coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मनै बहलाउने मनमोहक पाँच फूल

यो नानीको शिरैमा इन्द्रकमल फूल 

‘यो नानीको शिरैमा इन्द्रकमल फूल फूल्यो, मगमग चल्यो वासना...’, प्रेमध्वज प्रधानको यो गीत घन्किँदा इन्द्रकमल फूलको वासनाले जो कोहीलाई लोभ्याउँछ । नेपालीमाझ यो गीतले इन्द्रकमल फूलको बास्ना र सौन्दर्यको महिमा झन् बढाएको बताउँछन्, वनस्पति विज्ञ कुमार केसी । मायालुलाई आकर्षित गर्ने किसिमको यो गीतले इन्द्रकमलको वासनाको चर्चा गरेको बताउँछन् केसी । 

इन्द्रकमलको वासना नेपालीलाई अति मर्ने बास्ना हो भन्छन्, केसी । ‘धेरै कडा पनि नहुने आनन्दित बनाउने मधुर बास्ना हुन्छ,’ केसी भन्छन् । वासना पाँच मिटर टाढासम्म लिन सकिने केसीको भनाइ छ । 

इन्द्रकमल सेतो रङको फुल्छ । भित्री मधेस र महाभारत क्षेत्रमा राम्रै फुल्ने फूल हो इन्द्रकमल । यो करिब १० फिटसम्मको हुने केसी बताउँछन् । यो सदावहार फूल हो । थोरै घाम लाग्ने ठाउँमा पनि यो फूल फुल्ने पुष्प व्यवसायी बताउँछन् । ५ डिग्री सेल्सियस भन्दा धेरै तापक्रम भएको ठाउँमा यो फूल फुल्छ । 

वसन्त ऋतुको समयमा इन्द्रकमल फूल फुल्छ । यो फूल आकर्षकरुपमा फुल्छ ।  फ्लोरिकल्चर एसोसिएन नेपाल (फ्यान) का सचिव विश्वमणि पोख्रेल इन्द्रकमल नेपालको रैथाने भएको बताउँछन् । यो झाडी किसिमको बिरुवा हो । यसलाई छाँटकाँट गरेर सानो पोथ्रो आकारको बुस बनाएर फुलाउन सकिन्छ । यो सानै बिरुवाबाट फुल्न सक्ने बिरुवा हो। 

काठमाडौंको स्वयम्भूस्थित मुस्कान नर्सरीका महेन्द्र सुवेदीका अनुसार इन्द्रकमलको कलमी तथा कटिङ गरेर पनि नयाँ बिरुवा बनाउन सकिन्छ । केसी पनि पर्खालमा लहरै गलाएर घरलाई सुन्दर बनाउन सकिने बताउँछन् ।

इन्द्रकमल नेपालको सहरमा मात्रै हैन गाउँगाउँमा पाइने फूल हो । गाउँमा यसलाई घरको आँगनमाथि फूलबारीमा रोपिन्छ । असार, साउन महिनामा हाँगा काटेर पनि सजिलै सर्ने भएकाले यसको फैलावट गर्न सजिलो छ । सुन्दर र मगमग बास्ना आउने भएकाले सहरी क्षेत्रमा पनि गमलामा लगाउने गरिन्छ । 

अंग्रेजीमा इन्द्रकमललाई ‘गार्डेनिया’ भनिन्छ । यसको उद्गम थलो एसिया मानिन्छ । नेपाल, भारत, चीन, जापानलगायतका ठाउँमा पाइन्छ । यसको उत्पादन एक हजार वर्ष पहिले चाइनाबाट भएको पाइन्छ । यसको पहिचान भने सन् १७६१ मा अंग्रेजी ‘बोटानिस्ट जोन इलिस’ले गरेको पाइन्छ । 

लाहुरेको चिनो लालुपाते

‘लालुपाते नुग्यो भुइँतिर, किलाउ माया मै तिर कि लाउ उइतिर ए निर नलाउ दुईतिर...’ यो नेपाली लोक गीतले एकताका खुब चर्चा पाएको थियो । लालुपातेको मनमोह दृश्यले लोभ्याएर नै रचनाकारले गीत रचेको हुनुपर्छ । लालुपाते फुल्दा लालीगुराँस भन्दा कम सुन्दर देखिँदैन । 

यो फूलको ऐतिहासिक पाटो भने अलिक फरक छ । वनस्पति विज्ञकुमार केसी लालुपातेको इतिहास खोज्न मेक्सीकोतर्फ फर्किन्छन् । लालुपाते मेक्सीकोबाट बेलायत आइपुगेको उनी बताउँछन् । 

