coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग

बाह्रविसे–तातोपानी खण्डको डाक्लाङमा गएको पहिरोले अवरुद्ध सडक। तस्बिर : ध्रुव/नागरिक

(तातोपानी) सिन्धुपाल्चोक - चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ । बिनासकारी भूकम्पसँगै नाका बन्द हुँदा मर्मतसम्भार अभावमा राजमार्गको ३६ किलोमिटर खण्ड जीर्ण बन्दै गएको हो।

२०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग व्यापारिक कारोबार हुने यो प्रमुख नाका बन्द छ । त्यसयता नाका जोड्ने राजमार्गको मर्मतसम्भार हुन सकेको छैन । नाकासँगै उपेक्षामा परेको राजमार्ग दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ। निरन्तर हरेक बर्खामा बाढी, पहिरोको चपेटामा पर्ने यो खण्ड मर्मत नहुँदा जर्जर बनेको छ।

बाह्रसविसे–तातोपानी खण्डको दर्जनौं स्थानमा भाटेकोसी नदीको कटान र पहिरोको बिनासलीला मात्र देखिन्छ । बाढी, पहिरोबाट जोगिएको स्थानमा समेत ठुल्ठूला खाल्डाखुल्डी छन् । यो बर्खामा बाह्रविसे–तातोपानी खण्ड बाढी, पहिरोका कारण अधिकांश समय अवरुद्ध हुँदै आएको छ । सडक बन्द भइ आवतजावत गर्न नपाउँदा लगातार तीन वर्षदेखि स्थानीय गाउँमै थुनिन बाध्य भए।

‘हरेक बर्खामा बाढी, पहिरोले नाकाबन्दी लगाउँछ,’ किनमेलका लागि बाह्रविसे झर्दै गर्दा राजमार्गको डाक्लाङ पहिरोमा भेटिएकी फूल्पिङकट्टी, हिन्दीकी ४० वर्षीया साङ्बु शेर्पाले नागरिकसँग भनिन्, ‘गाडी त चढ्न पाउँदैनौं नै पहिरो छलेर हिँड्नै मुश्किल छ ।’ उनका अनुसार नाका सञ्चालनमा हुँदा पहिरो जाँदा तत्काल हटाइन्थ्यो । नाका बन्द भएपछि पहिरो लगायत सडक अवरोध हटाउन कसैको ध्यान जाँदैन।

साढे तीन वर्षदेखि मर्मत नभएको सडक जीर्ण छँदैछ । त्यहीमाथि बर्खामा निम्तिने बाढी, पहिरो र नदी कटानले सडकलाई खण्डहर बनाउँदै लगेको छ । एक सय १४ किमि राजमार्गको बाह्रविसेदेखि नै सुरु हुन्छ सडकको दूरवस्था र बाढी पहिरोको बिनासलीला । २०७३ बर्खाको भाटेकोसी बाढीले यो खण्डमा ठूलो क्षति पु-यायो । बाढीले ठाउँ–ठाउँमा व्यापक सडक कटान ग-यो भने माथिबाट खसेको पहिरोले थप क्षति पु-यायो।
सडक विभागले बाढीले सडक टुटाएको स्थानमा तत्काल नयाँ ट्र्याक खोले पनि नदी

कटान र पहिरो नियन्त्रण प्रयास अझै थालेको छैन । विभागले बर्खाको सामान्य अवरोध हटाउने बाहेक मर्मतसम्भारद्वारा दीर्घकालीन रुपमा सडक सञ्चालनमा ल्याउन ध्यान नदिएको स्थानीयको गुनासो छ।

गत भदौ २ गते साधीखोलामा आएको बाढीले बाह्रविसे–तातोपानी जोड्ने खुर्सानीबारी नजिकको पुल बगायो । त्यहाँ अझै अर्को पुल हाल्ने प्रयास थालिएको छैन । त्यहाँबाट अघि बढ्दा चीन जोड्ने मितेरी पुलसम्मै दर्जनौं स्थानमा गएको पहिरो र नदी कटानले सडक छियाछिया छ । राजमार्गको बसेरी, बोर्डरल्यान्ड, नयाँ पुल, चाकु, हिन्दी, डाकलाङ्, झीर्पु, लार्चा, १० किलो, तातोपानी बजारलगायत स्थानमा साना–ठूला अनगिन्ती पहिरो छन् । तिनै स्थानमा भोटकोसी नदी कटान तीव्र छ । ठाउँ–ठाउँमा सडक ट्र्याक नै टुटुेको छ।

