८ वैशाख २०८१ शनिबार
खेल

ला लिगाः बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अपराजित यात्रा कायमै राख्ने क्रममा शनिबार राति रियल सोसिडाडलाई २–१ ले पराजित गर्यो। एक गोलले पछि परेको स्थिति उल्ट्याउदै बार्साले दोस्रो हाफमा २ गोल गर्दै जित निकालेको हो। 

रियल सोसिडाडका लागि खेलको १२ औं मिनेटमा अट्रिज इलुस्टोन्डोले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलको अग्रता बनाएपनि दोस्रो हाफमा भने सोसिडाडले २ गोल खाएको थियो। बार्सिलोनाको जितमा ६३ औं मिनेटमा लुईस स्वारेज र ६६ औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गरे। त्यसपछि थप गोल नभएपछि बार्सा विजयी भयो। जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंक बनाउदै तालिकाको शीर्ष स्थानमा छ। 

यता राति नै भएको अर्को खेलमा रियल मड्रिड भने एथ्लेटिको बिल्वाओसँग एक–एक गोलको बराबरीमा रोकिएको छ। एथ्लेटिको बिल्वाओका एकेर मुनियनले खेलको ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको रियलका लागि ६३औं मिनेटमा इस्कोले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन र खेल बरारीमा सकियो। लिगमा चार खेल सकिँदा रियलको १० अंकका साथ दोस्रो स्थानमा छ।  

त्यस्तै अर्को खेलमा लिगाको चौथो स्थानमा रहेको एट्लेटिको मड्रिड शनिबार ११औं स्थानमा रहेको इबरसँग १–१ गोलको बराबरीमा रोकिएको छ। यसअघिको खेलमा सेल्टा भिगोसँग २–० ले पराजित भएको एट्लेटिकोले घरेलु मैदानमा जितको लक्ष्यका साथ मैदान उत्रिए पनि बराबरीको नतिजामा चित्त बुझाउनुपर्योे।  मड्रिडले १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै खेल बराबरीमा ल्याएको थियो। 

पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा स्पस्ट जितका लागि खेलेका थिए। खेल सकिन ३ मिनेट बाँकी छँदा इबरका सेर्गी इनरिचले टोलीलाई अग्रता दिलाएका थिए। घरेलु मैदानमा निकै दबाबमा रहेको मड्रिडले अतिरिक्त समयको चौथो मिनेटमा बराबरी गोल गरेको थियो। मड्रिडका लागि इब्राहिम माहुदीले गोल गर्दै हार जोगाएका थिए। बराबरीसँगै एट्लेटिककोको अंकतालिकामा दुई खेलबाट ४ अंक भएको छ भने चार खेल खेलेको इबरको ४ अंक नै रहेको छ।

शनिबारै सम्पन्न अर्को खेलमा रायो भालेकानोले होयस्कालाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। जितपछि भालेकानोको ३ खेलबाट ३ अंक भएको छ भने होयस्काले चार खेलबाट ४ अंक प्राप्त गरेको छ। भालेकानो तालिकाको १६औं स्थानमा रहँदा होयस्का एक स्थानमाथि १५औं स्थानमा छ। 

भ्यालेन्सीया र रियल बेटिसले भने गाेलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: ३१ भाद्र २०७५ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App