नेपालमा भने लालुपाते एक शताब्दीभन्दा अगाडि भित्रिएको केसीको अनुमान छ । नेपालमा सर्वप्रथम पोखरामा लालुपाते भित्रिएको केसीको भनाइ छ । 

पोखराका लाहुरेदाइ ब्रिटिस सेनामा गएका रहेछन् । ब्यारेक वरिपरि लटरम्म लालुपाते फूलेको देखेर उनी लोभिएछन् । ब्रिटिससेनाबाट फर्किएर आउँदा ती लाहुरेदाइले केही तालुपातेका हाँगा काटेर झोलामा हालेछन् । पोखरामा ल्याएर लालुपातेका हाँगा गाडेछन् । 

केसीका अनुसार लालुपाते सरेछ । पोखरामा बिस्तारै लालुपाते फैलियो । पछि काठमाडौंलगायत सबैतिर लालुपाते फैलियो । लाहुरेले चिनोको रुपमा ल्याएको लालुपाते आज देशैभरि फैलिएको केसी बताउँछन् ।  लालुपाते फुल्ने समयमा फेवाताल नव दुलही बेहुलीले घुम्टो ओढेजस्तै ढपक्क देखिने सम्झिन्छन्, केसी । माछापुच्छे्रको छायाँ र लालुपातेको फूलले फेवातालमा छोडेको मुस्कान पर्यटकको आकर्षणको केन्द्र भएको समेत केसी बताउँछन् । 

लालुपाते जाडो महिनामा फुल्ने बिरुवा हो । झट्ट हेर्दा यो फुलेको जस्तो देखिने भए पनि जाडो सुरु भएपछि फूलको आकारमा यसको पत्ता नै रातो हुन्छ । त्यसैले फुलेकै भन्न मिल्छ । जाडो मौसममा प्रायः फूल नफुल्ने भएकाले पनि यसको महत्व झन् बढेको हो, भन्छन् मुस्कानका सुवेदी । कात्तिकदेखि फागुन, चैतसम्म लालुपाते फुल्छ । यो फूल टिक्ने पनि हुन्छ। 

महेन्द्र सुवेदी क्रिसमसको समयमा फूल्ने भएकाले पनि लालुपातेलाई क्रिसमस फूलले पनि चिनिने गरेको बताउँछन् । यो रातो, पहेँलो छिरबिरे लगायतका विभिन्न रङको हुने बताउँछन्, फ्यानका सचिव पोख्रेल । लालुपाते लालीगुराँसजस्तो डल्लो आकारमा पनि फुल्छ भने अर्को किसिमको लालुपाते पत्ता आकारमा पनि फूल्छ । 

लालुपातेलाई गमलामा पनि रोप्न सकिन्छ । गमलामा होचोहोचोमा फुलाउन सकिन्छ । यो फुल्ने बिरुवा भएकाले घाममा राख्नु नै उपयुक्त हुन्छ । केसीका अनुसार घाममा राख्दा राम्रोसँग लालुपाते फुल्न सक्छ । जमिन तथा गमला दुवैमा रोप्न सकिन्छ । सहरी क्षेत्रमा गमलामा राखेर कौशि तथा छतमा पनि आकर्षक लालुपाते फुलाउन सकिन्छ । लालुपातेमा सामान्यतयाः कम्पोस्ट मल हाल्नु नै उपुक्त हुन्छ । फुलिसकेपछि अनावश्यक आएका हाँगा तथा टुप्पा काटेर मिलाउन सकिन्छ । 

लालुपातेको पहिचान सन् १८२५ मा बेलायतमा भएको पाइन्छ । यो फूलको नामकरण वैज्ञानिक, जोयल रोबर्ट पोइन्सेटबाट भएको पाइन्छ । त्यसैले यसलाई अंग्रेजीमा पोइन्सेटिया पनि भनिन्छ । लालुपातेलाई युफरबीया पनि भनिन्छ । 