तातोपानी–लिपिङ सडक सम्पर्क टुटेको दुई वर्ष बितिसकेको छ । २०७३ को भोटकोसी बाढीले चार किमि यो खण्डको अधिकांश सडक कटान गरेको थियो । कटानसँगै माथिबाट जमिन बग्दा सडक नै हराएको छ । त्यहाँ सडक ट्र्याक खोल्ने ठाउँसम्म छैन । स्थानीय ठाउँ–ठाउँमा काठ मुढा र फल्याक बिछ्याएर हिँड्न बाध्य छन् । ‘अहिलेलाई हिँड्ने राम्रो बाटो मात्रै भइदिए पनि हुन्थ्यो,’ लिपिङका ५७ वर्षीय पाशाङथिलेन शेर्पा गुनासो गर्छन्, ‘त्यति पनि पाएनौं।’

भूकम्पपछि सडक मर्मत नहुँदा हिउँदसम्म जसोतसो तातोपानीसम्म सवारीसाधन चले पनि हरेक बर्खामा यो सडक खण्ड अधिकांश सयम अवरुद्ध हुँदै आएको छ । उर्लिरहने भोटेकोसी नदीको किनारै किनार अघि बढेको राजमार्गमाथि भीमकाय पहाड छन् । भूकम्पले हल्लाएर जर्जर बनाएको त्यस्ता पहाडबाट बर्खामा मात्र होइन हिउँदमै चट्टाने पहिरो झर्ने स्थानीय बताउँछन् । हिउँदामा नदी कटान र पहिरो नियन्त्रण प्रयास नहुँदा बर्खामा तिनले अझै ठूलो आकार लिएर बिनास ल्याइरहेका छन्।

‘त्यतिबेला त्रासले भगवान पुकार्दै बस्छौं,’ राजमार्ग क्षेत्रमा बस्ने फूल्पिङकट्टीकी बाङ्मु शेर्पाले भनिन् । राजमार्ग मर्मत नहुँदा बाह्रविसे माथिका तत्कालीन गाती, मार्मिङ, घुम्थाङ, लिस्ति, फूल्पिङकट्टी र तातोपानी गाविसका स्थानीय मारमा पर्दै आएका छन् । बर्खामा उनीहरुको नजिकको बजार बाह्रविसेसम्मको सम्पर्क नै टुट्ने गरेको छ।

भाटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल गाउँपालिकाको बजेटबाट यो सडकखण्ड मर्मत सम्भव नरहेको बताउँछन् । ‘सडकमा बाढी पहिरोको यति क्षति छ कि गाउँपालिकाको बजेटबाट यो असम्भव छ,’ उनले भने । सडक विभागलगायत सरोकारवाला निकायमा सडक मर्मतका लागि लगातार अनुरोध गरिरहे पनि बेवास्ता भइरहेको उनको गुनासो छ।

केही दिनअघि चिनियाँ र नेपाली अधिकारीको संयुक्त टोलीले नाका जोड्ने यो सडकको अनुगमन गरेको थियो । उक्त टोलीले नाका सञ्चालन गर्ने हो भने त्यसअघि नेपालतर्फको सडकलगायत पूर्वाधारको काम हुनुपर्ने निष्कर्ष निकालेको थियो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ नेपाल नाका सञ्चालन गर्न तयार छ भन्ने सन्देश दिनका लागि पनि पहिला राजमार्ग मर्मत तथा सुधार हुनु पर्नेमा जोड दिन्छन्।

‘त्यसअघि स्थानीयको आवागमन सहज बनाइनुपर्छ,’ उनले भने । तीन वर्षदेखि सडक विभागले बाह्रविसे–तातोपानी खण्डको सडक सुधारमा बजेट छुट्याउन छाडेको जानकारी दिँदै उनले नाकासँगै राजमार्ग पनि सरकारको प्राथमिकतामा पर्न छोडेको गुनासो गरे।

प्रकाशित: १ आश्विन २०७५ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App