६ वैशाख २०८१ बिहीबार
अन्य

गल्लीभित्रका सन्देशमूलक नाचहरू

टोल–टोलका खाँबामा बाँधिएका इन्द्र । उनको सम्मानमा चारैतिर बालिएका दियो । ठाउँमा–ठाउँमा बज्नेछन् धिमे (ढोलक), भुस्याः (झ्याली) र मायली (बाँसुरी) । सँगसँगै देखाइने छ, लाखे र झ्यालिँचाका नाच । तीनै बाजाको तालमा साँघुरा गल्लीहरूमा विस्तारै गुड्नेछन् रथ । अनि तीनलाई हेर्दै ताली पिट्दै रमाउनेहरूको जमात पनि कम हुने छैन ।
काठमाडौंको मुख्य जात्रा इन्द्रजात्रा सुरु हुन केही दिनमात्रै बाँकी छ । इन्द्रजात्रा सुरु भएपछि वसन्तपुर दरबार क्षेत्रको रौनक यस्तै हुनेछ । असोज ५ गतेबाट काठमाडौंको प्रमुख जात्रामध्येको इन्द्रजात्रा सुरू हुँदैछ । जात्रा नजिकिएसँगै स्थानीय जात्राको बेला देखाइने मौलिक नाचको तयारीमा जुटेका छन् । यो जात्राले यहाँका कलाकौशल मात्र पस्कँदैन, त्यसभित्रका जीवन दर्शनलाई पनि प्रतिविम्बित गर्नेछ । आठ दिनसम्म चल्ने जात्रा अवधिभर विभिन्न नौ थरिका नाच देखाइनेछ । व्यवस्थापन समितिका अनुसार कुमारी, गणेश, भैरव, देवी, लाखे, पुलकिसी, हलचोक, आकाश भैरवलगायत नाच देखाइनेछ । यसबाहेक आकाश भैरवको मुकुन्डो, नेवारी परिकारले सजिएका समयःबजीको थुप्रो, लाखे र पुलुकिसीका चर्तिकला, सोभा भकु र महाकाली देवीगणका नाच चित्रित हुनेछन् । जात्राकै बेला भक्तपुरको महाकाली नाच देखाइने छ । वसन्तपुर कुमारी घरको आँगनमा देखाइने दश अवतार नाच भने यसपालि नदेखाइने भएको छ।

इन्द्रजात्रा अवधिभर देखाइने सबै नाचका आफ्नै विशेषता र फरक–फरक किंवदन्ती छन् । संस्कृतिविद् डा. चुण्डा बज्राचार्यका अनुसार वसन्तपुर दरबार क्षेत्रका साँघुरा गल्ली–गल्लीमा इन्द्र जात्राभित्रका नाच देखाइने छ । उनका अनुसार कुमारीको नाच देखाउँदा टोलमा शान्ति हुने र रोग नलाग्ने, लाखे नाच देखाउँदा घरभित्र शान्ति हुने, भैरवनाच देखाउँदा आर्थिक संकट नपर्ने किंवदन्ती छ । यसैगरी पुलकिसी, हलचोक, आकाश भैरव नाच देखाउँदा मृत आत्माले शान्ति पाउने र देशमा प्राकृतिक प्रकोप नपर्ने उनले बताइन् । ‘इन्द्रजात्रामा देखाइने हरेक नाचको अर्थ बेग्लाबेग्लै छ,’ बज्राचार्यले भनिन्, ‘यसले मनोरञ्जन दिनुका साथै समाजका नकारात्मक पक्षलाई हटाउने विश्वास गरिन्छ ।’ यी नाचले इन्द्रजात्राको पहिचान पनि बोकेका छन् । जात्रा सुरु हुँदाताकाको यर्थाथतालाई नाचले समेटेको देखिन्छ । टोल–टोलका खाँबामा बाँधिएका इन्द्र, उनको सम्मानमा बालिएका दियो र बीचबाटोमा हाथाद्योको घ्याम्पोबाट निस्कने जाँडको मजा पनि इन्द्रजात्राको अर्को विशेषता हो । ती नाचहरू कहिले साँघुरिने र कहिले फुक्ने गल्लीहरूबाट हिँडाइने छ । गुड्ने रथ, लाखे र झ्यालिँचाका जोसिला हर्कतले यो पर्वलाई महोत्सवको रूप दिँदै आएको मजिपाट लाखे नाच मूल समितिका नाइके राजिव रञ्जितकारले बताए । उनका अनुसार जात्राका क्रममा लाखे र झ्यालिन्चाको मास्क निकालेर पुजा गर्ने प्रचलन पनि छ  । नाचका लागि आवश्यक पर्ने सामग्री ‘पेन्ट’ गर्न चित्रकारकोमा पठाइएको छ । किंवदन्ती अनुसार लाखेलाई शान्त भैरवका रूपमा लिइन्छ । लाखेको पूजा गर्दा आपद्विपद् नपर्ने र समस्याबाट मुक्त भइने मान्यता पनि छ । जात्राको क्रममा देखाइने जिवित कुमारीको रथयात्राका क्रममा लाखे नाचले मार्ग दर्शकका रुपमा बाटो देखाउने काम गरेका हुन्छ।

सम्पदाविद् पद्यमसुन्दर जोशीका अनुसार जात्राका क्रममा असीमित नाचहरू प्रस्तुत हुनेछन् । ती नाचले समाज र संस्कृतिलाई नै झल्काउने छ । युवा पुस्तामा रौकनतासँगै संस्कृतिप्रतिको माया बढाउने छ । ‘जात्राको बेला प्रत्येक चोक र गल्लीका डबली र वर्षभरि ‘वास्ता नगरेर फालिएका’ देवताहरू ब्युँझेका हुन्छन्,’ उनले भने, ‘यो पर्व एक हिसाबले पर्व जस्तै हुन्छ, महिला र पुरुष दुवै नाचहरूमा सहभागी भएर नाच देखाउने र सद्भाव कायम राख्ने परम्पराको विकास भइसकेको छ।’

सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठका अनुसार पनि इन्द्रजात्राको बेला अनेकन नाचहरू देखाइन्छ । ती नाचहरू देवी देवता र हिजोको समाजको यर्थाथतालाई बोलेका हुन्छन् । काठमाडौं गुठी संस्थानका अनुसार इन्द्रजात्राको साइत हेर्न १ रूपैयाँ २४ पैसा, लिंगो काट्न ४ रुपैयाँ १० पैसा दिने गरिन्छ । विधिपूर्वक पूजा गरेर इन्द्रध्वजा राख्न चाहिने लिंगो काट्ने काम सकिएको छ।

प्रकाशित: १ आश्विन २०७५ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App