निराशाबीचको आशा

मङ्गलबार, ०२ असोज २०७५, ०८ : ५७ पुरञ्जन आचार्य

गएको हप्ता मलाई प्रदेश नम्बर एकको केही सहर र गाउँ भ्रमण गर्ने अवसर जुट्यो । यस्तो अवसर बिपी कोइरालाको १०५आैँ जन्मजयन्तीको सुखद उपलक्ष्यमा सम्भव भयो । यस प्रकरणमा घुम्दा मैले धेरै वर्षपछि बिपीका सच्चा अनुयायी र बिपी विचारको सारगर्भित उत्खनन् भएको देखेँ।

बिपी कोइरालालाई एकांकीरूपमा बुझ्न चाहने कांग्रेस यो पटक केहीमाथि उठेर‘राजा र बिपी’  मिल्ने सन्दर्भमात्र बिपी विचार थिएन, होइन भनी बुझ्न खोजेको भेटेँ । कांग्रेस ‘बिपीमा रिभिजिट’ गर्न आलश्य त्यागेको कांगे्र्रसबारे भविष्यमा लेख्नेछु । तर घुम्दा/डुल्दा आमनागरिकबीच वर्तमान सरकारबारे उठेका प्रश्न र आशाहरू अहिले नै लेख्नुपर्ने आवश्यकता बोध भयो । यसलाई मैले आफ्नो राष्ट्रिय कर्तव्य नै ठानेँ भन्दा पनि हुन्छ।

पहिलोअनुभूति
नेपालको विकासमा विविध क्षेत्रमा सहयोग गरिरहेका एकजना विदेशी नागरिकसँग यो हप्ता जम्काभेट भयो । विकास र समृद्धिमा लामो समयदेखि उल्लेख्य सहयोग गर्दै आइरहेको दातृ संस्थासँग आबद्ध ती विदेशीले दुईतिहाइको सरकारबाट पनि नेपालमा आर्थिक विकास अगाडि बढ्न नसकेकामा गम्भीर चिन्ता व्यक्त गरे । उनी वर्तमान प्रम र अर्थमन्त्रीको कार्यशैलीबाट आजितमात्र होइन, तीनछक्क परेका रहेछन्।

अहिले सबै मन्त्री, पार्टी कार्यकर्ता र नोकरशाही प्रम ओलीको बोलीबाट थर्कमान छन् । बोल्न डराउँछन् ।  यस्तो डर र त्रासमा राखेर राज्य सञ्चालन सम्भव छैन।

प्रधानमन्त्रीसँग कुनै पनि किसिमबाट संवाद र सूचना आदान–प्रदान गर्न संभव नदेखिएको उक्त दातृनिकायका प्रमुखले मलाई भने । उनले थपे– ‘प्रम साँच्चिकै कम्युनिस्ट पार्टीझैँ शासन गर्न थालेका हुन् नेपालमा ?’ मलाई ननिको लाग्यो र भनेँ– ‘यो सरकार लोकतान्त्रिक माध्यमबाट आएको हो तसर्थ त्यस्तो कम्युनिस्ट रिजिमझैँ प्रम फलामको डण्डापछाडि बस्दैनन् ।’मेरो कुरा दातृविज्ञले नपत्याएको उनको अनुहारबाट बुझिन्थ्यो।

अनुभूति दुई
अर्थमन्त्रीको सोच नेपालको समष्टि विकासमा भन्दा पनि दातृनिकायसँग पैसा माग्नुबाहेक अरु केही नभएको निष्कर्ष सुनाए एकजना अर्का दातृनिकाय प्रमुखले । कुनै पनि दातृनिकायले नेपाल सरकारलाई बिनाआधार र कार्यक्रम पैसाको पोको दिँदैन । आफ्नो देशको नागरिकले कर तिरेको  पैसा सिधै दिने हैसियत आजको विश्वमा कसैसँग नभएको कुरा विद्वान्अर्थमन्त्रीलाई हामीले भन्नुपर्दा राम्रो लाग्दैन– उनले थप भने । विगतमा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा देशको अर्थतन्त्रलाई ‘ट्रयाक’ मा ल्याउन वर्तमान अर्थमन्त्री युवराज खतिवडाले देखाएका साहसी कामहरू यतिखेर‘मिथ’ झैँ भएका छन् उनको कार्यशैली हेर्दा । अर्थमन्त्रीको क्षमता कहाँ हरायो? यसको उत्तर प्रमसँग मात्र छ ।दातृनिकायबीच यसबारे पनि चर्चा छ।

