८ वैशाख २०८१ शनिबार
खेल

पिकलबलबाट नेपाल चिनाउने लक्ष्य

काठमाडौं – पिकलबल नेपाली खेलकुदमा परिचित नाम होइन । ब्याडमिन्टन, टेबल टेनिस र टेनिसको मिश्रित रूपजस्तो देखिने यो खेल नेपालमा औपचारिक रूपले प्रवेश गरिसकेको छैन । तर यो खेलका शौखिन सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङले झन्डै एक वर्षअघि आफ्ना परिचितसँग चिनाएको पिकलबलले नेपालमा आफ्नो हैसियत चाँडै स्थापित गरिसकेको छ।

औपचारिक रूपमा यसको छुट्टै संघ वा संस्था नभए पनि गुरुङकै नेतृत्वमा जनवरीमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ । जनवरी १८ र १९ मा दुई दिन पोखरा रंगशालास्थित नवनिर्मित कभर्डहलमा गर्ने योजना राखिएको अन्तर्राष्ट्रिय उपकारी पिकलबल प्रतियोगितामा नेपाल, भारत, बेलायत र अमेरिकाका गरी ४० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गुरुङले नागरिकलाई जानकारी गराएका छन्। 

ब्याडमिन्टनकै जस्तो कोर्टमा खेलिने यो खेलमा टेबल टेनिसको जस्तो ब्याटले प्लास्टिकको बल हानिन्छ । नेटचाहिँ टेनिसको जस्तो हुन्छ । ब्याडमिन्टन जसरी प्वाइन्ट काउन्ट हुने खेलमा पावरभन्दा प्लेसिङको बढी महत्व हुन्छ । ‘यसको बलमा प्वाल हुने कारण हल्का हुन्छ । टेबल टेनिसकै जस्तो भए पनि त्योभन्दा ठूलो ब्याटले खेलिने कारण यसमा पावर धेरै लाग्दैन । जसले प्लेसिङ खेल्न सक्यो, उसैले प्वाइन्ट स्कोर गर्न सक्छ । यो खेलमा उचाइ र पावर धेरै नचाहिने भएकाले अन्तर्राष्ट्रिय स्तरमा नेपालले पदक जित्ने सम्भावना पनि बलियो छ।

ब्याडमिन्टनकै जस्तो कोर्टमा खेलिने यो खेलमा टेबल टेनिसको जस्तो ब्याटले प्लास्टिकको बल हानिन्छ । नेटचाहिँ टेनिसको जस्तो हुन्छ । ब्याडमिन्टन जसरी प्वाइन्ट काउन्ट हुने खेलमा पावरभन्दा प्लेसिङको बढी महत्व हुन्छ।

यहाँ यो खेल कसैले खेल्दैन, त्यसैले मैले ल्याएको हो,’ व्यक्तिगत प्रयासमै पछिल्लो डेढ दशकदेखि नेपालको पर्यटन प्रवद्र्धनमा विभिन्न कार्यक्रम गर्दै आएका बेलायत निवासी सामाजिक अभियन्ता गुरुङले भने, ‘नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ । यसलाई सफल पार्न नेपालमा बस्ने भए, पनि एनआरएन भए पनि सबै नागरिकले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । हामीले पनि त्यही अभियानमा सहयोग पुगोस् भनेर नेपालमा अन्तर्राष्ट्रिय च्यारिटी पिकलबल प्रतियोगिता गर्न लागेका हौं।’

