१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डढुवाले चिया सखाप

इलामको सूर्याेदय नगरपालिका–८, सिद्धिगाउँका किसान तुलसीराम भट्टराईको बगानमा डढुवा रोग लागेर मर्दै गरेको चियाको मुना। तस्बिर : भीम/नागरिक

सिद्धिगाउँ (इलाम) - सूर्याेदय नगरपालिका–८, सिद्धिगाउँका तुलसीराम भट्टराईले आफ्नो ३० रोपनी जमिनमध्ये २५ रोपनीमा चियाखेती गरे। तर, चियाले बारी ढकाएको १० वर्ष नबित्दै यस्तो रोग देखाप-यो कि, कुनै घरेलु उपचारले त्यसलाई छोएन।

‘सुरुमा टिप्नेबेलाको पत्तीमा कालो थेग्ला बस्ने, त्यही थेग्ला मुना, पात सबैतिर ढाकेर बोटै कालो हुने र पातमा फोका आउने समस्या गम्भीर देखियो,’ उनले भने, ‘यही सिजन (वैशाखयता)मा सुरु भएको रोगले ५ रोपनीमा लगाएको चियाको मुना सबै सोत्तर भयो ।’ भट्टराईले चियामा देखिएको डढुवा भनिने यो रोग बगानभर बढिरहेको बताए । ज्यादै छिटो एकबाट अर्काे बोटमा सरिरहेको यो रोगले आउँदो सिजनसम्ममा सबै चिया मासिने डर भट्टराईलाई छ । ‘सुरुका ५ वर्ष चिया रोप्दैमा बित्यो, ठिक्क आम्दानी दिन थालेपछि अज्ञात रोगले बगानै सकिएला भन्ने पीर छ,’ उनले सुनाए, ‘यो रोगको उपयुक्त उपचार कतै भेटिएन।’

२०६२ सालमा साना किसान सहकारीबाट ऋण लिएर चियाखेती थालेका भट्टराई चियामा रोग नदेखिउञ्जेल प्रत्येक साता १ हजार ३ सय किलोसम्म हरियो चियापत्ती बेच्थे । ‘रोगकै कारण अहिले उत्पादन घटेर साताको ४ सय किलोमा झरेको छ,’ उनले भने, ‘डढुवा मात्र होइन, चियामा सिँदुरे रोगको प्रकोप पनि बिस्तारै फैलिँदैछ ।’ भट्टराईको चियाबाहेक अन्य आम्दानीको स्रोत छैन । एक माउ गाई पाल्छन् उनी । चियाबाट भएको आम्दानीले घरखर्च चलाउँछन् । ‘चियामा रोग लागेपछि आम्दानीको बाटो नै बन्द भयो,’ उनले सुनाए।

हरियो पत्ती टिप्ने बेला चियामा देखिएको डढुवाको प्रकोपले कन्यामका अर्का किसान तेजबहादुर पौडेलको बगान पनि सकिन लागेको छ । वैशाखपछि जुरुरु पत्ती पलाएर हरियै देखिनुपर्ने चिया बगान अहिले कालो भएको छ । ‘वर्षमा १२ हजार किलोसम्म उत्पादन भइरहेको हरियोपत्ती यो वर्षदेखि एक तिहाइमा झरेको छ,’ उनले सुनाए, ‘एक तिहाई उत्पादन पनि फस्ट–सेकेन्ड फ्लस (पहिलो–दोस्रो टिपाइ)को हो । अब त चिया टिप्न भनेर बगान नपस्दा पनि हुने भइसकेको छ।’

डढुवा रोगको प्रकोपले भट्टराई, पौडेल र अर्का किसान विक्रम पौडेलको मात्र होइन, सिद्धिगाउँ टोलका सबैजसो किसानको चिया सखाप भइसकेको छ । कसैको बगान रोगले पूरै ढाकेको छ भने कसैकोमा रोग सुरु भएको छ । स्थानीय कन्याम चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष ख्याम प्रधान किसानलाई चियामा देखिएको डढुवा प्रकोपले निरास बनाएको बताउँछन् । ‘डढुवाले एउटा टोलको सबै चिया सखाप भइसकेको छ,’ उनले भने, ‘सरकारीमा आबद्ध १ सय ४९ सहित गाउँका करिब २ सय किसानले लगाएको चियामा डढुवाको असर देखिएको छ।

प्रधानले रोगले भेटेपछि किसानले चियाका बोट फाँड्नसमेत थालेको बताए । घरेलु उपचारले नभएपछि किसानले चिया नै मास्न थालेका हुन् । बोटमा देखिएको संक्रमणकै कारण सहकारीले सञ्चालन गरेको प्रशोधन कारखानामा हरियो चियापत्तीको परिमाण यो वर्ष घटेको छ । उद्योगले बर्सेनि करिब १ लाख किलो तयारी चिया बनाइरहेकामा यो वर्ष आधामा झर्ने सम्भावना रहेको अध्यक्ष प्रधान बताउँछन्।

किसानका अनुसार चियालाई अर्गानिक बनाउने प्रक्रिया थालिएपछि रोगको संक्रमण बढी भएको हो । ‘रासायनिक मल र विषादी हालुञ्जेल चियामा रोग लाग्न पाउँदैनथ्यो,’ किसान भट्टराईले भने, ‘अर्गानिकको प्रक्रियामा गएपछि चियामा घातक रोग लागेको हो ।’ चिया अर्गानिक बनाउन ३ वर्षको प्रक्रिया पार गर्नुपर्छ । यो अवधिभर जैविकबाहेक कुनै रासायनिक मल र विषादी प्रयोग गर्न हुँदैन । सूर्याेदय नगरपालिकालाई ३ वर्षभित्रमा अर्गानिक उत्पादनको नगर बनाउने घोषणासँगै किसानले चिया पनि अर्गानिक बनाउन थालेका हुन् । तर, रोगले चिया मासिने डर भएकाले जैविक मल र विषादी सहज बनाउन स्थानीय सरकारसँग किसानले मागसमेत गरेका छन्।

जिल्लाभरकै किसानले खेती गरेको चियामा महिना दिनयता डढुवा रोगको प्रकोप अत्यधिक देखिएको छ । केन्द्रीय चिया सहकारी संघका अनुसार इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालगायत सबै जिल्लामा डढुवाले चिया सखाप बनाउँदैछ । लेकाली भेगको बगानमा डढुवाको प्रकोप बढी छ भने औलाली भेगमा अलि कम छ । संघ अध्यक्ष गोविन्द दाहालले ६० प्रतिशत किसानको बगानमा डढुवा रोग फैलिएको बताए । ‘यो रोगले चियाको मुना मर्नेजति त मरिगयो, बचेको पत्तीमा कालो छिर्का बस्दा तयारी चियाको गुणस्तरमा गम्भीर असर गरिरहेको छ,’ उनले भने, ‘ब्ल्याक टी बनाउँदा त ठिकै छ, ग्रिन टी बनाउने पत्ती चाहिँ यो रोगले सक्यो भन्दा पनि हुन्छ ।’ संघमा १ सयभन्दा बढी सहकारी आबद्ध छन् । ती सहकारीमा रहेर चिया खेती गर्ने किसानको संख्या ३० हजार हाराहारी रहेको उनले जनाए।

चियामा देखिने रोग निदान गर्न नन्अर्गानिक विषादी प्रभावकारी हुने भएपनि अर्गानिक चियामा त्यस्तो विषादी हाल्न नहुने उनले जनाए । ‘किसानले यो रोग कस्तो हो भन्ने नै थाहा पाएका छैनन्,’ उनले भने, ‘किसानको पहुँचमा चियाविज्ञ नभएकाले रोगबारे किसानले थाहै नपाई हरियो पत्ती सकिएला भन्ने त्रास छ ।’ उनले अर्गानिक चियामा घरेलु विषादी मात्रै प्रयोग हुने तर कस्तो विषादी चाहिने हो भन्ने थाहा नपाएको बताए । गतवर्षहरूमा पनि यो रोग चियामा नदेखिएको होइन । तर, टिपाइको सिजन सकिएपछि (कात्तिक लागेपछि) मात्रै देखिने यो रोगले अहिले मुख्य सिजनमै आक्रमण गर्दा पत्ती उत्पादनमा असर पुगेको किसान बताउँछन्।

चियाविज्ञ चन्द्रभूषण सुब्बाले बढी चिसो र हुस्सु लाग्ने ठाउँमा लाग्ने यो रोग ढुसीजस्तो भएको बताए । उनले यो रोग स्याहार नपुगेको बोटमा बढी लागेको हुनसक्ने भएकाले अर्गानिक चियालाई पुग्दो मल र जैविक औषधि प्रयोग गर्न सुझाए । ‘चियालाई स्याहार पुगेन भने मुनामा कालो दाग बस्ने र फोका आउने हुन्छ,’ उनले भने, ‘यो रोग लागेको चियाको मुना टिपेर प्याँकिदिएर अन्यत्र फैलिनबाट जोगाउनुपर्छ । तर, यो रोगले चियाको बोट  मरिहाल्ने चाहिँ हुँदैन । अर्काे चोटी फेरि पलाउँछ ।’ उनले कमजोर बिरुवामा यो रोगले बढी आक्रमण गर्ने भएकाले मलखाद र बोटको स्याहारमा ध्यान दिन किसानलाई आग्रहसमेत गरे।

प्रकाशित: २ आश्विन २०७५ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App