अनुभूति तीन
सरकारलाई सघाउने स्थायी सत्ता नेपालको नोकरशाही यतिखेर कम्युनिस्ट नेता, कार्यकर्ता र मन्त्रीहरूसँग आफ्नो ‘लोयल्टी’ देखाउनमा ब्यस्त रहेका दृष्यहरू उदेकलाग्दो नै छ । कुनै पनि मन्त्रीसामु कर्मचारीतन्त्रले नबोल्ने र टाउको हल्लाएर ‘हवस्’ भन्ने राणा र राजतन्त्रकालीन संस्कृति तिनमा देखियो । बेलायतको बिबिसी कार्यक्रममा निकै वर्षअगाडि ‘यस मिनिस्टर’ भन्ने टेलिभिजन सिरियल खुबै प्रसिद्धि कमाएको थियो । नेपालमा ‘हजुर मन्त्रीज्यू’ को संस्करण मन्त्रालय, विभाग र संवैधानिक निकायमा मज्जैले देखिन्छ।

देशमा अनेकन् आरोह/अवरोहबीच पनि तीन दशकदेखि लोकतान्त्रिक संस्कार र संस्कृतिले  नेपालको कर्मचारीतन्त्रलाई रत्तिभर पनि छुन नसकेका दृष्य सरकारी सेवा लिन जाने आमनागरिकदेखि देश विकासमा संलग्न दातृनिकायका प्रमुखसम्मले यतिखेर अनुभव गरिरहेका छन् । टाउको उठाएर कलम चलाएर काम गनुपर्ने कर्मचारीतन्त्र यतिखेर मन्त्रीसम्मुख टेबुलले नाक छुनेगरी निहुरिएर बसेका दृष्य मन्त्रालयहरूमा सामान्य छन्।

यी तीन अनुभव र अनुभूतिको सन्देश मात्र के हो भने सरकारसँग सोच र लोकतान्त्रिक संस्कार भएन । वा सरकार आफैँमा ‘डर र त्रास’ ले बास गरेको छ वा अक्षमताको प्रदर्शनी हो? अझै केही समयपछि मात्र सबै कुरा सफा होला।

नागरिक र सरकारबीच संवाद शून्य
नागरिकको सरकारसँग निराशा कञ्चनपुरदेखि झापासम्म, ताप्लेजुङदेखि दार्चुलासम्मका सडक, गल्ली, चिया पसल र घर÷घरमा छन् । दुईतिहाइको सरकार निर्माणसँगै जनताका अपेक्षा आकाशिएका थिए ।सरकारसँगको निराशाको पक्ष यो एउटा पनि छ । तर यतिमात्र पर्याप्त होइनन् । सरकारसँग असन्तोषका कारण अनेकन् छन् । र, यी कारणमध्ये सबैभन्दा प्रमुख कारण प्रम खड्गप्रसाद ओलीको ‘बोली र कार्यशैली’ नै हुनपुगे।

कञ्चनपुरमा भएको निर्मला बलात्कार र हत्या घटनासम्म आइपुग्दा सरकार सर्वत्र घेराबन्दीमा परिसकेको देखियो । यही फ्रस्टेसनमा सरकारका चम्चाहरूले ५ महिनाको सरकारी उपलब्धि भनी प्रम ओलीलाई रिझाउने नाटक रचे रंगिन कलेवरमा ।

दुर्भाग्य नै भन्नुपर्छ, प्रम ओलीको बोली नै विगतमा आमनागरिकका लागि चुम्बकीय थियो, जनता आकर्षित गर्न । राष्ट्रवादका कुरा हुन् कि नेपालीलाई समृद्धिको सपना बाँड्न प्रम ओलीको बोलीमाथि नागरिकले विश्वास र भरोसा गरे । नेपाली जनताले कम्युनिस्ट एकतालाई निर्वाचनमा दुईतिहाइको बहुमत दिए राजनीतिक स्थिरताका लागि । तर देश र नागरिकलाई नै अस्थिर र अपमान गर्न जब दुईतिहाइको बहुमत सरकार सक्रिय रहन्छ अनि निर्वाचनबाट प्राप्त स्थिरताको जग हल्लन्छ, अहिलेको नेपालमा त्यही भएको छ । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई विश्वास गर्न गाह्रो पर्ला तर तीतो सत्य के हो भने आजको मितिमा आमनिर्वाचन भए नेपाली कांग्रेसले तमाम अक्षमताबीच पनि निर्वाचनमा एक नम्बर पार्टी हुने वातावरण यो सरकारले निर्माण ग-यो।