यो फूल दुईदेखि १३ फिटसम्म उचाइको हुन्छ । फुल्दै जाँदा यसको बिस्तारै रङ परिवर्तनसमेत हुन्छ । यो फूल १६ औं शताब्दीमा मेक्सीकोबाट क्रिस्मस फूलका रुपमा मान्न थालिएको पाइन्छ । पश्चिमा राष्ट्रमा पनि लालुपाते निक्कै चर्चित फूल हो । क्रिसमसको समयमा क्रिश्चियन धर्मावलम्बीहरुले घर तथा अफिसमा आकर्षक ढंगले सजाउने गरेको पाइन्छ । उत्तरी अमेरिकामा  पनि यो फूल चिर्चित छ । अमेरिकामा डिसेम्बर १२ मा राष्ट्रिय लालुपाते (पोइन्सेटिया) दिवससमेत मनाउने गरेको पाइन्छ । सन् १८६० को दशकमा इजिप्टबाट लालुपातेको खेतीको सुरुवात भएको पाइन्छ । त्यहाँ एक सयभन्दा धेरै किसिमका लालुपातेको खेती भएको बताइन्छ । 

जति घाम भयो त्यति फूल्ने बगेनबेलिया 

बगेनबेलियालाई नेपालमा कागज फूल, विष्णुमति फूल, गेट फूल जस्ता नामले चिनिन्छ । बगेनबेलियालाई बेगमबेली, बगनबेली पनि भनिन्छ । बगेनबेलिया लहरे जातको बिरुवा हो । बगेनबेलिया लामो समयसम्म फूल्ने फूल हो ।

नेपालीमा एउटा उखान छ,‘रातो राम्रो, गुलियो मिठो ।’ त्यसैले पनि नेपालीले प्रायः रातै फूल मनपराउने अनुभव सुनाउँछन्,केसी । बगेनबेलिया पनि रातै मन पराउने बताउँछन्, उनी ।

बगेनबेलियालाई तातो ठाउँ चाहिन्छ । यो काँडा हुने फूल हो । बगेनबेलियालाई जमिनमा रोप्दा धेरै ठाउँ चाहिन्छ । यो लहरा पनि जान्छ । यस फूललाई चिसो ठाउँमा फुल्न मुस्किल हुन्छ । त्यसमाथि पनि सहरी क्षेत्रमा त झन् एउटा घरलाई अर्को घरले छल्ने भएकाले सबै घरमा घाम लाग्दैन । त्यसैले प्रायः दक्षिणी मोहोडामा घाम लाग्ने भएकाले घरको दक्षिणी मोहडा पारेर बगेनबेलिया रोप्ने केसी सुझाउँछन् । 

घाम नभई बगेनबेलिया फुल्दैन । जति चर्को घाममा राख्यो त्यति नै राम्रो फुल्छ बगेनबेलिया । बगेनबेलियालाई घाम चर्को भयो भनेर डराउनु पर्दैन । यसको आयु ५० वर्षभन्दा धेरै हुने केसीको भनाइ छ । पुरानो बोटमा पनि त्यतिकै राम्रो फूल फुल्ने बताउँछन्, सुवेदी । 

गमलामा फूलेको बगेनबेलिया जमिनको भन्दा आकर्षक देखिन्छ । किनकि गमलामा आवश्यकताअनुसारको आकार पनि दिन सकिन्छ । सचिव पोख्रेलका अनुसार गमलामा रोपेर बोनसाइ आकारको बनाएर फुलाउँदा सुन्दर देखिन्छ । 
काठमाडौंजस्तो सहरी क्षेत्रमा छतमा राम्रो फुलेको देखिन्छ । किनकि छतमा घाम पुग्छ । वर्षमा ३/४ पटक फूल्ने भएकाले पनि यो आकर्षक फूल मानिन्छ । एकपटक फूलेको फूल ३/४ महिनासम्म टिक्छ । सुवेदी भन्छन्,‘घर तथा कौशीमा विभिन्न रङका लहरै बगेनबेलिया फूलाएर घरलाई सुन्दर बनाउन सकिन्छ ।’ 

यसको प्रायः उत्पादन कटिङ (कलमी) गरेर गरिन्छ । कटिङ गरेर उत्पादन गर्न सजिलो विधि हो भने गुटि बाँधेर र बीउबाट पनि उत्पादन गर्न सकिने केसी बताउँछन् । 

रातो, पिंक, सेतो, प्याजी, सेतोमा–रातो तथा पिंकमा–सेतो मिक्सलगायतको रङमा बगेनबेलिया फुल्छ । पानी १०/१२  दिनमा हाले पुग्ने बताउँछन्, केसी । यसलाई सुख्खा पारिदिइरहनुपर्छ ।  

