहिलै पनि राजतन्त्रको पक्षमा नभएको बताए। कांग्रेस गणतन्त्रको पक्षमा लाग्यो भन्दैमा बिपीको सिद्धान्त छोडेको भन्न नमिल्ने उनको तर्क छ।

उनले नेपालको संविधानले संसारमै नभएको आरक्षणको व्यवस्था गरेको बताउँदै संविधान स्वयम नै नेपाली कांग्रेसले बिपीको बाटो नछाडेको प्रमाण भएको बताए।

पौडेलले प्रधामन्त्री केपी ओलीलाई पहाडिया राष्ट्रवादको प्रवक्ता भएको आरोप लगाए। उनले भने ओली चर्को राष्ट्रवादको कुरा गर्ने तर हिमाल पहाड तराइलाई एकताको सूत्रमा बाध्न गम्भीर भएनन्। प्रधानमन्त्री ओलीले मधेसका जनतामाथि अपमानजनक शब्द प्रयोग गरेर भड्काउने र चिढाउने काम गरेको नेता पौडेलको आरोप थियो।

नेपाली जनसम्पर्क समिति बेल्जियकी सभापति सीता सापकोटाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सहभागी हुन युरोपका बिभिन्न देशबाट कांग्रेस कार्यकर्ता बेल्जियम जम्मा भएका थिए।

प्रकाशित: २ आश्विन २०७५ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App