ओली सरकारप्रतिको नागरिक रोष प्रतिक्रियावादीहरूको चाल र विदेशीको खेल हो भन्न सक्छन् सत्तावादीहरू । कुनै पनि पार्टीको पतन र नेतृत्वको स्खलन यस्तै अदृष्य शक्तिमाथि लाञ्छना लगाएर ‘राजकाजमा मस्तराम’भई बस्ने प्रवृत्तिबाट सुरु हुन्छ भनिन्छ । तर पनि लामो समयको प्रतीक्षापछि देशले दुईतिहाइको सरकार पाएको छ र यो खेर नजाओस् भनी चिन्तन गर्ने काम नागरिकको पनि हुन्छ नै । तसर्थ सरकारप्रतिको रोषका कारण एकै शब्दमा भन्नुपर्दा विविध घटनामाराज्यको ‘ट्याकलिङ र ह्यान्डलिङ’त्रुटि भयो । यसैबाट सरकार सञ्चालनमा कम्युनिस्ट पार्टीसँग न्यूनतम योग्यता नै छैन भन्ने सन्देश पनि प्रवाह भएको छ यतिखेर।

ट्याकलिङ र ह्यान्डलिङको त्रुटि
ट्याकलिङ र ह्यान्डलिङको नेपाली ठीक शब्द थाहा भएन । सरकारका दुई महिना आशालाग्दो थियो तर क्रमशः सरकार ‘ट्राप’ निर्माण गर्दै गयो आफ्ना लागि । सिन्डिकेट प्रथाको अन्त भयो भन्ने सरकारको उद्घोषसँगै छाएको हर्षउल्लास व्यवहारमा केही हप्तामै खिन्नतामा प्रकट भयो । डा. गोविन्द केसीको मुद्दालाई सम्बोधन गर्ने काममा सरकार ‘लेट लतिफ’ भयो । सम्पूर्ण इमेज गिराएर अपराधीझैँ सम्झौता गर्न बाध्य भयो सरकार । गृह प्रशासनका काम कारबाहीहरू विमानस्थलबाट उपकुलपतिलाई समातेर बालुवाटार पु-याउने कुरा होस् वा ट्रमा केन्द्रबाट डाक्टरलाई घोक्रेठ्याक लगाउने घटना, सबैमा सरकारले बदनामी कमायो । यस्तै भयो निषेधित क्षेत्र घोषणा गर्ने कामले पनि । सानो मुद्दालाई अनावश्यक ठूलो पारेर सरकार आफैँ ट्रापमा फस्न रुचाएको देखियोयी घटनाक्रमबाट।

कञ्चनपुरमाभएको निर्मला बलात्कार र हत्या घटनासम्म आइपुग्दा सरकार सर्वत्र घेराबन्दीमा परिसकेको देखियो । यही फ्रस्टेसनमा सरकारका चम्चाहरूले ५ महिनाको सरकारी उपलब्धि भनी प्रम ओलीलाई रिझाउने नाटक रचे रंगिन कलेवरमा । यस्ता भद्धा र अनावश्यक प्रस्तुतिले पञ्चायती व्यवस्थामात्र होइन, विगतकासरकार पनि ट्रापमा परेको हेक्का ओली सरकारमा देखिएन । माथिका घटनाक्रमबाट वर्तमान सरकारको छवि बिगार्न दुई केन्द अब्बल देखिए अहिलेसम्म । सर्वप्रथम गृह प्रशासनको अक्षमता र दोस्रो प्रमका कुवचनहरू।

जुम्लामा डा. गोविन्द केसीको अनशनमाथि प्रहरी प्रशासनबाट भएको ज्यादती र निर्मला हत्या प्रकरणपछि नागरिकमा उत्पन्न रोषलाई गोली चलाएर मुलुकलाई उत्तेजनातर्फ लग्ने सबै काममा गृह प्रशासन अब्बल नै देखियो । त्यस्तै प्रम ओलीले आफ्ना कार्यकर्तामाझ ‘अरिङ्गाल बन्न’ निर्देशन दिए । कसको विरुद्ध अरिङ्गाल हुन प्रमले निर्देशन दिएका हुन् यसको सामान्य ज्ञान पनि प्रममा देखिएन । प्रतिपक्षको सामान्य भूमिका खेल्न लाचार र असमर्थ भएको नेपाली कांग्रेसमाथि अरिङ्गाल भएर खनिन निर्देशन दिएका हुन् भने प्रम ओलीप्रति दया जाग्छ।

