७ वैशाख २०८१ शुक्रबार
समाज

‘समृद्धिका लागि विज्ञान–संस्कृति अपरिहार्य’

काठमाडौं– विज्ञान, संस्कृतिलाई उच्च प्राथमिकतामा नराखेसम्म मुलुकमा समृद्धि नआउने धारणा राजधानीमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले राखेका छन्। छैटौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा नेपाल विज्ञान पत्रकार मञ्चले संयोजन गरेको ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ नामक सचेतनामूलक कार्यक्रममा पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले भने, ‘विज्ञान–प्रविधिलाई केन्द्रविन्दुमा राखेर काम गर्ने संस्कार नबसेकाले समाज अगाडि बढ्न सकेन। सरकारले हरेक क्षेत्रमा वैज्ञानिक संस्कारलाई महत्व दिएमा मात्र मुलुकमा समृद्धि आउँछ।’

विज्ञान सिकाई निरन्तर प्रक्रिया भएको र ७० प्रतिशतभन्दा बढी विज्ञान अनौपचारिक सिकाइमा आधारित हुने गरेको उनले बताए। विज्ञानलाई जीवनसँग जोड्न नसक्नु ठूलो कमजोरी रहेको उल्लेख गर्दै साहले भने, ‘यसका लागि सरकारले स्पष्ट रूपमा विज्ञान सम्बन्धी नीति तय गर्नुपर्छ, विज्ञान नीतिलाई समृद्धिसँग जोड्नुपर्छ।’ विज्ञान–प्रविधिको विकासका लागि सबै सरोकारवालाले आफ्नो तर्फबाट योगदान पु-याउनुपर्ने उनको भनाई छ। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकायका प्रमुख  डा. रवीन्द्र ढकालले अहिलेको पुस्ताले ज्ञानगुनलाई उचित तरिकाले उपयोग नगर्दा विज्ञान पछाडि परेको विचार व्यक्त गरे। ‘विज्ञान सामान्य नागरिकले पनि अन्वेषण गर्नसक्ने सजिलो विधा हो,’ ढकालले भने, ‘तर, वैज्ञानिक संस्कृति हुर्कन नसक्दा हामी कहाँ यसलाई दीर्घकालीन विकाससँग जोड्न सकिएन।’ वैज्ञानिक चेतना छर्न सानैदेखि त्यसतर्फ काम गर्नुपर्ने उनको धारणा छ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले हाम्रा पुर्खाले गरेका हरेक अन्वेषण विज्ञानसममत रहेको चर्चा गर्दै अहिलेको युवा पुस्ताले विज्ञान र संस्कृति सही रूपमा पर्गेलेर अगाडि बढ्नुपर्ने बताए। नेपाल विज्ञान पत्रकार मञ्चका अध्यक्ष लक्ष्मण डंगोलले हाम्रा पुर्खाले आर्जेको जीवनोपयोगी ज्ञान र विज्ञानलाई सँगसँगै अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे। 

कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई, इन्टर डिसीप्लिनरी रिसर्च इन्स्टिच्युटका दीपेन्द्र गौतम, वुमन इन म्याथमेटिक्स साइन्सका डा. नीलम सुवेदी, भाषा तथा सम्पदा संरक्षण परिषद्, नेपालका डा. लक्ष्मीप्रसाद खतिवडा, नेपाल भौतिक विज्ञान समाजका प्रा. डा. प्रदीप भट्टराई, नेपाल गणित समाजका जीवन काफ्ले, नेपाल विज्ञान शिक्षक संघका गोपीचन्द्र पौडेल, नेपाल भौगर्भिक समाजका डा. कविराज पौडेल र बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका नवीन मुनंकर्मीले विज्ञान र समृद्धिबारे आ–आफ्ना धारणा राखेका थिए। 

प्रकाशित: १ आश्विन २०७५ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App