coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अख्तियारले प्रहरी पक्राउ गरेपछि महानिरीक्षक रुष्ट

काठमाडौं – बालुवा तस्करीसँग मिलेमतो गरेको आरोपमा शनिबार दिउँसो कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जुनियरहरुलाई झपारेका छन्। अख्तियारले प्रहरीलाई बालुवा तस्करीको आरोपमा रंगेहात पक्राउ गरेको खबर पाउनासाथ आइजिपी खनालले काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामालगायतका प्रहरीलाई वाकिटकी सेटमै तुरुन्त तस्करी रोक्न झपारेका हुन्।

उपत्याकाका बागमती, विष्णुमती, धोवीखोला, मनोहरा खोलाबाट प्रहरीकै मिलेमतोमा वालुवा तस्करी बढेको उजुरीका आधारमा अख्तियारले जुनियर अधिकृतसहित ९ जना प्रहरीलाई नियन्त्रणमा लिएपछि आइजिपी खनालले वालुवा तस्करी तत्काल रोक्न उपरीक्षक लामालाई निर्देशन दिएका हुन्। आइजिपी खनालले काँडाघारी, सुन्दरीजलमा सबैभन्दा बढी बालुवा तस्करी हुने खबर आइरहेको र काठमाडौंमै यस्तो अवस्था छ भने अन्य ठाउँमा के होला भन्ने प्रश्न गर्दै जुनियरहरुलाई पूरै निदाएर बसेका छौ कि के हो भन्दै वाकिटकी सेटमै हपारेका थिए । खनालको सो निर्देशनपछि काठमाडौं प्रहरी प्रमुख लामाले तत्काल टोली पठाउने र गलत कार्य गर्नेलाई कारबाही गर्ने जवाफ दिएका थिए।

वालुवा तस्करसँग मिलेमलो गरेको आरोपमा अख्तियारले २ असइ, ३ हवल्दार र ४ सिपाहीलाई नियन्त्रण लिएको छ। अख्तियारले उनीहरुलाई वालुवा तस्करसँग घुस लिदाँलिदै नियन्त्रणमा लिएको जनाए पनि तस्करलाई भने पक्राउ गरेको छैन। सिन्धुपाल्चोकबाट काठमाडौं उपत्यका भित्रिने वालुवाका गाडीसँग प्रहरीले घुस लिने गरेको व्यापक जनगुनासो छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App