बगेनबेलियालाई ठूलो गमला चाहिन्छ भन्ने पनि हुँदैन । १२ इन्चको गमलामा पनि आकर्षक फुलाउन सकिन्छ । बगेनबेलिया फुलिसकेपछि काट्नु पर्छ । गमलामा भएको बिरुवालाई मिलाएर गोलो हुने किसिमले काट्दा फुलेपछि राम्रो देखिन्छ । फुलिसकेपछि काटेर मल हाल्नु पर्छ । मल हाल्दा पाएसम्म हड्डीको धूलो र पीना मिक्स गरेर हाल्नु पर्छ । हड्डीको धुलो नपाएको खण्डमा पीना मात्रै हाल्न पनि सकिन्छ । तर गाईको गोबरले कीरा लाग्ने जोखिम भएकाले गोबर भने नहालेकै राम्रो । 

मल हाल्दा माटो बाहिर मल देखिनु हुँदैन । गमलाको वरिपरि खाल्डो बनाएर माटोले छोपिदिनु पर्छ । बाहिरबाट मल देखिएमा कीरा लाग्नेदेखि लिएर बिरुवा मर्ने सम्मको जोखिम हुन्छ । १२ इन्चको गमलामा सय ग्रामसम्म मल हाल्न सकिन्छ । गर्मी महिनामा १२ इन्चे गमलामा छ भने सय ग्रामभन्दा कम मल हालेको राम्रो । किनभने गर्मीमा मल बढी भयो भने मलको तातोले बिरुवा मर्ने समेत जोखिम हुन्छ । 

सामान्यतयाः यसको जाडो महिनामा पात झर्छ । र जाडोमा कम  फुल्छ । यसलाई जति होचोमा फुलायो त्यति नै आकर्षक देखिन्छ । जाडो मौसममा छाँटकाँट गर्नुपर्ने सुवेदीको तर्क छ । जाडोबाहेक प्रायः सबै महिना फुल्छ । ४० फिटभन्दा धेरै लामो हुन्छ । तीन सयभन्दा धेरै जातको बगेनबेलिया पाइने अनुमान छ । केसी करिब ३२ जातको बगेनबेलिया आफूले थाहा पाएको बताउँछन् । 

हेविस्कस

हेविस्कसलाई नेपालीमा सोली फूल भनिन्छ । केसी भन्छन्, ‘हेविस्कसका करिब २५ प्रकारका जात पाइन्छन् । ‘हेविस्कस पनि एक बहुवर्षीय फूल हो ।  

हेविस्कस जाडो महिनाबाहेक प्रायः फुलिनै रहन्छ । जाडो महिनामा हेविस्कसको पात झर्छ । हेविस्कस चिसो ठाउँमा पनि फुल्छ । तर चिसो ठाउँमा कमै मात्र फूलेको देखिन्छ भने पात धेरै आउँछ । यो गर्मी सहने बिरुवा हो । तातोमा पनि हुने भएकाले तराईमा राम्रैसँग फुल्ने पोख्रेल बताउँछन् । १० डिग्री तापक्रम भएको ठाउँमा पनि फुल्ने बताइन्छ ।
जमिन र गमला दुवै ठाउँमा हुन्छ । यो डबल र सिंगल दुई किसिमको हुन्छ । सिंगलभन्दा डबल निक्कै आकर्षक देखिन्छ । रातो रङको डबल हेविस्कस फुल्दा लालीगुराँस जस्तै मनमोहक देखिन्छ । यो पनि हेजका रुपमा घर कम्पाउण्डमा लगाउन सकिने सुवेदी बताउँछन् । 

सामान्यतया हेविस्कस रातो, सेतो, पिंक, प्याजीलगायतको रङमा पाइन्छ । यो जमिनमा रोप्यो भने १० फिटभन्दा अग्लो पनि हुन सक्छ । तर गमलामा भने आवश्यक मात्राको हाइटमा राख्न सकिन्छ । सामान्यतया गमलामा ३÷४ फिटको हाइटमा फुल्छ । 

जाडो महिनामा चिसोले पत्ता झर्ने भएकाले जाडो महिनामा न्यानो ठाउँमा राख्नु उपयुक्त हुन्छ । पुस महिनातिर माथिमाथिको टुप्पो काटेर मल हालिदिनु पर्छ । तोरीको पीना उपयुक्त मल हो । गर्मी लागेपछि फुल्छ । जाडो मौसमबाहेक सबै महिनामा फुल्छ । पुस–माघ महिनामा काटछांट गर्नुपर्ने केसी बताउँछन् । 

