coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘फेसनमा परिवर्तनसँगै चुनौती थपिएको छ’

निशा श्रेष्ठ नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्यापन गर्छिन् । उनी चार वर्षदेखि नमुना कलेज अफ फेसन टेक्नोलोजीमा पढाउँदै आएकी छन् । उनी स्टाइलिङ र टेक्सट टाइल डिजाइन पढाउँछिन् । शिक्षणमा लाग्नुअघि निशाले विभिन्न प्रोजेक्टमा काम गरिसकेकी थिइन्।

उनले १५ वर्षअघि आफ्नै नेपाली लुगाको ब्रान्ड सञ्चालन गरिन् । त्यतिबेला उनले म्यानेजमेन्टमा स्नातकोत्तर सकेकी थिइन् । व्यवसायसँग उनले फेसन डिजाइनमा स्नातक पढ्न सुरु गरिन् । त्यतिबेला उनको उमेर ३७ वर्ष थियो । ‘नेपालमा केही नयाँ सामग्री उत्पादन गर्ने सोचले नै व्यवसाय सुरु गरेँ,’ उनले व्यवसाय सुरु गर्नुको कारण खोलिन्।

उनी भन्छिन्, ‘मलाई सुरुदेखि नै स्वदेशी उत्पादनलाई परिचालन गर्ने मन थियो, नेपालमै उत्पादन भएका कच्चा पदार्थलाई सदुपयोग गर्न चाहान्थे, त्यसको लागि मलाई फेसन डिजाइनको एकेडमिक नलेजको खाँचो थियो, जसको लागि फेसन डिजाइन पढ्न सुरु गरे।’

फेसन डिजाइनलाई आर्ट बताउने उनी फेसनको नाममा ग्लामर बेच्नेको जमात बिस्तारै कम भएको बताउँछिन् । फेसनलाई गलत अर्थले बुझ्ने घटेको उनको अनुभव छ । ‘एउटा चित्रकारले पेन्टिङमार्फत् आफ्नो कला प्रदर्शन गरेजस्तै हामी डिजाइनरले पनि सृजनात्मकरूपमा नयाँ डिजाइनको सृजना गर्छौ,’ उनले भनिन्।

फेसनमा मोह भएकाले आफूभन्दा आधा कम उमेरका विद्यार्थीसँग पढेको उनले बताइन् । ‘त्यतिबेला रमाइलोसँगै च्यालेन्ज पनि थियो,’ उनले अनुभव सुनाइन्, ‘सुरुमा कलेजमा जाँदा क्लासमेटहरू र टिचरहरूसँग एडजस्ट हुन समय लाग्यो,’ उनले भनिन्।

आफूभन्दा धेरै सानो उमेरका साथी र शिक्षकबाट पढ्नु पर्दा धेरै कुरामा कम्परमाइज गर्नु परे पनि आफुमा भएको फेसनप्रतिको प्यासनलाई भने मर्न न दिएको उनी बताउँछिन् । एक किसिमको करिअर भइसकेपछि पनि फेसन डिजाइनर पढ्न घरपरिवार तथा श्रीमानबाट प्रोत्साहन पाएको उनी बताउँछिन् । त्यही भएर नै कामसँगै पढाइलाई अघि बढाउन सकेको उनको भनाइ छ । उनले सुरुवाती चरणमा लेदरको सामाग्री उत्पादन गरिन् । तर, व्यापार राम्रो नभएपछि लेदरको सामग्री बनाउन छाडेको उनले बताइन्।

‘लेदरको सामाग्री बनाउन पाकिस्तानबाट लेदर ल्याउनुपथ्र्याे, जुन निकै महँगो थियो, त्यो समयमा लेदरबाट बनेका सामाग्री नेपालीले प्रयोग निकै कम गरेको पाइन्थ्यो,’ उनले भनिन्।

फेसन डिजाइनरको पढाइ सकेपछि डिजाइनको काममा निकै राम्रो भएको उनी बताउँछिन् । अहिले भने उनले व्यवसायसँगै शिक्षणलाई अघि बढाएकी छिन् । फेसन डिजाइनलाई आर्ट बताउने उनी फेसनको नाममा ग्लामर बेच्नेको जमात बिस्तारै कम भएको बताउँछिन् । फेसनलाई गलत अर्थले बुझ्ने घटेको उनको अनुभव छ । ‘एउटा चित्रकारले पेन्टिङमार्फत् आफ्नो कला प्रदर्शन गरेजस्तै हामी डिजाइनरले पनि सृजनात्मकरूपमा नयाँ डिजाइनको सृजना गर्छौ,’ उनले भनिन्।