सुदूर पश्चिममा चलेको निर्मला हत्या प्रकरणमा आन्दोलित अधिकांश जनता विगतमा प्रमकै पार्टीलाई भोट दिने नागरिक पनि छन् ।  जुम्लामा डा. केसीको पक्षमा उभिएका अगुवा जनता पनि कम्युनिस्ट पार्टीकै कार्यकर्ता हुन् । एकपटक प्रमले यी आन्दोलनका श्रव्यदृष्य मगाएर हेरुन् अनि अरिङ्गाल कोप्रति लक्षित गरेको प्रमलाई बुझ्न सजिलो हुन्थ्यो । प्रमका यस्ता अभिव्यक्ति नै आज राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबीच आलोच्य भएको छ, अविश्सनीय भएको छ।

विगतका माओवादी अलोकतान्त्रिक
विगतका माओवादी पार्टीका नेताहरूसँग मन्त्री भएपछि लोकतान्त्रिक आचारण फिटिक्क देखिएन । गृहमन्त्री रामबहादुर थापा हुन् कि ऊर्जामन्त्री पुन, सबैको कार्यशैली भूमिगत र सन्देहास्पद छ ।ती अझै भूमिगत शैलीमा काम गर्दैछन् भनी राजधानीमा चर्चा छ । तर यही कडीमा खुला र लोकतान्त्रिक समाजसँग जोडिएका अर्थमन्त्री खतिवडा पनि पुगेको देखिनु दुर्भाग्य नै हो । अर्थमन्त्री खतिवडा आफ्नो कामले नेपाली जनताको समृद्धिको बाटो  र देशको अर्थतन्त्रलाई गति दिनु साटो प्रम ओलीलाई रिझाउनेमात्र काममा लागेका देखिन्छन् । अर्थमन्त्रीले आफ्नो क्षमतामा होइन, प्रम ओलीको कृपामा बाँच्न सिके भने कम्युनिस्ट पार्टीको सरकारसँगै देशको समृद्धि पनि धेरै टाढा पुग्नेछ।

माओवादी कोटाबाट मन्त्री भएकाहरू लोकतान्त्रिक संवाद र कार्यशैलीसँग कोसौँ टाढा रहेको अनुभूति यतिखेर नागरिकका लागि ज्ञान भएको छ । तर पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि त्यही कित्तामा पुग्नु भनेको नेपालमा युवाहरू पनि ‘नयाँ ड्याङको मूला’ होइनन् भनी उदाहरण प्रस्तुत गर्नु हो । यस्तो ट्रापहरू सत्तामा बस्दा आउँछ र फ्रस्टेसनमा सक्षम र आशालाग्दा नेताहरू पनि निराश पार्न सक्छन् नागरिकलाई । अहिलेको मन्त्रिमण्डलमा त्यही भइरहेको छ । यसको जिम्मेवारी कसले लिने ? निसन्देह प्रम ओलीको हातमा देशको कमान्ड छ  र अहिलेसम्मका सबै गलत ह्यान्डलिङ र ट्याकलिङको जिम्मेवारी प्रम स्वयंकै हो।

भूराजनीतिमा गम्भीर त्रुटि
कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको भारत भ्रमण र बिम्स्टेकको सेरोफेरोमा जे/जस्ता घटना भए नेपालको भूराजनीतिमा त्यसले देश र देशबासीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको शिर निहुरिएको छ । नेपाली सेनाको साख र गरिमा गिराउने काम स्वयम् प्रमको ‘वचकना’ हर्कतले भएको छ । भारतीय सञ्चारक्षेत्रमा यतिखेर सरकार र नेपाली सेनाबीच विवाद छ भनी व्यापक बहस र चर्चा चलेको छ भने त्यसको नैतिक जिम्मेवारी कसले लिने? नेपाली सेना र सरकार दुई धु्रवमा छन् भनी भारतीय सञ्चार क्षेत्रमा यतिखेर अनेकन् अनर्गल प्रचारप्रसारले महत्व पाएको छ भने सरकारले यसलाई सामान्य घटना ठान्ने भूल गर्नुहुँदैन । यो ओली सरकारको अहिलेसम्मकै गम्भीर त्रुटि हो।

संयुक्त सैन्य अभ्यासको उतारचढावमा मौन साँधेर बसेका रक्षामन्त्री ईश्वर पोख्रेलको देशप्रतिको उत्तरदायित्व के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । रक्षामन्त्री पोख्रेलको राजनीतिक भविष्य यतिखेर दाउमा लागेको छ । भीम रावलले सम्भवत यिनै पृष्ठभूमिमा विपक्षीको भूमिका खेले संसद्मा र कांग्रेसको लाचारीमात्र उजागर गरेनन्, आफ्नै पार्टीसँग समेत कमजोर विपक्षी हुँदा सत्तापक्षबाट पनि विपक्ष उदाउन सक्छ भन्ने उच्चस्तरको संसदीय अभ्यास गरे।