हेविस्कस सामान्तयाः १२ इन्च वा त्यसभन्दा ठूलो गमलामा राम्रो फुल्छ । यो निक्कै आकर्षक फूल मानिन्छ ।
यो १६ फिटसम्मको हुने बताइन्छ । यसको नामकरण १७५३ मा भएको पाइन्छ । हेबिस्कस मलेसियाको राष्ट्रिय फूल पनि हो । यसको पहिचान १२ शताब्दीमा भएको मानिन्छ । 
 
केमेलियाको फूल टिक्छ

केमेलियालाई नेपालमा चिनियाँ गुराँसको नामले पनि चिनिन्छ । यो फूल नेपालमा चीनबाट भित्रिएको मानिन्छ । यसको बोटानिकल नाम केमेलिया भएको बताउँछन्, केसी ।

यो फूल हत्तपत्त ओइलिँदैन । कम्तीमा तीन महिना टिक्ने बताउँछन्, सुवेदी पनि । फूलको पत्ता बाक्लो हुने भएकाले पनि फूल टिक्ने पुष्प व्यवसायीको भनाइ छ । 

केमेलिया फागुनदेखि झण्डै जेठ महिनासम्म फुल्छ । यो फूल रोप्दा बढी घाम नलाग्ने ओसिलो ठाउँमा रोप्नु उपयुक्त हुने केसीको सुझाव छ । घाममा रोप्दा फूल पनि नटिक्ने र बिरुवासमेत त्यति राम्रो नहुने बताउँछन्,उनी । 

गमला तथा जमिन दुवै ठाउँमा यो फूल लगाउन सकिन्छ । गमलामा रोप्दा यो बुुस किसिमको पोथ्रो बनाउन पनि सकिन्छ । रातो रङको केमेलिया फुल्दा गुराँसजस्तै मनमोहक देखिन्छ । यसको फूलले घर नै सुन्दर बनाउँछ । 

सामान्यतया रातो, छिरबिरे, सेतो पिंक, बैजनीलगायतको रङ पाइने सुवेदी बताउँछन् । यसको पहेँलो रङ भने दक्षिण चाइना तथा भियतनाममा मात्रै देखिएको बताइन्छ ।  यो फूल पात नझर्ने बिरुवा हो

यो फूल १५ सयभन्दा माथिको हाइटमा अझ राम्रो फूल्ने फ्यानका सचिव पोख्रेल बताउँछन् । यो जंगली बिरुवा भएकाले चिसो हावापानीका साथै पत्कर तथा कम्पोस्टमल यसले धेरै मन पराउने पोख्रेल बताउँछन् । 

केमेलिया पूर्वी तथा दक्षिण एसियाबाट उत्पत्ति भएको मानिन्छ । हिमालय पूर्वको क्षेत्रदेखि जापान र इन्डोनेसियालाई यसको उद्गम थलो मानिन्छ । यो ६६ फिटसम्म अग्लो हुने बिरुवा हो । 

हिउँदमा काटछाँट

विशेषगरी हिउँद महिनामा बिरुवा सुसुप्त अवस्था हुने भएकाले खाना खाँदैनन् । त्यसैले हिउँदमा काटछाँट गर्नु राम्रो हुने फ्लोरिकल्चर व्यवसायी सुझाउँछन् । मानिस निदाएको समयमा स्वास फेरेजस्तै हिउँदको समयमा बिरुवा पनि केही पानी र खाद्य पदार्थ खान्छन् तर गर्मी महिनामा जस्तो खाद्यपदार्थ नखाने केसीको भनाइ छ । बिरुवाको मूल जरा (ट्याब रुट), चारैतिर फैलिने जरा (बे्रसरुट) र कपाल जस्तो मसिनो (फाइबर रुट) हुने बताउँछन्, केसी । त्यसैले पनि प्रायः बिरुवालाई जाडो महिनामा काटछाँट गर्नु पर्ने केसीको भनाइ छ । 

सामान्यतयाः गमला वा जमिनमा भएको बिरुवामा साहिँली औंला घुसाउँदा औंलाको टुप्पामा चिसो लागेन भने बीरुवामा पानी सुख्खा छ भनेर जान्नुपर्ने केसी बताउँछन् ।  

बिरुवालाई नाइट्रोजन, फस्फोरस तथा पोटासियम खाद्यपदार्थ आवश्यक हुन्छ, जसलाई एनपीके पनि भनिन्छ । हड्डी, पीना, गोबर तथा प्रांगारिकलगायतका मल बिरुवामा लगाउन सकिन्छ । 

प्रकाशित: १ आश्विन २०७५ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App