गुरुङ संस्थापक रहेको सहारा युके र युवा एनआरएनहरूको संस्था नाइन ग्रुपको संयुक्त आयोजनामा पोखरामा प्रतियोगिता हुन लागेको हो । नाइन ग्रुपमा समेत अध्यक्ष रहेका गुरुङले पिकलबल खेल पर्यटन प्रवद्र्धनमा प्रभावकारी हुने कारण पोखरालाई आयोजनास्थलको रूपमा चयन गरिएको बताए । ‘झन्डै ६० वर्षअघि अमेरिकामा त्यहाँको एउटा धनी परिवारले रिक्रिएसनका क्रममा सुरु गरेको खेल भएकाले यसमा अहिले पनि त्यस्तै मानिसहरू लागिरहेका छन् । धेरै पावर नचाहिने भएकाले प्राय उमेर ढल्किएकाहरुको यो खेलमा लगाव छ । जुन नेपालजस्तो प्राकृतिक रूपले सुन्दर देशको पर्यटन प्रवद्र्धनमा लाभदायी बन्न सक्छ,’ गुरुङले भने, ‘पछिल्लो समय यसमा युवाहरूको पनि लगाब बढ्दो छ । युवाहरूको आगमनले यसलाई प्रतिस्पर्धात्मक बनाएको छ । त्यो पनि हामीलाई अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न लाभदायी हुन्छ।’

अमेरिकाको वासिङ्टनस्थित ब्रेनब्रिज आइल्यान्डबाट १९६५ को वर्षायाममा पिकलबलको सुरुआत भएको इतिहास भेटिन्छ । अमेरिकाका पूर्वसांसद जोइल प्रिटचार्ड र उनका मित्रहरू बिल बेल र बार्ने म्याककलमको परिवार बिदा मनाउने क्रममा गल्फ खेलेर फर्किएपछि आफू बसेको ठाउँमा उपपलब्ध सामग्रीहरूसँग जिस्कँदै रमाइलो गर्ने क्रममा पिकलबल खेल सुरु भएको बताइन्छ । ब्याडमिन्टनको कोर्टमा टेनिसको जसरी नेट हालेर त्यही प्राप्त प्लास्टिकको बललाई टेबल टेनिसको ब्याटले हान्दै जिस्कँदा बल बाहिर गइरहन्थ्यो । बल बाहिर जाँदा पिकल नाम गरेको प्रिटचार्डको कुकुरको काम त्यो बल ल्याउने हुन्थ्यो । त्यही भएर खेलको नाम नै पिकलबल राखिएको बताइन्छ।

ब्रेनब्रिज आइल्यान्डको त्यो अनुभव रमाइलो मानेका सांसद प्रिटचार्डले फर्किएपछि घरमा पनि त्यस्तै कोर्ट बनाएर दिनहुँ परिवार तथा साथीभाइसँग पिकलबल खेल्न थाले । पाहुनाहरू आउँदा पनि पिकलबल खेलले निरन्तरता पाउन थाल्यो । धेरै पावर नचाहिने कारण टेनिस लोकप्रिय रहेको अमेरिकामा यसले टेनिसको विकल्पका रूपमा बूढाबूढीको लगाब पूरा गर्न थाल्यो । बिस्तारै अमेरिकाका ठाउँ विशेषमा लोकप्रिय बन्दै गएको पिकलबल ती अमेरिकीको सानिध्य भएका अन्य देशमा पनि विस्तारित हुँदै गयो। 

नेपालमा भने भर्खर अनौपचारिक रुपमा भित्रिएको यो खेल गुरुङ आफंै पढेको भानुभक्त स्कुलका केही विद्यार्थी र नेपाल पुलिस तालिम केन्द्रमा केहीले खेल्ने गरेका छन् । मिक्स डबल्स, पुरुष डबल्स र महिला डबल्स विधा समावेश प्रतियोगितामा यसपालि नेपालका तर्फबाट पुलिस र भानुभक्तका खेलाडीले सहभागिता जनाउने बताइएको छ। 

‘अहिले भानुभक्तका केही विद्यार्थी र पुलिस तालिम केन्द्रमा अभ्यास भइरहेको छ । यो प्रतियोगितामा पुलिसबाट दुई पुरुष र दुई महिला तथा भानुभक्त स्कुलबाट दुई पुरुष खेलाडीको सहभागिता हुने कुरा छ,’ गुरुङले भने, ‘यसबाहेक भारतबाट २० तथा अमेरिका र बेलायतबाट १०÷१० जना आउनेछन्।’

प्रकाशित: २ आश्विन २०७५ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App