मस्त प्रम
प्रम ओलीले समृद्धिको मार्ग र राजनीतिक स्थिरतालाई असहज पार्ने काम आफँैले गरेका हुन् । उनले माओवादी संत्संगीसँग कसरी अगाडि बढ्ने भन्ने सीमा खिच्न सकेनन् । माओवादीको आलिंगन प्रम ओलीलाई आफ्नै पार्टीका सहयात्री र सहयोद्धाहरू भन्दा पनि प्रिय लाग्नु अहिले अन्तर्यमा रहेको अग्नि हो कम्युनिस्ट पार्टीमा । कम्युनिस्ट पार्टी एकीकरण र सत्तामा विगतको माओवादीसँग सत्संगपछि आएका प्रमका विचारहरूबारे अहिले नै निष्कर्ष निकाल्नु हतारो हुनेछ । प्रम ओली पूर्व माओवादीसँग कांग्रेससँगको रिसले गएका हुन् कि राष्ट्र निर्माण गर्ने उद्देश्यले पार्टी एकीकरण गर्नसमेत तम्सेका हुन् भनी बुझ्न उनको सत्ता बहिर्गमनसम्म पर्खिनुपर्छ । उनी अहिले सत्य कुरा बोल्न सक्तैनन्, सम्भव नै छैन।

अझै निराश हुनुपर्ने छैन
अन्तमा, प्रम ओलीकालागि सुध्रिने र नयाँ ढंगले जनतासँग जोडिने सम्भावना अझै छ । त्यसको लागि सर्वप्रथम प्रम ओलीले राजकाजमा लोकतान्त्रिक व्यवहार र आचरण देखाउन सक्नुपर्छ । अहिले सबै मन्त्री, पार्टी कार्यकर्ता र नोकरशाही प्रम ओलीको बोलीबाट थर्कमान छन् । बोल्न डराउँछन् ।  यस्तो डर र त्रासमा राखेर राज्य सञ्चालन सम्भव छैन । डर र लोभमा परेकाहरू काम गर्न सक्तैनन् र आमनागरिकसँग सरकार टाढिँदै जान्छ । भयमुक्त वातावरणमा राज्य सञ्चालनको लोकतान्त्रिक विधि प्रमले जति चाँडो सुरु गर्छन्, देश र देशबासीको कल्याण त्यसैमा छ । प्रम ओलीसँग तीन शक्ति अझै छन् जसको सेरोफेरोमा उनले फेरि एकपटक जनताबीच गुमेको साख र विश्वास जगाउन सक्छन्।

पहिलो संसदीय जनमत उनीसँग दुईतिहाइ छ । यो दुईतिहाइको शक्तिलाई ओठे जवाफ दिन प्रमले खर्च गर्नु शोभनीय होइन । यसलाई राष्ट्र रूपान्तरणको अभियानमा लगाउन सक्नुपर्छ ।  प्रम संसदीय गणितको जोड/घटाउको झन्झटबाट मुक्त हुनु समृद्धिको अपार सम्भावना हो । यो असाधारण शक्ति हो राज्य सञ्चालनका लागि । र, दोस्रो शक्ति भनेको उनीमाथि अझै भ्रष्टाचार गरेको आरोप नागरिकबाट उठेको छैन । उनका विपक्षीहरूले पनि अहिलेसम्म प्रम भ्रष्ट छन् भनी एउटा पनि उदाहरण दिन सकेका छैनन् । यो पुँजी नै पर्याप्त छ प्रमलाई आफू गिरेको ठाउँबाटफेरि उठ्न र नैतिक बलबाट जनताबीच जोडिन । तेस्रो शक्ति भनेको प्रमको संगठित र सक्षम पार्टी शक्ति हो।

संसद्को शक्ति, नैतिक शक्ति र पार्टी औजारको समन्वयबाट प्रमले विगत ६ महिनामा गुमेको साख पुनस्र्थापित गर्न सक्छन् र बाँकी अवधिमा नयाँ नेपाल निर्माण गर्र्नअझै चारवर्ष बढी समय छ । के यस्तो पहल प्रमबाट होला ? हेरौँ।







यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

हुन्डाई भेन्यू अब नेपालमा

हुन्डाई भेन्यू अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad