७ वैशाख २०८१ शुक्रबार
कला

प्रमिला हेर्न चितवनबाट काठमाडौं

काठमाडौं – भदौको पहिलो दोस्रो सातासम्म राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘सकेको तिरौला, नत्र फिरिमा’ हेर्न चितवनको नारायणी कला मन्दिरबाट १३ जनाको टोली माइक्रो रिजर्भ गरेर काठमाडौं आयो । मन्दिरका अध्यक्ष अमर प्रधान, रविन्द्र रेग्मीसहितको टोली बिहान आइपुगेका उनीहरुले दिउँसो नाटक हेरे र बेलुका नै चितवन नै फर्किए। हतारमा काठमाडौं आएर नाटक हेर्नुपर्ने कारण उनीहरुका लागि कलाकार प्रमिला खनाल नै थिइन् । चितवन कला मन्दिरकै उत्पादन प्रमिलाको नाटक हेर्नैका लागि एक दिनको समय खर्चिएर चितवनको टोली काठमाडौं आएर फर्किएको थियो।

नाटक सकिएको झन्डै दुई सातापछि नागरिकसँगको भेटमा प्रमिला प्रफुल्लित थिइन् । ‘म अभिनित नाटक हेर्नैका लागि त्यति ठूलो समूह आउँदा म धेरै खुशी भएँ । ममा खुशीसँगै डर पनि थियो । पहिलोपटक नाटकमा अभिनय गरेको कारणले पनि कतै उहाँहरुलाई सन्तुष्टि दिन नसक्ने हो कि भन्ने डर थियो,’ प्रमिलाले भनिन्, ‘तर नाटक हेरेपछि उहाँहरूले मेरो अभिनयको प्रशंसा गर्नुभयो । त्यो क्षण मेरा लागि एउटा सफलता नै थियो।’

दसैंमा हुने सांस्कृतिक कार्यक्रमको तीनवटै संस्करणमा प्रथम भएपछि नयाँ संस्करणमा आयोजकले मलाई नाच्नै दिएनन् । म आएको देखेपछि कार्यक्रममा सहभागी हुन आउनेहरू फर्कन थालेपछि आयोजकले फाराम भर्नै  दिएनन्।

प्रमिलाको पृष्ठभूमि अभिनय होइन् । चितवनको नारायणघाट घर भएकी प्रमिला सानैदेखि नृत्यकी सौखिन थिइन् । आफ्नो ठाउँमा हुने हरेक नृत्य प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहने उनी नृत्य करियरमा कहिल्यै दोस्रो भइनन्। नृत्यमा उनी यति बेजोड थिइन् कि केही समय पछि देखि त आयोजकले प्रमिलालाई नाच्नै प्रतिबन्ध लगाए । ‘दसैंमा हुने सांस्कृतिक कार्यक्रमको तीनवटै संस्करणमा प्रथम भएपछि नयाँ संस्करणमा आयोजकले मलाई नाच्नै दिएनन्,’ प्रमिलाले सम्झिइन, ‘म आएको देखेपछि कार्यक्रममा सहभागी हुन आउनेहरू फर्कन थालेपछि आयोजकले फाराम भर्नै  दिएनन्।’

टेलिभिजन रियालिटी सो ‘छमछमी २’को उत्कृष्ट १६ सम्म पुगेकी प्रमिला सन् २०१४ को सर्टिफाइट जुम्बा इन्स्ट्रक्चर हुन्। नृत्यमा पोख्त प्रमिलाले फिल्म ‘अझै पनि’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । ‘फिल्ममा काम गर्छु भन्ने मनसाय थिएन । निर्देशक आलोक नेम्बाङ र सुदर्शन थापा बारे सुनेको थिएँ । उहाँहरूले मलाई फेसबुकमा फलो गर्नुभएछ । आलोक सर निर्देशक हो भन्ने थाहा पाएपछि अभिनय गर्न राजी भएँ,’ उनले भनिन्, ‘मैले अभिनयको सबै ज्ञान फिल्मको वर्कसपमा नै सिकेको हुँ । मण्डला थिएटरमा अभिनयको प्रशिक्षण लिएपछि मलाई झन सजिलो भयो ।’ उनले गायिका आस्था बीको ‘मलाई पुगेन पुगेन’ र फिल्म ‘वडा नम्बर ६’मा पनि अभिनय गरेकी छन्।

प्रमिलाले नाट्य यात्रा ‘क्लब ७’बाट सुरु गरिन् । यो नाटकपछि उनी ‘सकेको तिरौला, नत्र फिरिमा’मा देखिइन् । ‘क्लब ७ मा काम गरेपछि अर्को नाटकमा पनि काम गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । त्यही बेला विकास जोशीमार्फत यो नाटकमा अभिनयको अवसर पाएँ,’ प्रमिलाले भनिन्, ‘एक महिना रिहर्सल गरे पनि मञ्चनको दिन निकै डर थियो । एक दुई दिन डर भए पनि बाँकी दिनमा आत्मविश्वास बढ्यो।’

नाटक ‘सकेको तिरौला, नत्र फिरिमा’मा काम गरेपछि आफ्नो भूमिकाबाट उनी सन्तुष्ट छिन् । नाटकका दर्शकले अभिनयको तारिफ गरेपछि उनमा झन् आत्मविश्वास पलाएको छ । प्रमिलाको परिचयमा अब नृत्यसँगै कलाकारिता पनि थपिएको छ । प्रमिला नृत्य र अभिनय दुवै विधालाई सँगै लैजाने योजनामा छिन् । ‘एउटा रोज्न प¥यो भने चाहिँ नृत्य नै प्राथमिकतामा पर्छ । किनकि मेरो जरा नृत्यमै गाढिएको छ,’ प्रमिलाको अठोट छ।
...........
 

 

प्रकाशित: १ आश्विन २०७५ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App