coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैरहवा सेजका खाली प्लटमा नयाँ आवेदन मागिने

काठमाडौं - सञ्चालनको तयारीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापनाका लागि छनोट भएका उद्योगमध्ये केही नआउने भएपछि पुनः नयाँ आवेदन मागिने भएको छ। केही उद्योगहरू सम्झौताको लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणको सम्पर्कमा अहिलेसम्म नआएकाले नयाँ आवेदन आह्वान गर्न लागिएको प्राधिकरणले जनाएको छ।  

भैरहवा सेजमा उद्योग स्थापनाका लागि छनोट भएका २४ उद्योगमध्ये ६ वटा सम्झौताका लागि आएका छैनन् । छानिएका ६ कम्पनीलाई एक हप्ताभित्र सम्पर्क गर्न प्राधिकरणले सूचना जारी गरेको थियो । ३ दिनसम्म पनि कुनै पनि कम्पनी आएका छैनन्।

‘सभ्झौता गर्न नआएका ६ कम्पनीलाई ७ दिने म्याद दिएर सूचना जारी गरिसकेका छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले नागरिकसँग भने, ‘अब चार दिनमात्र बाँकी छ । त्यो बेलासम्म नआए नयाँ आवेदन खोल्छौं ।’ ६ वटा उद्योगमध्ये केहीले नआउने संकेत देखाएका छन् । ठूलो लगानी गर्न इच्छुक कम्पनी पनि सम्पर्कमै नआएकाले नयाँसँग आवेदन आह्वान गर्न लागिएको हो।

६ वटा कम्पनी नआउँदा भैरहवा सेजमा झन्डै १८ वटा प्लट खाली हुनेछन् । राम्रो लगानी गर्ने भनेर आवेदन दिएको किरण सुज समेत प्राधिकरणको सम्पर्कमा आएको छैन। किरण सुजले १ अर्ब लगानी गर्ने बताएको थियो । उक्त कम्पनीले ८ वटा प्लटको लागि आवेदन दिएको थियो।

यसअघि प्राधिकरणले १८ वटा उद्योगसँग सम्झौता गरिसकेको छ । ती उद्योगहरूले पूर्वाधार निर्माण सुरु गरिसकेका छन्। भट्टका अनुसार शक्ति मिनरल प्रालिले उद्योगको लागि आवश्यक पर्ने मेसिन समेत ल्याइसकेको छ । उसले आफ्नो पूर्वाधार बनाइरहेको छ । शक्तिले खनिज पदार्थ प्रशोधन गरेर भारत निर्यात गर्नेछ। 

त्यस्तै, अन्य केही उद्योगलले भवनको डिजाइन गरिरहेका छन् । उनीहरूले आफूलाई आवश्यक पर्ने मेसिन र पार्टपुर्जा भारत र चीनमा अर्डर गरिसकेको बताएका छन्।

२४ वटा उद्योगले करिब १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेका छन् । ६ वटा उद्योग नआए झन्डै २ अर्ब लगानी घट्ने र ८ अर्ब रुपैयाँ लगानी हुनेछ । भैरहवा सेजमा स्थापना हुने १८ वटा उद्योगमा करिब ४ हजारजनाले रोजगारी पाउने छन्।

प्राधिकरणले बाराको सिमरा विशेष आर्थिक क्षेत्रमा पनि गार्मेन्ट प्रशोधन क्षेत्र बनाइरहेको छ । भट्टका अनुसार यो गार्मेन्ट प्रशोधन केन्द्र करिब ४ महिनामा तयार हुनेछ । ‘पूर्वाधार तयार हुनेबित्तिकै उद्योग स्थापनाको लागि आवेदन आह्वान गरिनेछ,’ भट्टले भने, ‘करिब ३ देखि ४ महिनामा सक्ने गरी काम भइरहेको छ।’

झन्डै ८ सय ४० बिघा क्षेत्रमा फैलिएको सिमरा सेजको १ सय ६५ बिघामा गार्मेन्ट प्रशोधन क्षेत्र निर्माण भइरहेको छ । उक्त गार्मेन्ट प्रशोधन क्षेत्रमा अहिले प्लटिङ, बाटो, बत्ती, फोहोर पानी प्रशोधन, कम्पाउन्ड, क्याबिन हल, जग्गा विकास लगायत काम भइरहेका छन्।

सरकारले कम्तीमा प्रत्यक प्रदेशमा १–१ सेज निर्माण गर्ने योजना अघि सारेको छ । यस अन्र्तगत प्रदेश नम्बर १ मा विराटनगर, प्रदेश २ मा सिमरा, प्रदेश ३ मा पाँचखाल, प्रदेश ४ मा गोर्खा, प्रदेश ५ मा भैरहवा, प्रदेश ६ मा जुम्ला र प्रदेश ७ मा धनगढीमा सेज निर्माण गर्ने सरकारी योजना छ । यसमध्ये भैरहवाको सेज सञ्चालन तयारीमा छ।

सेज स्थापनाको मुख्य उद्देश्य स्वदेशमा उत्पादित वस्तु निर्यात गर्नु हो । सेजमा स्थापना भएको उद्योगले ७५ प्रतिशत सामान निर्यात गर्नुपर्ने हुन्छ । उत्पादकले २५ प्रतिशतभन्दा धेरै उत्पादन नेपालको आन्तरिक बजारमा बिक्री गरे जरिवानाको लागि सिफारिस गर्ने व्यवस्था छ।

प्रकाशित: १ आश्विन २०७५ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App