coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पुल निर्माण सुस्त

तीनकुने–माइतीघर सडकखण्डको बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज। तस्बिर : श्याम राई

तीनकुने – माइतीघर सडकखण्डको बिजुलीबजारस्थित धोबीखोलामा बन्न लागेको नेपालको पहिलो नेटवर्क आर्क ब्रिज (पुल) निर्माण सुस्त देखिएको छ। सम्झौता सकिन लाग्दा पनि पुल निर्माण आधा सकिएको छैन । अहिलेसम्म पुल निर्माण ४५ प्रतिशत मात्रै सकिएको छ।

नेटवर्क पुल निर्माणको लागि जेई कन्ट्रक्सन निर्माण कम्पनीले १३ करोड १४ लाख रूपैयाँमा ठेक्का लिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले बताए । ‘अहिलेसम्म ४५ प्रतिशत काम भएको छ,’ श्रेष्ठले भने।

बंगलादेशको डिपिएम कन्सल्टेन्टबाट डिजाइन चेक गरेर त्यहाँकै इन्जिनियरहरू ल्याउनुपर्ने भएकाले समय खर्च हुँदा निर्माणमा ढिलाई भएको उनले बताए । उनका अनुसार बबरमहलबाट तीनकुने जाने दायाँतर्फको पुल निर्माण सकिन लागेको छ भने बायाँतर्फको पुल निर्माण हुन बाँकी छ । दायाँतर्फको ‘गाडी वारपारको लागि एप्रोज रोड र नेटवर्क वयार हाल्न बाँकी छ,’ श्रेष्ठले भने।

दसैंअगाडी नै दायाँ पुलमा गाडी गुडाउने लक्ष्य राखिए पनि तारहरू भारतबाट ल्याउनुपर्ने भएकाले केही ढिलाई हुने उनले बताए।

२०७१ पुस १३ गते पुल निर्माणको सम्झौता भएको थियो । तर, टेन्डर डिजाइनमै साढे एक वर्ष लागेकाले २०७३ जेठबाट मात्रै पुल निर्माण सुरु भएको श्रेष्ठले बताए । सम्झौता अनुसार पुल निर्माण आउँदो पुस मसान्तसम्म सक्नुपर्नेछ । पुलको डिजाइन बनेपछि पनि खानेपानीका पाइप, ढल तथा टेलिफोन लगायका तारहरू हटाउनु परेकाले पनि निर्माणमा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । नेपालमै पहिलो पटक पुल बनेकाले धमाधम निर्माण हुन नसकेको उनको भनाइ छ । उनले अबको एक वर्षमा पुल बनिसक्ने बताए । उनका अनुसार पुल निर्माणमा करिब ५ करोड रूपैयाँ खर्च भइसकेको छ।

पुल निर्माणपछि सय वर्षसम्म टिकाउ हुने श्रेष्ठको दाबी छ । पुलको लम्बाई ५० मिटर र चौडाई १२ मिटर रहने छ।

प्रकाशित: १ आश्विन २०७५ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App