५ वैशाख २०८१ बुधबार
अर्थ

अण्डाको मूल्य बढ्यो

चितवन – अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ। एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन।

नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट २४० मा बिक्री हुन थालेको छ। यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २६० र मध्यमको १८० रहेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। “उत्पादन लागत नोक्सानीमा थियो,” उनले भने। 

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा ९ पर्छ। हालको मूल्यमा ठूलो अण्डाले लागत मूल्य धानेको छ भने मध्यम अण्डाले मूल्य धान्न नसकेको कँडेलले बताए। डेढ वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट ३६० सम्म पुगेको थियो। क्रमशः घट्दै आएर लागत मूल्य नधान्ने अवस्थामा पुगेको हो।

सङ्घका सचिव मदन पोखरेल बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताउछन्। चाडपर्व शुरु हुनु, पर्यटकको आगमन बिस्तारै बढ्दै जानु, स्कूल र कलेज सञ्चालनमा आउनु, पहाडी भेगका सडकमा गाडी चल्न थाल्नु लगायतका कारण बजारमा अण्डाको माग बढेको उनको भनाइ छ। 

किसानले कम मूल्य पाएपनि बजारमूल्य भने अण्डाको प्रतिगोटा १४ छ। कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन्। नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ। यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन्। दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन्।

देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउछन्। पोल्ट्री क्षेत्रमा ७० अर्बभन्दा बढी लगानी रहेको छ। आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी छ। बिचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ।   (रासस)

प्रकाशित: ३१ भाद्र २०७५ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App