नेपालमा फेसनप्रतिको सोच बिस्तारै प्ररिवर्तन भएको र जीवनशैलीमा परिवर्तन आएको उनी बताउँछिन् । फेसनप्रतिको सोचमा फरकपन आएको भएर नै फेसन डिजाइनर पढ्नेको संख्या बढेको उनी बताउँछिन्।

‘हामी पढ्ने समयमा एउटा कक्षामा २८ जनाको संख्यामा पढ्ने प्रविधि थियो,’ उनले विगत सम्झिइन् । फेसन डिजाइन पढ्नका लागि घरपरिवारसँग विद्रोह गरेर, झगडा गरेर भए पनि आउनेहरू धेरै रहेको उनी बताउँछिन् । नयाँ पुस्ताहरू फेसनप्रति निकै उदार र सकारात्मक रहेको उनी बताउँछिन्।

‘विद्यार्थीहरुमा सिक्ने चाहना र नयाँ डिजाइन सृजना गर्न सक्ने क्षमता भरपूर रहेको छ,’ उनले भनिन्।

फेसन डिजाइनर पढ्न घर परिवारलाई मनाएर मात्र नहुने महँगो खर्च उठाउन सक्ने हुनुपर्ने उनी बताउँछिन्। अन्यभन्दा फेसन डिजाइन पढ्न धेरै महँगो रहेको उनी बताउँछिन् । विदेश होस् या नेपालमा फेसन डिजाइनर पढ्न कुनै किसिमको छात्रवृत्ति उपलब्ध नरहेको उनले बताइन् । ‘एउटा विद्यार्थी फेसन डिजाइन पढ्न चार वर्षको समयसँगै लाखौ खर्च गर्छ । तर, खर्च गरे अनुसार अवसर नहुँदा भविष्य सुनिश्चित नहुने पो हो कि ?’ उनले दुखेसो पोखिन्।

फेसन डिजाइन पढ्ने विद्यार्थीहरूको फेसनप्रतिको सम्मान, पढाइप्रतिको मोह हेर्दा फेसनमा जति अवसर हुनुपर्ने हो त्यति भइनसकेको उनी बताउँछिन् । कानुनको व्यवस्था नहुँदा पनि फेसन डिजाइनको लागि अवसर कम भएको उनको भनाइ छ । उनी भन्छिन्, ‘च्याउजस्तै उम्रिएका बुटिकले गर्दा फेसन डिजाइनिङ धरापमा पर्न गएको छ, बुटिकको सञ्चालक नै डिजाइनर भएर बसेका छन्, जुन गलत हो ।’ मानिसमा फेसनप्रतिको सोच परिवर्तनसँगै चुनौती पनि थपिएको उनको भनाइ छ । भारतबाट ल्याइएका सामाग्री र मास्टरको प्रयोग गरेर ड्रेस डिजाइनर बन्नेको संख्या निकै बढेको उनले बताइन्।

फेसनलाई ग्लामरसँग लगेर जोड्ने प्रविधि निकै बढेको उनी बताउँछिन् । ‘फेसन डिजाइनर पढ्नुलाई निकै मेहेनत गर्नुपर्छ, मेहेनत अनुसारको काम गर्ने ठाउँ भएन भने निरासापन आउँछ ।’ पछि जबरजस्ती बनेका डिजाइनरले गर्दा धेरै मेहेनत गरेर फेसन डिजाइनर पढ्नेको भविष्य अन्योलमा पर्ने उनी बताउँछिन्।

नेपाली डिजाइनरले नेपालकै स्वदेशी उत्पादनबाट तयार पारेको सामाग्रीको बजार निकै कम रहेको उनी बताउँछिन् । नेपाली बजारमा भारतीय र चिनियाँ उत्पादनहरूले राज गरेको उनी बताउँछिन् । बजारमा जे चल्छ, उपभोक्ताले जे माग गर्छन्, त्यहि उत्पादन गर्नुपर्ने उनी बताउँछिन् । उनले पहिला नेपाली फेब्रिकका सामाग्री मात्र बनाउने गर्थिन्। अचेल भने फेब्रिकबाहेक अन्य सामग्रीका लुगाहरू उत्पादन गर्छिन् । नेपाली बजारमा भारतबाट ल्याइएका लेहेंगा, सारीले ढाकेको उनी बताउँछिन् । मानिसमा स्वदेशी उत्पादनमा खर्च गर्नुभन्दा भारत, चीनबाट ल्याइएको सामानमा लगानी गर्न नहिच्किच्याउने उनी बताउँछिन् । उनी पुरुषको लागि पनि लुगा डिजाइन गर्छिन् । आफूले डिजाइन गरेको लुगाको माग विदेशमा बढी रहेको उनले बताइन्।

प्रकाशित: १ आश्विन २०७५ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App